• २३ असार २०८१, आइतबार

मनसुन भित्रिएको २५ दिनमा ४५ जनाको मृत्यु, आठ करोड क्षति

blog

काठमाडौँ, असार २० गते । नेपालमा गत जेठ २८ गतेदेखि यो वर्षको मनसुन भित्रिएको थियो । नेपालको पूर्वी क्षेत्र हुँदै अहिले मनसुन देशभर सक्रिय छ । साथै आगामी आइतबारसम्म अत्यधिक वर्षा हुने भएकाले सावधानी अपनाउन विज्ञहरुले आग्रह गरेका छन् । आगामी दिनमा सीमित क्षेत्रमा मात्रै वर्षा हुने भएकाले जलवायु तथा मौसमविज्ञान विभागले बढी वर्षा हुने भनेर जोखिम किटान गरेका ठाउँमा विशेष शतर्कता अपनाउनुपर्ने जलवायु विज्ञ डा. धर्म उप्रेतीले बताउनुभयो ।

उहाँले साउन, भदौ र असोजमा भारी वर्षा हुने हुँदा त्यसले निम्त्याउनसक्ने जोखिम न्यूनीकरणका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले समयमा नै ध्यान दिनुपर्ने बताउनुभयो ।

विज्ञ उप्रेतीका अनुसार नेपालमा मनसुन भित्रिएको २५ दिनमा ४५ जनाले ज्यान गुमाएका छन् भने आठ करोड २० लाखभन्दा बढीको हानी नोक्सानी भएको छ । त्यस्तै भरी वर्षा सुरु हुनुभन्दा अगावै भएको यो क्षतिलाई हेर्दा पनि आागमी तीन महिनाभित्र नेपालमा विपदबाट ठुलो नोक्सानी हुने देखिएको बताउनुभयो ।

उहाँले मनसुन भित्रिएको २५ दिनमा ४६ वटा भौतिक संरचना बाढी र पहिरोका कारण ध्वस्त भएको बताउनुभयो । यस समयमा २५९ पशुचौपाया मरेका छन् भने चार सय वटा जलवायुजन्य घटना (बाढी, पहिरो, डुबान, चट्याङ) भएका छन् ।

‘‘नेपालमा मनसुन सुरु भएको लगभग २५ दिन भयो । जेठको २८ गतेदेखि नेपालमा मनसुन सुरु भएको थियो । मनसुनले सुरुवाती अवस्थामा नै धेरै ठुलो हानी नोक्सानी गरेको छ । हिजोसम्मको क्षतिलाई विश्लेषण गर्दा लगभग ४७ जनाले ज्यान गुमाएको देखिन्छ । आठ करोड २० लाख बराबरको आर्थिक क्षति पनि यो २५ दिनमा भएको छ ।,’’ विज्ञ उप्रेतीले भन्नुभयो, ‘‘४६ वटा भौतिक संरचना पनि यही बिचमा बाढी पहिरोका कारणले ध्वस्त भएका छन् । मान्छेको जीविकोपार्जनसँग जोडिएको पशुचौपाया लगभग २५९ वटा मरेका छन् । २५ दिनमा चार सय वटा जलवायुजन्य घटनाहरु (बाढी, पहिरो, डुबान, चट्याङ) का घटना भए । त्यसमा भएको क्षति हो भयो ।’’

विज्ञ उप्रेतीले असारमा औसतभन्दा कम पानी पर्दाको क्षति ठुलो भइसकेको भन्दै आगामी तीन महिनामा नेपालले व्यहोर्नुपर्ने क्षतिको भार नेपालले व्यहोर्न नसक्ने बताउनुभयो । उहाँले समयमा नै सरकारले विशेष ध्यान दिन र सतर्कता अपनाउन नसके विपदबाट ठुलो क्षति हुने निश्चित रहेको जानकारी दिनुभयो ।

नदी किनारमा भएका बस्तीहरु, भौतिक संरचना, विद्युतीय संरचना, विद्यालय, लिएर खानेपानी, कृषि सबैमा विपद्को प्रभाव बढेको बताउनुभयो । उहाँले मनसुनको न्यूनचापीय रेखा नेपालमा रहेकाले यस समय भारी वर्षा हुने जानकारी दिनुभयो । उहाँले विपद्पूर्व नै विपद् हुनसक्ने सम्भावित क्षेत्रको पहिचान गरी त्यहाँका स्थानीयहरुलाई सचेत गराउन आवश्यक रहेको बताउनुभयो ।

विज्ञ उप्रेतीले मनसुनको न्यूनचापीय रेखा नेपालको नजिक रहेको र यस समय बढी वर्षा हुने भन्दै आइतबारसम्म सावधानी अपाउन आग्रह गर्नुभयो । उहाँले पोखरा, काठमाडौँ, सुदूरपश्चिममा दिपायल, कोशी प्रदेशका केही भूभागमा अत्याधिक वर्षा हुने बताउनुभयो । उहाँले भूबनावटले थेग्ने भन्दा वर्षा भएको खण्डमा पहिरो जाने उच्च सम्भावना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘मनसुनको न्यूनचापीय रेखा उत्तरतिर छ, नेपालको नजिक छ । नेपालको नजिक मनसुनको न्यूनचापीय रेखा जब आउँछ, त्यतिबेला नेपालमा बढी पानी पर्छ । यो स्वभाविक हो । आजदेखि आइतबारसम्म नेपालमा औसतभन्दा बढी पानी पर्छ । पोखराको वरपर, सुदूरपश्चिममा दिपायलदेखि त्यो स्थानमा, काठमाडौँ वरपर, कोशी प्रदेशका केही भूभागमा आइसोलेटेड हेभी रेनफल हुने धेरै भारी वर्षा हुने सम्भावना पनि छ भने केही ठाउँमा मध्यम वर्षा र केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । जुन ठाउँमा भारी वर्षा हुन्छ, त्यो ठाउँको थ्रेसहोल्ड त्यहाँको भूबनावटले थेग्नेभन्दा बढी भयो भने त्यहाँ पहिरो जाने हुन्छ ।’’

विज्ञ उप्रेतीले पछिल्ला केही दिन यता पानी पर्ने तरिकामा पनि परिवर्तन भइरहेको बताउनुभयो । उहाँले एकै ठाउँमा मुसलधारे पानी पर्ने र त्यसको असर समुदायमा पर्ने गरेको जानकारी दिनुभयो । उहाँले एकै ठाउँमा धेरै वर्षा हुँदा मानिसहरु डराउने गरेको उल्लेख गर्नुभयो । आगामी दिनमा पनि सिमित क्षेत्रमा ठूलो र लामो समय पानी पर्ने भएकाले सतर्क रहन आग्रह गर्नुभयो ।

तराई र शहरी क्षेत्रमा बाढी आउने मात्र नभ डुबान पर्ने सम्भावना रहेको बताउनुभयो । क्षेत्रलाई निर्धारण गरी सोहीअनुसारको पूर्वसूचना प्रणाली बनाउनसके मानिसहरु सचेत हुने र विपदबाट हुने क्षति न्यूनीकरण गर्न सकिने बतउनुभयो ।

‘‘पानी पर्ने तरिकामा अहिले परिवर्तन हुँदै गएको देख्न सकिन्छ । एकै ठाउँमा मुसलधारे पानी पर्छ । यस्तो पानी परेको अवस्थामा मानिसहरु डराउने अवस्था हुन्छ । आगामी दिनमा पनि सीमित क्षेत्रमा मात्रै धेरै वर्षा हुने सम्भावना छ । भारी वर्षा भएको क्षेत्रमा बढी जोखिम हुनसक्नेछ ।,’’  उहाँले भन्नुभयो, ‘‘तराई र शहरी क्षेत्रमा बाढी आउने मात्र नभ डुबान पर्ने सम्भावना रहेको छ । संवेदनशील क्षेत्रलाई जोगाउने कुरामा पनि बढी ध्यान दिनुपर्छ । साथै जुन ठाउँमा बढी पानी पर्दैछ, त्यो क्षेत्रलाई निर्धारण गरी सोहीअनुसारको पूर्वसूचना प्रणाली बनाउनसके मानिसहरु सचेत हुन्छन् । साथै विपदबाट हुने क्षति न्यूनीकरण गर्नसक्छौँ ।’’

निर्माण क्षेत्रले आगामी दिनमा जलवायुमैत्री भौतिक संरचना निर्माण नगर्ने हो भने विपद्को क्षति झनै धेरै बढ्ने विज्ञ उप्रेतीले बताउनुभयो । उहाँले नदी किनारमा बनाइएका संरचनाहरुः जस्तै उर्जाको भौतिक संरचना, खानेपानीको भौतिक संरचनाहरु बनाउँदा दीर्घकालीन रुपमा सोचेर बनाउनुपर्ने बताउनुभयो । उहाँले भौतिक संरचनामा प्रयोग गरिने सिमेन्ट, रडहरु बाढीको जोखिम कम हुने क्षेत्रमा राख्नुपर्ने सुझाव दिनुभयो । उहाँले बाढी, पहिरोको जोखिम भएका ठाउँमा तत्काललाई काम रोक्नुपर्ने बताउनुभयो ।

‘‘निर्माण क्षेत्रमा भएको क्षति हेर्ने हो भने नदी किनारमा बनाइएका जति पनि भौतिक संरचनाहरु छन् । त्यो उर्जाको भौतिक संरचनाहरु, खानेपानीको भौतिक संरचनाहरु बढी छन् । यो भौतिक संरचनाहरु जुन नदी किनारमा हुन्छन्, त्यसको दुई वटा पाटा छन् । एउटा पाँच वर्षमा एक पटक आउने बाढी, १० वर्ष वा १५, २०, ५० वा सय वर्षमा जुन बाढीको रिटर्न पिरियटलाई ख्याल गरेर पहिला प्लानिङमा पनि कस्तो खालको जोखिम आउनसक्छ, १० वर्षमा, १५ वर्षमा र २० वर्षमा भन्ने एउटा योजना चाहियो ।,’’ उहाँले भन्नुभयो, ‘‘भौतिक संरचनामा प्रयोग गरिने सिमेन्ट, रडदेखि लिएर जति पनि सरसामानहरु छन् । त्यसलाई अलिकति बाढीको जोखिम हुने क्षेत्र, बाढीको जोखिम हुने औषत रैथाने ज्ञानबाट पनि थाहा हुन्छ । त्यो ठाउँमा वैज्ञानिक उपकरण नै जडान भएको हुनुपर्ने भन्ने छैन । यद्यपि कतिपय ठाउँमा जल तथा मौसमविज्ञान विभागको उपकरण राखिएको अवस्था पनि छ । वार्निङ, बिलो वार्निङ र डेन्जरको जुन अवस्था छ, त्यसलाई पनि हामीले सुन्नुपर्छ ।’’

उहाँले नेपाल र छिमेकी देश भारतले सीमानाकामा बनाउने संरचना जलवायुमैत्री बनाउन आवश्यक रहेको विज्ञ उप्रेतीको भनाइ छ । उहाँले बाढीको पूर्वसूचनालाई प्रभावकारी बनाउन र स्थानीय, प्रदेश र राष्ट्रिय आपत्कालीन केन्द्रलाई प्रभावकारी बनाइ कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो ।