• २३ असार २०८१, आइतबार

डेंगु सङ्क्रमण ७३ जिल्ला फैलियो, सबैभन्दा बढी बागमती प्रदेशमा

blog

काठमाडौं, असार २० गते । देशका ७३ वटा जिल्लाबाट एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्रअन्तर्गका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले हालसम्म ७३ जिल्लाबाट एक हजार ४३२ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो । 

इडिसिडीको तथ्याङ्क अनुसार कर्णली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन ।  डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ४८२, कोशी प्रदेशमा ३५० जनामा डेंगु पुष्टि भएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशमा २१२, लुम्बिनी प्रदेशमा १७१, सुदूरपश्चिममा १५९, मधेश प्रदेशमा ३८ र कर्णली प्रदेशमा २०  जनामा डेंगु पुष्टि भएको डा.दाहालले जानकारी दिनुभयो ।  

जिल्लाअन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौँमा १५९, झापामा १२० जनामा डेंगु पुष्टि भएको छ ।

त्यसैगरी, चितवनमा ८३, मकवानपुरमा ६५, डोटीमा ४९, तनहुँ ४९, सिन्धुपाल्चोकमा ४६, ओखलढुङ्गामा ४६, भोजपुरमा ४३, पाल्पामा ३५ जनामा डेंगु पुष्टि भएको छ । चिकित्सका अनुसार डेंगु हुनबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो ।

उच्च ज्वरो आउने, शरीरका जोर्नी र मांसपेशीहरु दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्नु, शरीरमा राता बिमिराहरु आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने यसको प्रमखु लक्षण हुन् । लामखुट्टेको टोकाइबाट बच्न प"रै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन डा.दाहालको सुझाव छ ।

उहाँ भन्नुहुन्छ, ‘‘लामखुट्टे नियन्त्रण गर्न लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, कार्यलय वरपरका पानी जम्ने सबै ठाउँहरु सफा गर्ने, पानी राख्ने भाडाँहरु बेलाबेलामा सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्ने ।’’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यो वर्ष डेंगु सङ्क्रमण बढ्न सकने भन्दै सचेत रहन आग्रह गर्नुभएको छ । गत वर्ष ५२ हजार ७९० जनामा डेंगु पुष्टि भएको थियो ।