• २२ असार २०८१, शनिबार

नुनको मूल्य वृद्धि

आठ वर्षपछि मूल्य समायोजन गरिएको दाबी

blog

काठमाडौँ, असार २० गते । प्रत्येक उपभोक्ताको भान्सामा नियमित प्रयोग हुने आयोडिनयक्त नुन बुधबारदेखि लागु हुने गरी प्रतिकेजीमा छ रुपियाँले महँगिएको छ । यसअघि प्रतिकेजी उपभोक्ता मूल्य २० रुपियाँमा कारोबार हुँदै आएको आयोडिन नुन प्रतिकेजीको २६ रुपियाँ पुगेको हो तर २० रुपियाँ खुद्रा मूल्य छँदा नै उपभोक्तालाई २५ रुपियाँमा बेच्दै आएका व्यापारीले अब बढाएर ३० रुपियाँसम्म असुल्ने चिन्ता छ । साल्ट ट्रेडिङ सञ्चालक समितिको मङ्गलबारको बैठकले बुधबारदेखि लागु हुने गरी मूल्य वृद्धि हुने निर्णय गरेको हो । सरकारले २०७३ साल फागुनदेखि लागु गरेको २० रुपियाँबाट अहिले आएर पुनः मूल्य वृद्धि गरेको छ । 

त्यस्तै न्यु शक्ति नुनमा प्रतिकेजी पाँच रुपियाँले वृद्धि भएको छ । अब न्यु शक्ति नुन केजीको थोक मूल्य १७ रुपियाँ र उपभोक्ता मूल्य २० रुपियाँ पर्ने कर्पोरेसनले जनाएको छ  । यसअघि न्यु शक्ति नुन प्रतिकेजी थोक १३ रुपियाँ ५० पैसा र उपभोक्ता मूल्य १५ रुपियाँ थियो तर भानु नुन भने प्रतिकेजी उपभोक्ता मूल्य नौ रुपियाँ नै रहेको छ । दुर्गम क्षेत्रमा जाने भएकाले भानुको मूल्य समायोजन नगरिएको कर्पोरसनले जनाएको छ । कर्पोरसनका अनुसार न्यु शक्तिमा प्रतिकेजी २० र भानुमा २१ रुपियाँ लागत रहेको छ । अझै पनि कम्पनीले नोक्सानमै नुनको आयात व्यापार गरिरहेको छ । 

साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले मूल्य समायोजनपछि अब प्रतिकेजी प्याकेट आयोडिन नुनको थोक मूल्य २३ रुपियाँ र उपभोक्ता मूल्य २६ रुपियाँ तोकिएको जानकारी दिनुभयो । 

उहाँका अनुसार यसअघि प्रतिकेजी थोक मूल्य १८ रुपियाँ ५० पैसा र खुद्रा मूल्य २० रुपियाँ थियो । प्रवक्ता भण्डारीले नुनको व्यापारमा कर्पोरेसनलाई धेरै नोक्सान भएकाले मूल्य समायोजन गर्नु परेको र उपभोक्ताको अवस्थालाई ध्यानमा राखेर थोरै वृद्धि गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिप्याकेट आयोडिन नुुनको लागत मूल्य २८ रुपियाँ पर्छ, थोकमा २३ रुपियाँमा दिँदा अहिले पनि कर्पोरेसनलाई प्रतिप्याकेट पाँच रुपियाँ नोक्सान छ ।” 

कर्पोरेसनका अनुसार ‘साल्ट ट्रेडिङले आठ वर्षपछि नुनको मूल्य समायोजन गरेको हो । प्रत्येक चार जनाको परिवारमा एक प्याकेट मात्रै खपत हुने भएकाले उपभोक्तालाई पनि ठुलो असर नपर्ने भन्दै उहाँले भन्नुभयो, “पछिल्लो आठ वर्षमा रेल भाडा नै तीन गुणा वृद्धि भएको सन्दर्भमा नुनमा अहिले गरिएको मूल्य समायोजनलाई अन्यथा मान्नु हुँदैन ।”

उपभोक्ता अधिकारकर्मीहरूले आमउपभोक्ताको भान्सामा प्रयोग हुने अति आवश्यकीय वस्तु आयोडिन नुुनको मूल्य बढाउनु अव्यावहारिक भएको टिप्पणी गरेका छन् । उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसेनाले मूल्य समायोजन व्यावसयिक दृष्टिकोणले आवश्यक देखिएको भए पनि आमउपभोक्तामाथि धोका भएको टिप्पणी गर्नुभयो । 

नुन स्वास्थ्यसँग समेत जोडिएकाले राज्यले अनुदान दिएर यसको आपूर्तिलाई सहज र सुपथ बनाउनुपर्ने भन्दै उहाँले भन्नुभयो, कर्पोरेसनलाई नुनको आयातमा धेरै नोक्सान भएको छ भने पनि सरकारले अनुदान उपलब्ध गराएर भए पनि अहिले गरिएको मूल्य वृद्धि फिर्ता लिनुपर्ने उहाँको भनाइ छ । उहाँले आयोडिन नुनको अधिकतम खुद्रा मूल्य २६ रुपियाँ प्रतिप्याकेट तोकिए पनि उपभोक्ताले ३० रुपियाँ घटीमा पाउने अवस्था नरहने बताउनुुभयो । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले तोकिएको अधिकतम खुद्रा मूल्यभन्दा बढी मूल्य लिएमा उपमोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही हुने बताउनुभयो । 

आयोडिनको कमीले गलगाड, मानसिक र शारीरिक क्षमतामा कमीलगायत स्वास्थ्य समस्या हुन्छ । स्वास्थ्यसँग समेत जोडिएको अत्यावश्यक दैनिक उपभोग्य वस्तु भएकाले नुनको आयातमा साल्ट ट्रेडिङलाई एकाधिकार छ । निजी क्षेत्र वा अन्य सरकारी निकायले नुन आयात गर्न पाउँदैनन् । 

वार्षिक करिब दुई अर्बको नुन खपत

कर्पोरेसनका अनुसार नेपालमा वार्षिक दुई लाख २० हजार टन नुन खपत हुने गरेको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा एक अर्ब ९३ करोड २७ लाख २६ हजार रुपियाँ बराबरको दुई लाख २५ हजार टन नुन आयात भएको भन्सार विभागको तथ्याङ्क छ । त्यस्तै आठ करोड ९० लाख रुपियाँ बराबरको तीन हजार छ सय टन केजी नुन (बिरेनुन) आयात भएको तथ्याङ्क छ । गत आवमा नेपालले दुई अर्ब सात करोड ९४ लाख रुपियाँ बराबरको दुई लाख ४३ हजार टन नुन आयात गरेको थियो । सोही वर्ष सात करोड ६० लाख बराबरको दुई हजार सात सय टन कालो नुन आयात भएको विभागको तथ्याङ्क छ । सरकारले दुर्गम २२ जिल्लामा नुन ढुवानी गर्दा अनुदान उपलब्ध गराउँदै आएको छ ।