• २२ असार २०८१, शनिबार

सुदूरपश्चिमको राजधानीको विषयमा पुनर्विचार गर्न सकिन्छ : प्रदेश प्रमुख मियाँ

blog

नेपाल पत्रकार महासंघ डोटी शाखाले बुधबार दिपायलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ । तस्बिर : केशबचन्द्र महरा

केशबचन्द्र महरा

दिपायल, असार १९ गते । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले स्थायी राजधानीको विषय पुनर्विचार गर्न सकिने बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घ डोटी शाखाले बुधबार दिपायलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले राजधानीको संरचना बनीनसकेको अवस्थामा संसद्ले राजधानीको विषय पुनर्विचार गर्न सकिने बताउनुभएको हो ।

“अन्य प्रदेशमा राजधानीको टुङ्गो लगाउनेदेखि संरचना निर्माण गर्ने काम हुँदै छ’’, उहाँले भन्नुभयो,“तर, सुदूरपश्चिम सरकारले तोकेको ठाउँमा राजधानी बन्ने नबन्ने कुरा अझै टुङ्गो लाग्न सकेको छैन । संसद्ले गोदावरीमा निर्णय गरेको भन्ने कुरा सुनियो तर, काम अघि बढ्न सकेको छैन । यो हाम्रो दुर्भाग्य हो ।”

सुरुमा साबिकको क्षेत्रीय सदरमुकाम रहेको दिपायलमानै राजधानी राख्ने भनेर उच्च अदालत पनि यतै राखिएको प्रदेश प्रमुख मियाँले बताउनुभयो ।

राजधानी तोक्ने विषयमा जनताले चुनेका व्यक्तिले निर्णय गर्ने अधिकार रहेको बताउँदै प्रदेश प्रमुख मियाँले त्यसमा पुनर्विचार गर्न सकिने बताउनुभयो ।

संविधान संशोधनका विषयमा सञ्चारकर्मीले राखेको प्रश्नमा मियाँले आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताउनुभयो ।