मनुष्य समाजको सांस्कृतिक धरातलमा कविताकर्मलाई अभिव्यक्ति सम्प्रेषणको बलियो जग स्विकारिन्छ । कविताले जीवन र जगत्का मूर्त–अमूर्त, दृश्य–अदृश्य सबै ती सूक्ष्मसत्ता परिधानहरूलाई लालित्यपूर्ण भाव सञ्चारद्वारा सम्प्रेषित तुल्याउने हुँदा प्रयुक्त सर्जामका सबै ती सङ्गीत र लय लोकग्राही भएका हुन् ।
शिल्प–सौन्दर्यनिसृत विम्ब र प्रतीकव्रmीडाद्वारा अभिव्यञ्जित यी काव्यालङ्कारहरू सम्प्रेष्य व्यवहारका कुशल प्रचेष्टा ठहरिएका हुन् ।
निबन्ध र आख्यानमा पनि सम्प्रेषण शक्तिको प्रबलता नरहने होइन तथापि नाटकपछि कविताले नै सहज भावभूमिको प्रत्यक्षता सञ्चार गर्छ । मनुष्य समाजको सांस्कृतिक पद्धतिमा कविता सर्वाधिक लोकप्रिय विधानता स्विकारिने व्रmम जारी छ । कविताबिनाको समाज–संस्कृति कल्पना गर्न सकिन्न । सनातनदेखि मनुष्य समाजलाई शिल्पगत सांस्कृतिक ध्वन्यात्मक कलासंवेगद्वारा प्रवाहशील तुल्याउन निर्दिष्ट गर्ने लालित्यपूर्ण वाक्भूषणीय झङ्कार हो कविता, जसले जीवन नै सौष्ठवमय तुल्याउँछ ।
मनुष्यको बहुपक्षीय विकास र समृद्धितर्फ काव्य चिन्तनको निकटस्थ सम्बन्ध रहन्छ । समयसापेक्ष युगीन चेतनाको बोली बोल्ने कविताले इतिहासलाई जीवन्त राख्छ, वर्तमानलाई ऊर्जासम्पन्न तुल्याउँछ र भविष्यत्लाई वैभवशाली तुल्याउन प्रेरित गर्छ । कविता जीवन र राष्ट्रको कोरा कल्पना होइन । यो त न्याय, समानता, त्याग, उत्सर्ग, अनुराग, करुणा, आस्था, सिर्जना वा प्रेम र सञ्जीवनको निरूपणमा अडेको हुन्छ ।
कुन राष्ट्र, कुन समाज कति चेतनशील छ, त्यसको सुदूर गन्तव्य कस्तो छ भन्ने कुरा कविताको उत्थान र विस्तारबाट अनुभव गर्न सकिन्छ ।
नेपाल राष्ट्रको विकास र विस्तार सँगसँगै नेपाली जीवनका मूल्य र आदर्शलाई उचाइतर्फ उन्मुख गराउँदै कविताले एक अलग चिनारी प्रवाह गर्दै आइरहेको छ र सोही अनुरूप प्राथमिककालीन कुलीन कविहरूले हालेको जगमा नेपालको सांस्कृतिक धरातल निर्माण भएको स्पष्ट हुन्छ । अढाइशताब्दीभन्दा लामो यात्रा तय गरिसकेको नेपाली कविताले वीरधारा, भक्तिधारा र शृङ्गारधाराका चेतना र अन्तर्सम्बन्धित दर्शनसित आत्मसात् गर्दै विश्वजनिन नवीन प्रयोग र परीक्षणका बिच आफ्नो दरिलो उपस्थिति जनाउन आइपुगेको छ ।
लोकजीवनका विभिन्न भावभूमि, विचार, अनुभूति, दर्द, पीडा, कुण्ठा, विरह, द्वन्द्व वा विद्रूपता आत्मगत एवं परात्मगत पल्लवित हुँदै आइरहेको नेपाली कविताले आफ्नो डेग छाडेको देखिँदैन । युगीन जीवनका प्रतिनिधि कवि र कविताले आफ्नो माटोको गन्ध सुवासित तुल्याएका छन् । तिनले नै राष्ट्रको वैभव र वीर पुर्खाको आदर्श गाथा गाइरहेका छन् ।
नेपाली कविताको प्रस्थान विन्दु विसं १८२० बाट तय भएको प्राथमिक काल केही सङ्कुचनमा रहे पनि आसाप्रद इतिहासको साँधसिमाना कोर्न सफल भएको स्विकार्नै पर्दछ । विकास, सञ्चार, अवसर, प्रकाशन र चेतनाका दृष्टिले त्यो युग कष्टकारक थियो । त्यसबेला कविताले उल्लेख्य गति लिन सकेको थिएन । विसं १९४० पछि विकसित माध्यमिक कालव्रmमले उब्जाएका उत्कृष्ट कवि र कविताको युग सुरु भएको देखिन्छ । तथापि विसं १९९० को प्रारम्भ (शारदा युग) देखि कविताले आधुनिकतातर्फ फट्को मारेपछि नवीन प्रयोग र वैचारिक चिन्तनधाराका काव्यपरम्पराले नेपाली साहित्यको भण्डारलाई समृद्ध बनाएको कुरामा दुई मत छैन ।
प्राथमिककालीन कवि र कविताले नेपाली कविताको शास्त्रीय धरातल निर्माण गर्न अहम् भूमिका खेलेका छन् । अन्धकारयुगमा रहेको प्राथमिककालले उत्तरवर्ती परिप्रेक्ष्यमा देखा पर्ने कविहरूलाई मार्गप्रशस्त तुल्याउन जुन साहित्यिक सांस्कृतिक र नैतिक आदर्शको सत्सङ्ग प्रारम्भ गरेको थियो, त्यसबाट आधुनिक एवं उत्तरआधुनिक पुस्तालाई समेत अघि बढ्न ऊर्जा सञ्चार गरेको स्वीकार गर्नुपर्ने हुन्छ । सोहीबमोजिम तेस्रो दुनियाँमा देखापरेको सांस्कृतिक एवं बौद्धिक आन्दोलनहरूले उत्पन्न गतिशीलताबाट माध्यमिककालीन कविहरू नयाँ उमङ्ग र भरपर्दो आशासहित नवइतिहासको कुलीनता तय गर्न प्रचेष्टित भएका हुन् ।
बद्लिँदो राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका लागि विसं १९९० पछि देखिएका कवि र कविताले प्रयोग र व्रmान्तिलाई सशक्तीकरणतर्फ उन्मुख तुल्याएको घटना स्पष्ट छ ।
लोकतन्त्रको बहालीभन्दा अघि आर्थिक, सामाजिक र राजनीतिक स्वतन्त्रताबाट वञ्चित नेपाली समाजलाई मुक्तिको श्वाश फेर्न कविताले नै सहज तुल्याएको हो । विसं १९९० पछि नेपाली जनता अन्तर्राष्ट्रिय जगत्सित जोडिन थालेपछि साहित्यिक सांस्कृतिक क्षेत्र परम्परागत विरासतबाट विस्तारित हुँदै वाद, सिद्धान्त र आन्दोलनतिर आकृष्ट भएको देखिन्छ । युगीन जीवनका बहुआयामिक पद्धतिसित जोडिएका यी कविहरूले एकै शैली र चिन्तनबाट मुक्त भएर स्वत्वको खोजीमा आफ्नो पहिचान स्थापना गर्न सफल भएका देखिन्छन् ।
लेखनाथ पौड्याल, धरणीधर कोइराला, महानन्द सापकोटा, बालकृष्ण सम, मविवि शाह, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, भीमनिधि तिवारी, प्रेमराजेश्वरी थापा, केदारमान व्यथित र गोपालप्रसाद रिमाल जस्ता वैभवशाली कविहरूले उन्नत तुल्याएको नेपाली कविताको धरातलमा आधुनिकताको उत्खनन गर्दै सुन्दर भविष्यको गन्तव्य तय गर्दै, सूक्ष्म मानवीय अभिव्यञ्जना, स्वतन्त्रतावादी आत्मचिन्तन, अस्तित्व स्थापनाको व्यग्रता, विश्व वन्धुत्वको आग्रह, स्वच्छन्दतावादी पैरवी, अन्तर्राष्ट्रियवादी सांस्कृतिकता, समाजशास्त्रीय पर्यावलोकन, भूमण्डलीकरणतर्फको सञ्चेतना, अर्थराजनीतिको गम्भीरता, यौन मनश्चेतनाको फराकिलो दुर्ग विस्तार, विज्ञान र प्रविधिको उपादेयता, लैङ्गिक समानता र समावेशिताको अपरिहार्यता, विभेदकारी न्यायप्रणालीमाथि बहस, धार्मिक कट्टरपन्थतामाथिको चिन्ता, रङ्गभेद र नश्लवादबाट उत्पन्न जातीय एवं भाषिक सन्त्रास र पहिचानको खोजीलगायतका अनेक मौन प्रश्नहरूमाथि पृथक् शैली र भाषाका माध्यमबाट काव्य कविता लेखिएका छन् ।
नब्बेको दशकअघिदेखि नै मौलाएका प्रतिनिधिकारक कविका कविताले विश्वपरिवेशलाई सूक्ष्मसत्ताबाट अवलोकन गर्दै नवीन युग, उन्नत जीवन र जागरणवादी चिन्तनतर्फ साहित्यिक फाँटलाई विस्तारित तुल्याउन योगदान गरेका छन् ।
बिसको दशकमा उदाएका कविहरूले सत्ताको दमन र प्रशासन संयन्त्रका चुनौतीहरूलाई प्रत्यक्ष अप्रत्यक्ष खेप्नुपरेको थियो । प्रकाशन, प्रवर्धन र अवसरहरूबाट त्यसरी नै वञ्चित हुनुपरेको थियो । शासन र सत्ताको राग गाउनेहरूले बाहेक अधिकांश स्वाभिमानी र स्वाधीन कविहरूले आफ्नै व्यक्ति सत्ताका आडमा मात्र रचना–जीवनतर्फ धकेलिनुपर्ने बाध्यता थियो ।
तथापि यस कालखण्डका कविहरूले बचाएको धरोहरलाई तिसका दशकका कविहरूले विरासत संरक्षण गर्ने अवसर पाएका हुन् ।
बिसको दशकलाई नेतृत्व गर्ने कविहरूका कवितामा स्वतन्त्र काव्य चिन्तन, वर्गीय मुक्तिको स्वर उद्घोष, बौद्धिक चिन्तनको उत्कर्षशीलता, अमूर्त अनुभूतिको उठान, सबाल्टर्नवर्गको खोजी र पहिचान, नारीमुक्तिको अभिगुन्जन, फोस्रो आडम्बरको चिरफार, वैयक्तिक उहापोहको ऐकान्तिक पीडाबोध, आत्महीनताको प्रलाप, प्रकृति र मनुष्यको अन्तर्सम्बन्धमाथि पुनर्चिन्तन, विम्ब संयोजनको केन्द्रीयताबाट निःसृत असर, शोषण, दमन र निरङ्कुशताको चित्रण, संवेदशीलताको फरकधार, वैयक्तिक चिन्तनको विशिष्ट प्रवाह, जैविक एवं सांस्कृतिक धरातलबाट मनुष्य अस्तित्व अन्वेषण, पाश्चात्य विकासव्रmमको प्रभावोत्पादकता, व्यङ्ग्योक्तिका नवीनतम प्रयोग र तिनका विरेचन शैली, मानवतावादी दर्शन र स्वच्छन्द जीवनबोधको प्रकटीकरण, केन्द्रीकृत विम्ब र वैयक्तिक प्रतीकबोधका दुरुह सवालहरूमाथि विशेष प्रयोग र परीक्षण गरिएका छन् ।
बिसको दशकलाई ऊर्जा प्रदान गर्ने शक्तिशाली कविहरूमा विजय मल्ल, जगदीश शमशेर राणा, वासु शशी, भूपि शेरचन, मोहन कोइराला, ईश्वरबल्लभ, वैरागी काइँला, द्वारिका श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, तुलसी दिवस, हरिभक्त कटुवाल, हेम हमाल, क्षेत्रप्रताप अधिकारी, कालीप्रसाद रिजाल, रत्न शमशेर थापा, कुन्दन शर्मा, मञ्जुल, पारिजात, वानीरा गिरी, कृष्ण जोशी, जशराज किराँती, शैलेन्द्र साकार, नरेश शाक्य, मुकुन्दशरण उपाध्याय, वेञ्जु शर्मा, मञ्जु काँचुली, दुर्गालाल श्रेष्ठ, पुष्कर लोहनी, अभि सुवेदी, भवानी घिमिरे, भुवन ढुङ्गाना, श्यामदास वैष्णव, कञ्चन पुडासैनी, रामचन्द्र भट्टराई, पोषण पाण्डे, केवलपुरे किसान, मोदनाथ प्रश्रित, निरविव्रmम प्यासी, भीम विराग, कुमुद देवकोटा, रमेश श्रेष्ठ (भोजपुरे) आदि हुन् ।
नब्बेको दशकलाई ‘शारदा युग’ का रूपमा सम्बोधन गरिन्छ भने बिसको दशकलाई ‘रूपरेखा युग’ का रूपमा चित्रित गर्न सकिन्छ । किनभने रूपरेखा युगले आधुनिकता र अत्याधुनिकतालाई जोड्दै भविष्यत्लाई निर्दिष्ट तुल्याउन अनेक प्रयोगवादी काव्य चिन्तनमाथि बहस प्रारम्भ गरेको थियो । अमूर्त शैलीको भाषा र गद्यरूपलाई प्रवर्धन गर्न ‘रूपरेखा’ ले निर्वाह गरेको भूमिका सराहनीय छ ।
तिसको दशकलाई नेपाली कविताको उर्वराकालका रूपमा लिइन्छ । यो दशक राजनीतिक स्वतन्त्रताबाट वञ्चित थियो । वाक् स्वतन्त्रता, मानव अधिकार र नागरिकका मौलिक हक अधिकारबाट वञ्चित यो दशकमा चौतर्फी विद्रोहको स्वर गुन्जित हुन थालेको थियो । यस कालखण्डका कविहरूले पृथक् स्वर, मौलिक शैली, गहन भाव–भाषा प्रतीकात्मक शिल्पव्यञ्जना र प्रगतिशील चिन्तन–आन्दोलनबाट कवितालाई शक्तिशाली र परिष्कृत तुल्याउँदै विश्वमानवतावाद माथि टड्कारो अभिव्यक्ति सम्प्रेषण गर्न थालिसकेका थिए । तिसको दशक विश्व रङ्गमञ्चसित जोडिन थालिसकेको हुँदा पाश्चात्य जगत्का शैली र आन्दोलनसित परिचित हुँदै आइरहेको थियो । दक्षिण एसियालगायत छिमेकतिर चलाइएका प्रयोग र शैली चातुर्यको प्रभाव तिसका दशकका कवि र कवितामा पर्नु स्वाभाविक थियो । अझ पाश्चात्य जगत्का वैचारिक आन्दोलन र उपलब्धि, वाद र सैद्धान्तिकीको प्रभावबाट नेपाली कवितालाई अभिव्यक्ति सम्प्रेषणको विस्तारतर्फ उत्प्रेरणा सिर्जना गर्न सहायक सिद्ध रहेको स्विकारिन्छ । विज्ञान र प्रविधिको विकास र विस्तार सँगसँगै विश्वजीवनमा देखापरेको साहित्यिक सांस्कृतिक नवप्रवर्तनले उन्नत विचार, शिल्पगत भाव–भाषा, अलङ्कारव्यञ्जना, वैज्ञानिक प्रयोग, नवचेतना, जागरण अभियान, दार्शनिक धरातलको नवीनता र अनेक वाद, दर्शन तथा आन्दोलनलाई विस्तृत उपयोग गर्न यो दशक सफल भएको मान्न सकिन्छ ।
तिसको दशकले वर्गीय उन्मुक्तिमाथि बहस गर्दै, पुँजीवादी आर्थिक संरचनाले थोपरेको असमानतामाथि प्रहार गर्दै, कथित प्रगतिवादी साहित्यिक–सांस्कृतिक धरातलतर्फ चिन्तन गर्दै, शासन संयन्त्रले उत्पन्न गरेको अन्तरविरोधप्रति विमति प्रकट गर्दै आत्मगत कुण्ठा, निस्सारताबोध र शून्यवादी दर्शन छिचोल्दै, अभिजात्य जीवन शैली र विलासितापूर्ण जीवनको उहापोहमाथि प्रहार गर्दै विविध यथार्थवादी धरातलका कटुतापूर्ण जीवनलाई सूक्ष्म विश्लेषण गर्न आइपुगेको एक उत्तेजक परिस्थितिजन्यतामा सिर्जना गरिएका काव्य कविताद्वारा नेपालको सङ्व्रmमणकालीन चित्र पेस गरेको छ, जसमा पञ्चायती व्यवस्थालाई ढाल्न यसै युगका कवि र कविताले निर्वाह गरेको भूमिका प्रशंसनीय मानिन्छ ।
शैलीमा परिष्कार, नवीन प्रयोग, वैज्ञानिक चिन्तन, धरातलीय सत्य उन्मुखता, वस्तुसत्यको खोज, युगीन जीवनको प्रतिविम्बन, रूढिग्रस्त यथास्थिततामाथिको प्रहार, विप्लवी चेत, यथार्थताको उद्घोष, आधुनिक कविताको लक्षणा हो । वर्गभेद, आर्थिक असमानता, शोषण, दमन, रूढिग्रस्त विसङ्गति, सामाजिक भेदभाव, निरङ्कुश शासन सत्ताप्रतिको व्रmान्तिकारी हुङ्कार यस कालखण्डका कविताले अभिव्यक्तीकरण गरेका व्यञ्जना हुन् ।
तिसको दशकका कवि र कविता सङ्ख्यात्मक रूपमा मात्र यथेष्ट छैनन्, ऊर्जात्मक एवं गुणात्मक रूपमा पनि सबल छन् । नेपाली कविताको इतिहासमा तिसको दशकले निर्माण गरेको मार्गचित्रले आफ्नो सनातनी छवि र मौलिक पहिचान स्थापना गर्न सक्षमता साबित गरेका छन् ।
तिसको दशकका कवि र कविता अघिल्लो पुस्ताले स्थापित गरेको मूल्य र मान्यतामाथि परिष्कार र विकासको उद्घोषद्वारा विश्वकविताका हाराहारी आफ्ना ‘स्वगत’ हरू कायम गर्न आइपुगेका छन् । विश्व सम्पर्क भाषाका रूपमा रहेको अङ्ग्रेजी प्रकरणमा व्यापक अनुवादित भएर आउन नसकेकाले तिसको दशक परीक्षण हुन नपाएको कटु यथार्थ हामीसित जीवितै छ ।
नेपाली कविताको गतिशील याम भनिएको तिसको दशकलाई समृद्ध र ऊर्जाशील तुल्याउन लागिपरेका कविहरू विमल निभा, श्यामल, कृष्ण प्रधान, डा. विष्णु राई, मीनबहादुर विष्ट, कृष्ण भूषण बल, तीर्थ श्रेष्ठ, डा. विष्णुविभु घिमिरे, किशोर पहाडी, लव गाउँले, उषा शेरचन (भट्टचन), प्रमोद प्रधान, नारायण तिवारी, वियोगी बुढाथोकी, कणाद महर्षि, पुरुषोत्तम सुवेदी, रमेश तुफान, अशेष मल्ल, ज्ञान उदास, शेखर गिरी, गोविन्द गिरी प्रेरणा, विश्व शाक्य, डा. शैलेन्दुप्रकाश नेपाल, मोहन दुवाल, प्रकट पङ्गेनी शिव, महेन्द्रवृक्ष (गिरी), दैवज्ञराज न्यौपाने, रमेश गिरी, डा. हरि शर्मा, डा. दामोदर पुडासैनी ‘किशोर’, सीता पाण्डे, शुभ श्रेष्ठ, ललितजन रावल, नरेन्द्रबहादुर श्रेष्ठ, अमृतलाल श्रेष्ठ, राजकुमार केसी, फणीन्द्र नेपाल, महेश प्रसाईं, विश्वविमोहन श्रेष्ठ, राजेन्द्र शलभ, विनय रावल, डा. विमल कोइराला, दिव्य गिरी, विजय वजिमय, शिव अधिकारी, डा. अमर गिरी, जीवन आचार्य, दिनेश अधिकारी, विव्रmम सब्बा, अविनाश श्रेष्ठ, सरुभक्त, अग्निशिखा, विनोद गौचन, तोया गुरुङ, प्रल्हाद पोख्रेल, राधेश्याम लेकाली, पूर्णविराम, आरआर चौलागाई, विवश पोखरेल, कृष्ण धरावासी, विधान आचार्य, कृष्णसेन इच्छुक, बद्री भिखारी, मधु पोखरेल, जीवनाथ धमला, कुन्दनकुमार पन्त, केशव आचार्य, शारदा शर्मा, लक्ष्मणकुमार नेवटिया, गोविन्द विकल, बम देवान, गिरिराज आचार्य, भीष्म काफ्ले, हर्ष सुब्बा, ओम आचार्य, कृष्ण पाख्रिन, राजव, रत्ननिधि रेग्मी, उज्ज्वल डिसी, सुभाषचन्द्र पौडेल ‘भिमफेदिया’, धीरेन्द्र मल्ल, युवराज मैनाली, लक्ष्मी माली, दुर्गा दाहाल, राजेश ढुङ्गाना, आहुती, कुन्ता शर्मा, ईश्वरचन्द्र ज्ञवाली, कृष्ण प्रसाई, भूपाल राई, दुवसु क्षेत्री, मित्रलाल पंज्ञानी, विजय सुब्बा, सुलोचना मानन्धर, विनोद अश्रुमाली, रेशम विरही, हरि अधिकारी, घनश्याम कँडेल, पवन आलोक, गगन विरही, कृष्ण बाउसे, हेमन्त श्रेष्ठ, स्नेह सायमी, वसन्त श्रेष्ठ, गोविन्द वर्तमान, रमेश खकुरेल, श्रीहरि फुयाँल, गोविन्दराज विनोदी, वेणु आचार्य, सीताराम अधिकारी, डा. केदार न्यौपाने, राधेश्याम भट्टराई, रामेश्वर राउत ‘मातृदास’, बमबहादुर जिताली, नवराज कार्की आदि हुन् ।
बिसको दशकका कविहरूले आयामेली चिन्तन, अस्वीकृत जमात, राल्फाली आन्दोलन र प्रगतिवादी चिन्तन विमर्शद्वारा कवितालाई ‘कला र जीवन’ को फ्युजनद्वारा नवशास्त्रीय धरातलमा ल्याइपु-याएको देखिन्छ भने तिसको दशकका कविहरूले सडक कविता व्रmान्ति, नवलेखन, समाज मनोवैज्ञानिकी रूपान्तरण चेत, पूर्ण उदारवाद र स्वच्छन्दधाराका अन्य प्रयोगवादी आसक्तिलाई अवलम्बन गरेका छन् । बिसको दशकमा कुँजिएको अभिव्यक्ति स्वतन्त्रता र अस्वीकृत व्यक्तिसत्तालाई तिसको दशकका कवि र कविताले अझ बढी व्यापकतातर्फ उन्मुख तुल्याएको देखिन्छ ।
तिसको दशकका कति कवि र कविताका चिनारीहरू अनुवाद र विश्वसञ्चारबाट ओझेलमा परेका र तिनका पुस्तान्तरण नेपथ्यमा रहेको सत्यलाई कबुल गर्ने हो भने यहाँ कविताको बलियो उपस्थिति छैन भन्ने होइन । वर्डस्वर्थ, वाल्ट ह्विटम्यान, विलियम वटलर यिट्स, बर्टोल्ट ब्रेख्त, पाब्लो नेरुदा, टिएस इलियट, अक्टोबिया पाज जस्ता कविहरूको प्रतिविम्बन अनुभूति गर्न सकिने अनेक आधारहरू छन् । लेखनाथ, सम, देवकोटा, भूपि, रिमाल, गोकुल जोशी, युद्धप्रसाद मिश्र जन्मिएको भूमिमा एउटा डिस्कोर्स चलाउन अपरिहार्य भइसकेको छ ।