गण्डकी, वैशाख २५ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाली जनताको खुसी र राष्ट्रको समृद्धिको जिम्मेवारी युवा वर्गको काँधमा रहेको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको आगामी जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुने १० औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज पोखरामा आयोजित युवा भेलाको उद्घाटन गर्दै महासचिव पोखरेलले युवा शक्तिले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभएको हो ।
एमालेले पार्टीका सबै तहमा युवालाई आरक्षणको व्यवस्था गर्दै अघि बढाइरहेको उल्लेख गर्दै महासचिव पोखरेलले यसबाट नयाँ चिन्तन भएका युवापुस्ताको विकास हुने विश्वास व्यक्त गर्नुभयो । कृषिलाई आधुनिक एवं प्रविधिमैत्री बनाउँदै युवावर्गको आकर्षण बढाउनुपर्नेमा उहाँको जोड छ ।
मुलुकमा राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन नसकेको उल्लेख गर्दै महासचिव पोखरेले भन्नुभयो, “देशलाई अब राजनीतिक स्थायित्वको दिशामा अघि बढाउन राष्ट्रिय शक्ति एकजुट हुन आवश्यक छ । मुलुकको समग्र विकासको पक्षमा उभिएका कारण अहिले एमालेमाथि चौतर्फी आक्रमण भएको उल्लेख गर्दै उहाँले एमाले सरकारमा आएपछि रोकिएका विकास निर्माणका काम अघि बढेको बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले युवाले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत क्षेत्रमा अग्रसरता देखाउँदै नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका उहाँले मुलुकमा मौलाएका बेथितिको अन्त्यका लागि दुई ठूला दल नेपाली कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार देशमा सुशासनसहित विकास निर्माणमा जुटेको बताउनुभयो ।
सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा ‘समृद्ध नेपाल, सुखी नेपाली’ सङ्कल्पलाई अघि बढाएको उल्लेख गर्दै उहाँले उक्त अभिभारा पूरा गर्न युवा वर्ग सचेत र जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । युवा वर्ग उद्यमशील बन्नुपर्नेमा मन्त्री गुरुङको जोड छ।
नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं जनसङ्गठन प्रमुख भानुभक्त ढकालले युवा शक्ति सङ्गठित र संयमित भएर पार्टी निर्माणमा जुट्नु पर्नेमा जोड दिँदै कार्य मूल्याङ्कन तथा क्षमताका आधारमा पार्टीको जिम्मेवारी दिइने बताउनुभयो । जनवर्गीय सङ्गठनलाई चुस्त दुरुस्त बनाउँदै ‘मिसन–८४’ मा पार्टीको बहुमत ल्याउने तयारीमा जुट्न आग्रह गर्नुभयो ।
एमाले केन्द्रीय सदस्य एवं युवा सङ्घ नेपालका इञ्चार्ज राजीव पहारीले पर्यटकीय राजधानी पोखरामा हुन गइरहेको दशौँ राष्ट्रिय महाधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्न सबैको साथ तथा सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । ‘सुशासन, समृद्धि, राष्ट्रियता, नवीनता, सिर्जनशीलता र गतिशीलता’ नारासहित पोखरामा हुन गइरहेको दशौँ राष्ट्रिय महाधिवेशनमा एक हजार ७९२ प्रतिनिधिको सहभागिता रहने युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले जानकारी दिनुभयो ।
कार्यक्रममा सङ्घका केन्द्रीय उपाध्यक्ष प्रकाश गौतम र महासचिव सुमन पुरीले महाधिवेशन सङ्गठन सुदृढीकरण, जलवायु परिवर्तन र उद्यमशीलता एवं उत्पादनलाई जोड दिन केन्द्रित रहने बताउनुभयो । अधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । रासस