टोपलाल अर्याल
रेसुङ्गा, वैशाख २६ गते । गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले बिद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउन बस सहयोग गरेको छ । बर्सेनि बिद्यार्थीहरुको सङ्ख्या घट्दै गएपछि लामो दुरीका बिद्यार्थीहरुलाई सहज बनाउन रुरु क्षेत्र गाउँपालिकाले दुई विद्यालयलाई इलेक्ट्रिक माइक्रो बस प्रदान गरेको हो ।
रुरु क्षेत्र गाउँपालिका–१ को रिडी मावि र वडा नं ४ को ज्ञवा माविलाई बस प्रदान गरिएको हो । योसँगै रिडी माविले गाउँपालिकाबाट दुई वटा बस पाएको छ ।
रुरु क्षेत्र गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार ४०÷४० लाख रुपियाँ प्रदान गरिएको रुरु क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिनुभयो । आफ्नै स्रोत र गाउँपालिकाको बजेटबाट विद्यालय आफैले बस खरिद गरेको पाण्डेयले बताउनुभयो ।
विगत दुई वर्षमा जनबोध र रिडी माविलाई बस प्रदान गरिएको थियो । बिस २००७ सालमा स्थापना भएको रिडी माविमा ४४४ जना विद्यार्थी रहेका छन् । भने ज्ञवा माविमा २७३ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
रुरु क्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले सामुदायिक बिद्यालयहरुलाई साधन स्रोतसहित गुणस्तरीय शिक्षामा अब्बल बनाउँदै लैजाने गाउँपालिकाको नीति अनुसार बस प्रदान गरिएको बताउनुभयो ।
विद्यालय टाढा भएका कारण शिक्षाको उज्यालोबाट कोही पनि बञ्जित वा बसाई सर्ने अवस्था नबनोस् भनेर बिद्यालयहरुलाई गाडी प्रदान गरेको ज्ञवालीले बताउनुभयो । उहाँले आगामी वर्ष पनि थप बिद्यालयहरुलाई गाडी प्रदान गर्ने बताउनुभयो ।
ज्ञवा माविकामा दुई घण्टा हिँडेर आउने विद्यार्थी पनि छन् । प्रधानाध्यापक नारन ज्ञवालीका अनुसार विद्यालयको क्षेत्र सबैभन्दा टाढा झमादी र ओखलढुगाबाट करिब दुई घण्टा लगाएर ३० जना विद्यार्थी विद्यालय आउने गरेका छन् । उनीहरूलाई माविको अर्को विकल्प छैन । त्यस्तै उल्लीखोला क्षेत्रबाट पनि विद्यार्थी एक÷डेढ घण्टा लगाएर आउने गरेको ज्ञवालीले बताउनुभयो । बर्सेनि विद्यार्थी सङ्ख्या घट्दो छ । ज्ञवामा ४०० सम्म विद्यार्थी हुने गरे पनि अहिले करिब ३०० विद्यार्थी रहेको विद्यालयले जनाएको छ । विद्यार्थीको लागि बस निर्विकल्प रहेको ज्ञवालीले बताउनुभयो ।