नेपाली साहित्यको विकासमा मधुपर्क साहित्यिक मासिक पत्रिकाको अहम् भूमिका रहेको छ । विसं २०२५ को जेठ महिनाको ३० गते प्रकाशन प्रारम्भ भएको मधुपर्कको आधा शताब्दीभन्दा लामो इतिहासँगै गौरवशाली प्रतिष्ठा पनि रहेको छ । मधुपर्क प्रकाशनको पहिलो अङ्कको सम्पादक गोपालप्रसाद भट्टराई र सहायकमा नारायणबहादुर सिंह, दाताराम शर्मा र भैरव अर्याल हुनुहुन्थ्यो । एक रुपियाँ पचास पैसा मूल्य राखिएको मधुपर्कमा राजा महेन्द्र, प्रधानमन्त्री सूर्यबहादुर थापा र गृह पञ्चायत तथा सूचना प्रसारमन्त्री गेहन्द्रबहादुर राजभण्डारीको शुभकामना रहेको छ । उत्तम नेपालीको आवरण कला रहेको पहिलो अङ्कमा मवीवि शाह, बालकृष्ण सम, मोहन कोइराला, कालीप्रसाद रिजाल, भवानी भिक्षु, धु्रवचन्द्र गौतम, यदुनाथ खनाल, कमल दीक्षित, पारसमणि प्रधान, जनार्दन सम आदिका रचना समावेश भएका थिए ।
प्रकाशनको पहिलो अङ्कदेखि मधुपर्कको स्तरीयतामा कमी आएको छैन र साहित्यकारहरूको बिचमा अलिकति पनि आकर्षण घटेको छैन । मधुपर्क भनेको नेपाली साहित्य र स्रष्टाहरूका लागि एउटा प्रतिष्ठित ‘ब्रान्ड’ नै बनेको छ । कुनै समय साहित्यमा आउन चाहनेहरूका लागि मधुपर्कमा रचना छापिनु अनिवार्य जस्तै थियो । लेखकीय परिचय पाउन र स्थापित हुनका लागि पनि मधुपर्क पर्याय जस्तै बनेको थियो । विसं २०७१ को मधुपर्क सम्मान समारोहमा कवि, गीतकार तथा पूर्वमन्त्री एस्पी कोइरालाले भन्नुभएको थियो– जसरी निजामती सेवामा जानका लागि लोक सेवा आयोग पास गर्नु पर्छ त्यसरी नै साहित्यमा आउनका लागि पहिले मधुपर्कमा रचना छापिनु अपरिहार्य हुन्थ्यो ।
त्यस्तै हुटहुटी थियो ममा पनि मधुपर्कमा रचना छपाउनलाई । मेरा दुई कविता सङ्ग्रह प्रकाशित भइसकेका थिए । तर मधुपर्कमा प्रवेश गर्ने अवसर पाएको थिइनँ । संयोगले विसं २०४७ मा नै मेरो पहिलो कविता ‘आँकुरा’ स्तम्भमा छापियो । त्यति बेला दुई पुस्तक निस्कँदाभन्दा बढी खुसी भएको थिएँ म । यसरी मधुपर्कसँग जोडिएको सम्बन्ध व्रmमशः बलियो बन्दै गयो । केही महिनापछि त म स्तम्भकार नै हुन पाएँ । त्यसताका म रङ्गकर्म गरिरहेको र चलचित्र पत्रकारिता पनि गरिरहेको थिएँ । मधुपर्कमा ‘मनोविनोद’ भन्ने कलासम्बन्धी स्तम्भ थियो । कवि तथा गीतकार रमण घिमिरेले त्यो स्तम्भमा नियमित लेखिरहनुभएको थियो । उहाँले छोड्नुभएपछि सम्पादकीय समूहमा हुनुभएका कपिल घिमिरेले मलाई लेख्नलाई भन्नुभयो । मधुपर्कमा नियमित लेख्न पाउनु मेरो निम्ति ठुलो अवसर बनेको थियो ।
अन्तर्वार्तामा नाम ननिस्किएला भन्ने एउटा तनाव हटेको थियो । तर त्यही रातदेखि बैङ्कको जागिर छोड्ने कि गोरखापत्रको जागिर सुरु गर्ने भन्ने अर्को तनाव सुरु हुनथाल्यो । एक्लै हुनासाथ मभित्र द्वन्द्व हुन्थ्यो नयाँ जागिरमा जाने कि पुरानैमा बसिरहने ? आर्थिक रूपले सुविधा सम्पन्न जागिर खाने कि रुचिको क्षेत्रमा जागिर खाएर रमाउने ? यो व्रmम सूचनापाटीमा नाम निस्किेको तेत्तिस दिनसम्म नै चलिरह्यो । चौँतिसौँ दिनको राति मैले दृढतापूर्वक निर्णय लिएँ । मधुपर्कमा गएर रमाउन जाने । आखिर पैसा हुनेहरू पनि आफ्नो रुचिको क्षेत्रमा रमाउनलाई खर्च गर्छन् भने म त झन् जागिरसमेत पाएर जान पाउँदै छु ।
भोलिपल्ट ३५ औँ दिन संस्थानको नियुक्ति पत्र बुझेर मधुपर्क कार्यालयमा हाजिर गर्न गएँ । त्यतिबेला मधुपर्कको सम्पादक श्रीप्रसाद गौतम हुनुहुन्थ्यो । कपिल घिमिरे सहसम्पादक हुनुहुन्थ्यो । हामी दुई जना उपसम्पादक आएपछि करारमा काम गरिरहनुभएका भिक्टर प्रधान बिदा हुनुभएको थियो ।
विसं २०४८ देखि सुरु भएको हाम्रो नियुक्तिमा एक वर्षको परीक्षण काल तोकिएको थियो । मैले त उत्साहले पूरै मन लगाएर काम गरिरहेको थिएँ । तर के कारणले हो हाम्रो परीक्षण काल फेरि एक वर्ष थपियो । कारण अहिलेसम्म जान्न सकिएको छैन । अनौपचारिक रूपमा थाहा पाए अनुसार हामी दुवै जना सँगै आएकाले सँगै थपिएको रे । कस्तो केटाकेटी निर्णय ? संस्थागत काममा त्यस्तो नहुनुपर्ने हो । तर भइदियो त्यस्तै । के हो, के हो ? भगवान् नै जानोस् ।
केही दिन साह्रै दिक्क लाग्यो । ठुलो जागिर खान आएको मान्छे । काम सन्तोजनक नभएको भनेर एक वर्षपछि जागिरबाटै हटाइदियो भने ? कताकति डर पनि लाग्न थालेको थियो । भइरहेको जागिर पनि छोडिसकिएको थियो । बेला बेला पश्चाताप लागे जस्तो पनि हुन्थ्यो । तर त्यस्तो केही नभएर अर्को वर्ष स्थायी नियुक्ति पत्र हात प¥यो । संयोगले स्थायी भएको चार वर्षमा नै आठौँ तहमा बढुवा भएर सहसम्पादक भएको थिएँ ।
विसं २०६२ पछि भने मधुपर्कमा पनि ठुलै परिवर्तन आयो । राजा ज्ञानेन्द्रको सरकार थियो । त्यही बेला संस्थानको विनियमावलीविपरीत हुने गरी उदय निरौला मधुपर्कमा सम्पादक बनेर आउनुभयो । यसअघि गोरखापत्र र राइजिङ नेपाल दैनिकमा संस्थान बाहिरबाट सम्पादकको राजनीतिक नियुक्ति हुने गरेको थियो । तर मधुपर्कलगायत कुनै पनि मासिक प्रकाशनमा बाहिरबाट सम्पादक नियुक्ति हुने गरेको थिएन । त्यस्तो व्यवस्था नै नभएको ठाउँमा आउन सक्ने मान्छे । अलि ठुलै ठाउँतिर जानुभएको भए सुविधा र सम्मान पनि पक्कै बढी नै हुन्थ्यो । किन व्यवस्था नै नभएको ठाउँमा यस्तो मोह राखेको होला ? मधुपर्कमा आउने जति अधिकांशको यस्तै जिज्ञासा हुने गर्दथ्यो ।
उहाँको नाम विसं २०६२ जेठ अङ्कदेखि मधुपर्कको सम्पादकमा छापिएको थियो । वैशाख अङ्कसम्म कपिल घिमिरे नै सम्पादक हुनुहुन्थ्यो । त्यस समय इन्दिरा प्रसाईं संस्थानको कार्यकारी अध्यक्ष हुनुहुन्थ्यो । उहाँलाई ल्याउने पु-याउने व्यवस्था पत्रिका बोक्ने गाडीमा गरिएको थियो । उहाँको नाम सम्पादकमा २०६३ वैशाख अङ्कसम्म छापियो । त्यसबिचमा एक महिना जति अस्वस्थ भएर बिदामा बस्नुभएका थियो । अफिस आउन थाल्नुभएपछि कार्यकारी अध्यक्ष कहाँ विभागीय प्रमुखहरूको नियमित बैठक भएको थियो । बैठकमा मलाई पनि आमन्त्रित गर्ने गरिएको थियो । त्यही बैठकमा कार्यकारी अध्यक्षज्यूले ‘तपाईं अबदेखि हप्तामा एक पटक मात्र आउनुभए हुन्छ । तपाईंलाई ल्याउन पु¥याउन पनि गाह्रो छ । आखिर सबै काम श्रीओमजीले गरिहाल्नु हुन्छ’ भनेर उदयजीलाई भन्नुभयो । संयोगले राजाकै शासनमा संस्थानको व्यवस्थापक परिवर्तन भएर धु्रवकुमार देउजा आउनुभयो । लगत्तै मेरो सरुवा गोरखापत्र दैनिकमा भयो ।
उदय निरौला सम्पादकबाट हटाइएपछि लक्ष्मीधर गुरागाईं सम्पादक भएर आउनुभो । उहाँले पनि छ अङ्क मात्र निकाल्न पाउनुभोे । २०६३ मङ्सिरदेखि २०६४ असारसम्म उद्धव उपाध्यायको सम्पादकत्वमा म नायब कार्यकारी सम्पादक भएर काम गरिरहेको थिएँ । अकस्मात् उहाँलाई मुना मासिकको सम्पादकमा सरुवा गरियो । मधुपर्क सम्पादकविहीन भएर पाँच अङ्क मैले नै मधुपर्कको प्रकाशन गर्नुप¥यो । पहिले विभागीय प्रमुख खाली हुनासाथ कसैलाई सरुवा गरिहाल्ने वा त्यहीँ भएकामध्ये वरिष्ठलाई निमित्त दिने चलन थियो । त्यसअघिसम्म बिनासम्पादक संस्थानको कुनै प्रकाशन भएको मैले थाहा पाएको थिइनँ ।
यसरी माथिल्लो ठाउँ खाली गरिनुको कारण पछि पो थाहा भयो । उद्धव दाइको सरुवा त योजनाबद्ध रूपमा गरिएको रहेछ । मलाई निमित्त सम्पादक बनाउने तर केही सर्तहरू पूरा गर्ने गरी । पटक पटक आएको प्रलोभनसहितको प्रस्तावलाई मैले पूरा गर्न सकिनँ । त्यसपछि व्यवस्थापन र समर्थकहरूबाट पूरै असहयोग हुनथाल्यो । जागिर नै निकै असहज हुन थालेपछि बेतलबी बिदा लिएर छ महिनाका लागि म अमेरिका गएको थिएँ ।
२०६४ साउन १ गतेदेखि मधुपर्कमा निमित्त सम्पादकको जिम्मेवारी पाएँ । मधुपर्कमा झन्डै १६ वर्ष काम गरेको अनुभवपछि सम्पादकीय नेतृत्व गर्ने जिम्मेवारी पाएको थिएँ । सम्पादक भएको पहिलो अङ्कलाई नै भ हास्यव्यङ्ग्य अङ्क (२०६६ भदौ) को रूपमा निकाल्न सफल भयौँ । त्यसको दुई महिनापछि अर्थात् कात्तिकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवार्षिकी विशेषाङ्क प्रकाशित ग¥यौँ । जुन शतवार्षिकीको सबैभन्दा पहिलो विशेषाङ्क बन्न सक्यो । साहित्यिक बजारमा निकै चर्चाको विषय पनि बन्यो र थप पत्रिकाको अनुरोध आउन थालेपछि पुनः प्रकाशन समेत भयो । यो मधुपर्कको इतिहासमा दोह¥याएर छाप्नुपरेको पहिलो र एक मात्र विशेषाङ्क बनेको छ ।
त्यसै गरेर २०६६ पुसमा रमेश विकल अङ्क, २०६७ जेठमा आत्मपरक निबन्ध विशेषाङ्क, भदौमा कृष्णचन्द्रसिंह प्रधान अङ्क र माघमा मधुपर्कको ५०० औँ पूर्णाङ्क माघमा प्रकाशित ग¥यौँ । जुन ३२० पृष्ठको थियो । त्यसमा २०४३ देखि २०५९ सम्म मधुपर्कमा प्रकाशित भएका रचना र रचनाकारको अनुक्रमणिका समेत समावेश गरिएको थियो । यो पनि मधुपर्कको अहिलेसम्मकै सबैभन्दा धेरै पृष्ठ भएको विशेषाङ्क भएको छ । त्यसै गरी फागुनमा गोविन्दबहादुर मल्ल गोठाले अङ्क र २०६८ जेठमा डाइमनशमशेर राणा अङ्क प्रकाशित गरेका थियौँ ।
फेरि सरकार र व्यवस्थापन परिवर्तन भयो । यसरी परिवर्तन हुनासाथ काम कसले कस्तो गरेको छ भन्दा पनि आफ्ना मान्छेलाई सकेसम्म अवसर दिने परम्परा नै बनेको थियो । कार्यकारी अध्यक्ष बनेर साहित्यिक मित्र हरिगोविन्द लुइँटेल आउनुभयो । उहाँले मलाई युवामञ्चमा सम्पादक कृष्ण श्रेष्ठको अन्तर्गतमा रहने गरी सरुवा गरिदिनुभयो र वसन्तजीलाई मधुपर्कमा सम्पादक बनाउनुभयो । संस्थानको विनियमावलीमा वरिष्ठ हुँदा हुँदै कनिष्ठलाई निमित्त दिन पाइँदैन थियो । त्यसको पूर्ण उल्लङ्घन गरिएको थियो ।
मित्र प्रकाश सायमीको स्रोत दिएर सबैभन्दा पहिला किशोर पहाडीले पेन लभर्स नेपालको पेजमा समाचार प्रकाशित गर्नुभयो । त्यसमा सयौँ लेखकहरूले विरोध गर्दै प्रतिव्रिmया लेखे । मेरो फेसबुकमा पनि व्यवस्थापनको विरोध गरेका थुप्रै टिप्पणीहरू आएका थिए । जय छाङ्छा त्यतिबेला परराष्ट्र सेवामा कतारमा हुनुहुन्थ्यो । चासो दिएर उहाँलगायत देशविदेशका धेरै जनाले फोन गर्नुभयो । अग्रज स्रष्टाहरू कमल दीक्षित, परशु प्रधानहरूले फोन गरेर आपत्ति जनाउनुभयो । परशु दाइले त मलाई मधुपर्क सम्मान दिएकाले तपाईंलाई सारिएको हो भने म फिर्ता गरिदिन्छु समेत भन्नुभयो । गीतकार तथा निबन्धकार नरेन्द्रराज प्रसाईंले भने यो सरुवा तपाईंको मूल्याङ्कनका लागि यो ठुलो अवसर बन्ने छ भन्नुभएको थियो । भदौ अङ्कको मधुपर्कमा मेरो नाम नदेखेपछि सबैभन्दा पहिला चित्तरञ्जन नेपालीले फोन गरेर चासो राख्नुभयो । त्यसपछि धेरै लेखकको जिज्ञासाको जवाफ दिनुपरेको थियो । यतिसम्म कि लुइँटेलजीले जुन पार्टीबाट संस्थानमा जागिर खानुभएको थियो त्यही पार्टीका स्रष्टाहरूले पनि विरोध गरेका थिए । कतिपय लेखकहरू मधुपर्कमा सरुवा गराउनलाई डेलिगेसन आउने पनि कुरा गरेका थिए ।
संस्थान भवनमा मधुपर्कको कार्यालय दुई तलामाथि जाँदा पहिला युवामञ्चको कार्यालय आउँथ्यो । मलाई त्यहाँ बसिरहेको देखेपछि मधुपर्क त यता सरेछ भन्दै धेरै लेखकहरू भित्र पस्नुहुन्थ्यो । २०६९ मा १० औँ तहका लागि एक जना कार्यकारी सम्पादकको आन्तरिक बढुवाको परीक्षा भएको थियो । परीक्षामा हामी चार जना सहभागी थियौँ र चारै जनाले एउटै टेबुलको वरिपरि बसेर परीक्षा दिएका थियौँ । लिखित परीक्षाको नतिजा २०७० वैशाख ३० गतेको निर्णय अनुसार मेरो नाम एक नम्बरमा र कमल रिजालको नाम दोस्रो नम्बरमा निस्कियो । त्यही सूचनामा अन्तर्वार्ताका लागि २०७० जेठ १० गतेको मिति पनि तोकिएको थियो । संयोगले केही समयपछि कमलजी फाइल बढुवामा पर्नुभयो । त्यसपछि म स्वतः बढुवा हुनेमा ढुक्क थिएँ ।
२०७० वैशाख ३० गते नतिजासमेत प्रकाशित भइसकेको परीक्षा रद्द गर्दै संस्थानले २०७० जेठ १० गते पुनः परीक्षा हुने सूचना प्रकाशित ग¥यो । मैले न्यायका लागि तथ्य र प्रमाणसहित पहिलेको निर्णय कायम हुनुपर्ने माग राख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संस्थान सञ्चालक समितिमा निवेदन दिएँ । तर कतैबाट केही पनि सुनुवाइ भएन ।
पुनः परीक्षा हुन तीन दिन मात्र बाँकी थियोे । युवामञ्चका सम्पादक कृष्ण श्रेष्ठ दाइले मलाई परीक्षा दिन भन्नुभयो । मैले दिएर के गर्नु दाइ फेरि नाम निस्कियो भने अर्को षड्यन्त्र नहोला भन्न सकिन्छ र ? उहाँले भन्नुभयो, त्यो त भन्न सक्दिन तर तपार्इंले परीक्षा नदिँदा तपाईंलाई दुःख दिनेहरूलाई सहयोग गरेको जस्तो चाहिँ पक्का हुन्छ । मलाई ठिक हो भन्ने लाग्यो र फेरि परीक्षा दिएँ । नभन्दै फेरि पनि एक नम्बरमा नै मेरै नाम निस्कियो । त्यसपछि भने खासै केही भएन वा हुन सकेन जस्तो लाग्छ । त्यसपछि मलाई बढुवाको पत्र दिँदा मधुपर्कमा सम्पादकको जिम्मेवारी दिइएको थियो । रमाइलो के भयो भने मलाई हटाएर सम्पादक बन्नुभएका मित्र दुई अङ्कसम्म नाम रहने गरी मधुपर्कमा मेरै अन्तर्गत बस्नुभयो ।