• २० असार २०८१, बिहिबार

डोल्पाबाट छुटेको यात्रु बस छलगाड खोलामा फस्यो, ३४ यात्रु सकुशल

blog

छलगाड खोलामा फसेको गाडी । तस्बिर सौजन्य : पूर्ण कुमार

राजु लामिछाने

रुकुमपश्चिम, असार १८ गते । डोल्पाको सदरमुकाम दुनैबाट नेपालगञ्जका लागि छुटेको रात्रिकालीन बस मङ्गलबार छलगाड खोलामा आएको बाढीमा फसेको छ । ना ख १७९८ नम्बरको यात्रुवाहक बस डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित छलगाड खोलामा आएको बाढीमा फसेको हो । 

त्रिपुराकोट प्रहरी चौकीका प्रहरी नायब निरीक्षक रमेशबहादुर सिंहका अनुसार ३४ जना यात्रु, खसीबोका र खाद्य सामग्री बोकेको बस खोलामा फसेको हो । गाडी खोलामा अड्किए लगत्तै प्रहरी र स्थानीय मिलेर सबै यात्रुहरुको सकुशल उद्धार गरेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार गाडीमा ३४ जना यात्रु रहेका थिए । गाडीको पछाडिको डिक्कीमा रहेको एउटा खसी, तीन बोरा दाल, छतमा रहेका ५० थान तरकारीका क्यारेट र यात्रुका केही झोला भने खोलाले बगाएको उहाँले बताउनुभयो ।


सुरुमा पानीको बहाव कम भएकोले चालकले खोलामा गाडी हालेको तर माथिल्लो लेकतर्फबाट एक्कासि ढुङ्गा, माटोसहितको बाढी आउँदा गाडी फसेको उहाँको जनाउनुभयो । खोलामा पानीको बहाव धेरै भएकोले गाडीलाई बगाउनबाट जोगाउन बलियो डोरीले खोला किनारको ढुङ्गामा बाँधिएको समेत सिंहले जानकारी दिनुभयो । 

उक्त स्थानमा सोमबार पनि सोही गाडी फसेको थियो । जेसिबीको प्रयोग मार्फत तानिएको गाडी नेपालगन्जतर्फ यात्रु लिएर फर्कँदै गर्दा फसेको हो । मंगलबार रातभर गाडी खोलामै रहने र पानीको बहाव कम भएमा जेसिबी प्रयोग गरेर निकालिको छ ।