गुणबहादुर रोका
सुलीकोट (गोरखा), माघ १ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोरखा जिल्लामा रहेका केही मतदान स्थल अझै पनि सडक सञ्जालको पहुँच बाहिर छन् । जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार जिल्लाभर तोकिएका २२५ मतदान स्थलमध्ये २३ वटा हिमालपारिको चुमनुब्री गाउँपालिकाभित्र छन् भने एउटा धार्चे गाउँपालिकामा पर्दछ ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका अधिकांश मतदान स्थल हिमालपारिका दुर्गम बस्तीमा पर्छन् । जिल्ला निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रविलाल सुवेदीले भन्नुभयो, “दुर्गम निर्वाचन केन्द्रमा पुग्न निर्वाचन कर्मचारी र सुरक्षाकर्मीलाई कम्तीमा तीनदेखि चार दिनसम्म पैदल हिँड्नु पर्ने बाध्यता रहेको छ ।”
गोरखाको सबैभन्दा टाढा चुमनुब्री गाउँपालिका–१, साम्दो आधारभूत विद्यालय मतदान केन्द्र रहेको छ भने सडक पुगेको चुमनुब्री–३, पाङसिङबाट उक्त केन्द्रसम्म पुग्न चार दिनसम्म पैदलयात्रा गर्नु पर्छ तथा सोही वडाको गौरीशङ्कर आधारभूत विद्यालय र वडा नं. ७ को छुलेनीले आधारभूत विद्यालय मतदान केन्द्र पनि तीन दिनको पैदल दुरीमा रहेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । चुमनुब्री–२ को वडा कार्यालय भवन स्यो केन्द्र र सामुदायिक भवन ल्हो केन्द्र, वडा नं. ७ को बुद्ध आधारभूत विद्यालय र छेकम आधारभूत विद्यालय केन्द्रसम्म दुई दिन पैदल हिँड्नु पर्छ । वडा नं. ४ को प्रोक, छाक, नाम्रुङ र क्वाकका केन्द्रसम्म पनि सडक पुगेको स्थानबाट दुई दिनको पैदलयात्रा आवश्यक पर्छ । केही केन्द्रमा भने मोटर बाटोबाट ओर्लेर एक दिन वा केही घण्टासम्म पैदल हिँड्नु पर्ने अवस्था रहेको जिल्ला निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी सुवेदीको भनाइ छ ।
धार्चे गाउँपालिका–१, हुल्चुकको मतदान केन्द्रमा सडक निर्माण भए पनि पुल नहुँदा सवारी साधन सञ्चालन हुन नसकेकाले सडकबाट करिब दुई घण्टा पैदल हिँडेपछि मात्र केन्द्र पुगिने बताइएको छ । दुर्गम मतदान स्थलबाट मतपेटिका सुरक्षित रूपमा ओसार्न विगतका निर्वाचनमा हेलिकोप्टर प्रयोग हुँदै आएको थियो । यही अभ्यासलाई निरन्तरता दिन यस पटक पनि हेलिकाेप्टरको व्यवस्था गर्ने पहल भइरहेको गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले जानकारी दिनु भयो । उत्तरी गोरखामा भौगोलिक कठिनाइबिच पनि निर्वाचनलाई निष्पक्ष र सुरक्षित बनाउन सबै तयारी अघि बढाइएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।