• २० असार २०८१, बिहिबार

‘गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

blog

तस्बिर:रासस

मोरङ, असार १८ गते । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस र नेकपा (एमाले)ले सहकार्य गरेको बताउनुभएको छ । 

नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटमा उहाँले दुई ठूला पार्टीले अरु दललाई साथमा लिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बल पुग्ने गरी संविधान संशोधनको प्रयास गर्ने बताउनुभयो । पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका निधिले देशमा रहेका समस्या समाधानका लागि नयाँ गठबन्धनमा अरु दलहरुसमेत समावेश गरेर सहमति र सहकार्यलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो । 

उहाँले भन्नुभयो, “राजनीतिक अस्थितरता र जनतामा रहेको निराशा अन्त्यका लागि धेरै काम गर्नुपर्ने आवश्यकता छ । प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक प्रणाली राख्ने वा नराख्ने विषयमा छलफल सुरु भएको छ, त्यसलाई बहृत छलफल गरी निष्कर्षमा पुउनुपर्ने आवश्यकता छ । संविधान संशोधन गरी धेरै विषयलाई थप बलियो बनाउन दलहरुबिच सहकार्य जारी राख्नुपर्छ ।” रासस