काठमाडौँ, असार १८ गते । नौरङ्गी डाँफे नेपालको राष्ट्रिय पन्छी हो तर पछिल्लो समय अत्यधिक सिकारका कारण डाँफे सङ्कटमा परेको छ ।
डाँफेलाई नेपालको राष्ट्रिय पन्छीका रूपमा विसं २०१९ को संविधानमा पहिलो पटक उल्लेख गरिएको हो । नेपालको संविधान २०१९ को धारा ६ (२) मा नेपालको राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ सिम्रिक, राष्ट्रिय जनावर गाई र राष्ट्रिय पन्छी डाँफे भनेर उल्लेख गरिएको थियो ।
राष्ट्रिय चिह्नहरू छनोट गर्ने सिलसिला भने संविधान निर्माण गर्नुअघि सुरु भएको थियो । तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन सुरु गरेसँगै नयाँ संविधान बनाउँदा नेपालको राष्ट्रिय फूल, जनावर, रङ र राष्ट्रिय पन्छी तोक्न बालकृष्ण समलाई संयोजक तोकिएको थियो ।
त्यसबेला फरक फरक मापदण्ड बनाएर छनोट गर्ने विधि अपनाइएको वरिष्ठ जैविक विविधताविद् डा. तीर्थबहादुर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार डाँफेको नौरङ्गी रङ असाध्यै सुन्दर मानिन्छ । राजाले लगाउने श्रीपेच जस्तो कल्की भएको अनि हिमालको शिर जस्तो पनि देखिने भएकै कारण डाँफे छनोट भएको हो । तराईमा पाइने अर्को सुन्दर चरा मयूरलाई राष्ट्रिय पन्छी बनाउने कुरा पनि नचलेको होइन तर त्यसअघि नै भारतले आफ्नो राष्ट्रिय पन्छी घोषणा गरिसकेकाले मिलेन ।
उहाँका अनुसार डाँफेको प्वाँखमा पाइने नौवटा रङले नेपालको भाषिक, धार्मिक जातीय, सामाजिक तथा सांस्कृतिक विविधताको प्रतिनिधित्व गर्ने विषयलाई पनि संयोजक समले महत्वका साथ लिनुभएको पाइन्छ ।
संरक्षित क्षेत्रमा सीमित
नेपालको हिमरेखाभन्दा तल्लो क्षेत्रमा बसोबास गर्ने डाँफेको सङ्ख्या घट्दै गएकाले अद्यावधिक गर्न थप अध्ययन गर्नुपर्ने विज्ञहरूले औँल्याएका छन् । पहिले पहिले अन्नपूर्ण पदमार्ग, सगरमाथा पदमार्गलगायतका बाहिरी क्षेत्रमा प्रशस्त देखिने डाँफे अचेल संरक्षित क्षेत्रभित्र मात्र सीमित हुने अवस्थामा पुगेको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताउनुभयो ।
डाँफे सुन्दर चरा हो, जसलाई नेपालको आफ्नो नाम डाँफेबाटै चिनाउने पहल भएको थियो । अङ्ग्रेजीमा हिमालयन मुनाल भनेर गरिएको नामकरणमा बरालसहितका चराविद्ले आपत्ति जनाएर नाम डाँफे नै भन्न र लेख्न थालिएको छ । मुनाल नामको अर्को छुट्टै चरा नेपालमै पाइन्छ ।
राष्ट्रिय चरा भए पनि कुल सङ्ख्याबारे यकिन गर्न नसकिएको बराल औँल्याउनुहुन्छ । उहाँले भन्नुभयो, “चोरी सिकार मुख्य चुनौती हो, धेरै संरक्षित क्षेत्रभन्दा बाहिर अचेल डाँफे देख्न मुस्किल छ ।” कहिलेकाहीँ देखिहाल्यो भने पनि भागिहाल्छ । यो भनेको मानिसकै कारण डाँफे हराउँदै छ भन्ने हो ।
हिमाली भेगमा यसलाई कुखुरा जसरी सिकार गरेर खाने गरेको पाइएको उहाँले जानकारी दिनुभयो । डाँफे समात्न जाल र पासो थाप्ने गरिएको पाइन्छ । त्यस्तै सिधै बन्दुक हानेर मारिएको पाइन्छ ।
उहाँका अनुसार हिमाली जिल्लामा यार्चागुम्बा टिप्ने सिजन डाँफेको कालको सिजन हो । विद्यालयसमेत बन्द गरेर मानिसको ठुलो हुल यार्चागुम्बा टिप्न जाने गर्छन् । उहाँले थप्नुभयो, “लेकको त्यो चिसोमा जे भेट्यो त्यही मारेर खान्छन्, डाँफे, मुनाल, च्याखुरा, हिउँ कुखुरा केही छाड्दैनन् ।”
त्यो समय भनेको हिमाली भेगमा डाँफेलगायतका चराले बच्चा कोरल्ने समय हो । ओथारो बसेको डाँफेका भालेपोथी बच्चा र अन्डा जोगाउन कसैले आक्रमण गरिहालेमा गुँड छाड्दैनन् र सिकारीको चपेटामा बढी पर्ने गरेको बराल बताउनुहुन्छ ।
चराविद्हरूका अनुसार डाँफे अत्यन्त लजालु चरा हो । यसको बच्चा कोरल्ने समय २९ दिनसम्म हुने गर्छ । ढोरपाटन सिकार आरक्ष बनेपछि सो क्षेत्रभित्र डाँफेको सङ्ख्या बढे पनि बाहिर कम भएको छ । यसको सुन्दर प्वाँख हिमाली भेगको धार्मिक तथा सांस्कारिक परम्परामा बढी प्रयोग हुने गरेको पाइन्छ । जसले यसलाई खतराको सूचीनजिक पु¥याएको दाबी संरक्षणकर्मीको छ । बरालका अनुसार घाँसे मैदान र बुट्यानको आडमा भिरालो र चट्टानयुक्त भिरमा डाँफेको गुँड हुन्छ । एउटा भालेसँग धेरै पोथी डाँफेको संसर्ग हुने गर्छ । झ्याउ, बिरुवाका जरा, पखेरामा पाइने किराका लार्भा डाँफेका मनपर्ने खानेकुरा हुन् ।
वनमा पाकेको काफल, ऐँसेलु आदि पनि यसले खाने गर्छ । यो चरा वर्षामा दुई हजार आठ सय मिटरदेखि चार हजार ७५० मिटरसम्मको उचाइमा देख्न पाइन्छ । त्यस्तै हिउँदको समयमा दुई हजार पाँच सय मिटरसम्म तल झरेर बस्ने गर्छ । नेपालका सबै हिमाली संरक्षित क्षेत्र मकालु वरुण, सगरमाथा, लाङटाङ, सेफोक्सुन्डो, खप्तड र रारा राष्ट्रिय निकुञ्ज, ढोरपाटन सिकार आरक्ष, कञ्चनजङ्घा, गौरीशङ्कर, मनास्लु, अन्नपूर्ण र अपिनाम्पा संरक्षण क्षेत्र डाँफेको प्रमुख बासस्थान हो । डाँफेको नेपालमा अनुमानित सङ्ख्या करिब पाँच हजार आसपास मानिएको छ ।