सीता शर्मा
स्वदेशमा रोजगारी केही छैन भनेर विदेश जान मरिहत्ते गर्नेका लागि ज्ञानबहादुर बिसुराल गतिलो उदाहरण हुनुहुन्छ । करिब १३ वर्षको रोजगारीपछि व्यवसायमा आउनुभएका बिसुराल चितवनको कुखुरापालन (पोल्ट्री) क्षेत्रको एउटा परिचित नाम हो । विद्यालय तहमा पढ्दादेखि नै अरूको कुखुराको चल्ला उत्पादन फार्ममा काम गरेर सिकेको सीपबाट बिसुराल यो स्थानमा पुग्नु भएको हो ।
बिसुराल यो स्थानमा सजिलै कहाँ पुग्नुभएको हो र ! निरन्तरता र धर्यताले मात्र उहाँ यस क्षेत्रको अब्बल उद्यमी बन्न सफल हुनुभएको हो । पुख्र्यौली पेसा कृषि भए पनि युवा उमेरदेखि नै बिसुराल उद्योगतर्फ आकर्षित हुनुभयो । विशेषगरी १३ वर्षको जागिरे जीवनको अनुभव पनि उद्योगका लागि सहयोगी भएको महसुस उहाँले गर्नुभएको छ । चितवनमा रहेको शिखर पोल्ट्री विल्डिङ प्रालि नामको कुखुराका चल्ला उत्पादन गर्ने ह्याचरी उद्योग मात्र होइन, उहाँको कुखुराको दाना उद्योग पनि छ । उहाँले भन्नुभयो, ‘‘जागिर खाँदा मेरा लागि मात्रै हुन्थ्यो, व्यवसायले धेरैका लागि रोजगारी दिएको छ ।’’
२०६१ सालमा तीन जना युवा साथमा लिएर उहाँले स्थापना गर्नुभएको शिखर पोल्ट्री अहिले देशकै राम्रो ह्याचरी फार्मका रूपमा चिनिएको छ । सानोतिनो लगानी गरेर स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच भएका उहाँसहित चार युवाको २५ लाख रुपियाँको लगानीबाट सुरु भएको यो व्यवसाय अहिले ६० करोड रुपियाँभन्दा माथि पुगेको छ । कुनै बेला मासिक एक हजार ५०० रुपियाँको तलबमा कुखुराकै फार्ममा काम गर्नुभएका बिसुराल अहिले करोडौँको मालिक मात्रै हुनुभएको छैन, आफ्नो फार्ममा १०५ जनालाई प्रत्यक्ष रोजगारी पनि दिनुभएको छ ।
प्रतिसाता बोइलर (मासुका लागि प्रयोग हुने) कुखुरा एक लाख र लेस (अण्डा उत्पादन गर्ने) कुखुरा २५ हजार उहाँको फार्ममा उत्पादन हुँदै आएको छ । उत्पादित कुखुराका चल्ला पूर्वमा झापादेखि पश्चिममा सुर्खेतसम्म बिक्री हुँदै आएको छ । फार्म दाङमा पनि रहेको छ । अप्रत्यक्ष रूपमा हाम्रो फार्मसँग जोडिनेको सङ्ख्या हजारभन्दा बढी छ । साढे दुई दशकदेखि यस क्षेत्रमा निरन्तर लागिरहनु भएका विशुरालले भन्नुभयो, ‘‘काम गर्दा समस्या नआएको कहाँ हो र ! कैयौँ पटक ठूलै समस्या पनि आए तर कत्ति पनि विचलित नभइकन काम गरियो ।’’ समस्याले आत्तिने हो भने अहिले पनि १५ करोड रुपियाँ बैङ्कको ऋण छ । धैर्यता र लगनशीलता भएन भने जुनसुकै व्यवसायमा टिक्न सकिँदैन भन्ने उहाँको भोगाइबाट प्रष्ट हुन्छ ।
यस्तै, पढेलेखेका व्यक्तिले कृषि व्यवसाय गर्नुपर्छ भन्ने सोचको विकास नभएसम्म नेपालमा आयात नरोकिने अनुभव ओजस्वी एकीकृत कृषि फार्म प्रालिका सञ्चालक बाबुराम कार्कीको छ । कार्की त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागमा प्राध्यापन गर्नुुुहुन्छ तर उहाँलाई धेरैले दूध उत्पादकका रूपमा चिन्छन् ।
कृषि उद्यमीको अनुभवमा सरकारी नीति नियम पर्याप्त छन् । ती नीति नियम विश्वका विकसित देशका नक्कल गरेर बनाइएका छन् । सस्तो ब्याजमा ऋण पाउनेदेखि विविध शीर्षकमा अनुदान पाउनेसम्मका व्यवस्था नीतिमा छन् तर यसको लाभ वास्तविक किसानले लिन सकेका छैनन् ।
ओखलढुङ्गा स्थायी घर भई हाल काठमाडौँको सुन्दरीजलमा बसोवास गर्दै आउनुभएका कार्कीले सुरुमा घरायसी प्रयोजनका लागि परम्परागत तरिकारले तीनवटा गाई पाल्न्ुभएको थियो । गाईपालन उहाँको पुख्र्यौली पेसा पनि हो । गाईपालनमा भविष्य देखेर यसमै व्यावसायिक बन्ने सोच उहाँले बनाउनुभएको हो ।
‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेझैँ कार्कीले प्राध्यापन पेसासँगै आधुनिक प्रविधिबाट गाईपालन व्यवसाय सञ्चालन गर्नुभयो । काठमाडौँको सुन्दरीजलमा तीन वटा गाईबाट सुरु भएको फार्ममा अहिले तीन सयभन्दा बढी गाई छन् । प्राध्यापन पेसामा सिकेको ज्ञान÷सीपलाई गाई फार्ममार्फत देखाउन सहज भएको अनुभव कार्कीको छ । एक दशकदेखि सुरु भएको कार्कीको गाई फार्ममा अहिले २८ जनाले आवाससहित रोजगारी पाएका छन । उहाँको फार्ममा काम गर्ने २८ जनामा गोठको सरसफाइ गर्नेदेखि पशु चिकित्सकसम्म छन् । कार्कीको गाई फार्मको सरसफाइ गर्नेले खान बस्नसहित मासिक १५ हजार रुपियाँ पाउँछन् भने पशु चिकित्सकले खानासहित मासिक एक लाख ६० हजार रूपियाँसम्म कमाउँछन् ।
गाई दुुहुन मेसिनको प्रयोग गरिने यस फार्मबाट दैनिक झन्डै दुई हजार लिटर दूध उत्पादन हुँदै आएको छ । फार्ममा उत्पादन भएको दूध उपत्यकाका बजारमा बिक्री हुँदै आएको छ । कार्कीको सानैदेखि उद्यम गर्नुपर्छ भन्ने लक्ष्य थियो । त्यसैले त प्राध्यापन पेसामा आबद्ध भए पनि आफ्नो लक्ष्यमा पुगेरै छाड्नु भयो ।
पुर्खाले गर्दै आएका पेसा–व्यवसायलाई निरन्तरता दिने प्रचलन नेपालमा छ । रोजगारीको अवस्था हेर्दा पनि शिक्षक तथा कर्मचारीका छोराछोरी आफ्नै आमाबाबुकै पेसामा धेरै छन् । पुख्र्यौली पेसालाई छाडेर उद्योगतर्फ लाग्ने युवा थोरै मात्र भेटिन्छन् । त्यसमध्ये एक हुनुहुन्छ– धुव्रबहादुर विश्वकर्मा । उहाँले बङ्गुर र माछापालनपछि बाख्रापालन व्यवसाय गर्नुभयो । आधुनिक तरिकाले बाख्राका पाठा उत्पादनमा लाग्नुभएका धादिङ, बेनीघाटका विश्वकर्माको पुख्र्यौली पेसा ठेक्कापट्टा हो तर अहिले उहाँले आफ्नो परिचय पशुपालन व्यवसायीका रूपमा बनाइसक्नु भयो । काठमाडौँ मोडेल कृषि फार्म तथा सेन्टर प्रालिका सञ्चालकका रूपमा उहाँ सबैमाझ परिचित हुनुहुन्छ ।
पछिल्लो समय विदेश गएर फर्किएकाहरू उद्योग–व्यवसायमा लाग्ने धेरै छन् । राष्ट्रिय किसान आयोगका अध्यक्ष डा.प्रेमप्रसाद दङ्गालको अनुभवमा युवामा पुरानो पेसालाई निरन्तरता दिनेभन्दा उद्यमी बन्ने आकाङ्क्षा बढ्दो छ । उहाँको विचारमा उद्योग गर्ने वातावरण सन्तोषजनक नभए पनि केही त गर्नै पर्छ भन्ने भावनाका साथ लाग्नेहरू धेरै छन् । विदेशमा गएर आर्जन गरेको लगानीले नेपालमा उद्योग खोल्ने क्रम पनि बढेको छ ।
विप्रेषणलाई उद्योगमा लगाउनुपर्छ भन्ने भावनाको विकास भएको र बैङ्कहरूले उद्योगलाई प्राथमिकतामा राखेर ऋण लगानी गर्न थालेपछि थप आकर्षण बढेको उहाँले बताउनु भयो । नेपालमा उद्योगको सम्भावना धेरै रहेको बताउँदै उहाँले विदेश जाने खर्चले त नेपालमै सानोतिनो उद्योग सुरु गर्न सकिने सुझाव दिनुभयो । उहाँको अनुुभवमा एकै पटक ठूलो प्रतिफल नखोजी सानोबाट सुुरु गर्ने हो भने नेपालमा उद्योग क्षेत्रको भविष्य उज्ज्वल छ । किसान आयोगले पनि हातमा सीप र जाँगर भएका युवालाई स्वदेशमै रोक्ने नीतिमा जोड दिँदै आएको छ ।
प्रचुर सम्भावना
आयोगका अध्यक्ष दङ्गालको विचारमा नेपालको हावापानी राम्रो भएकाले कृषि उत्पादनमा धेरै सम्भावना छ । बजारको समस्या नै छैन । त्यसो त जस्तोसुकै उद्यम वा व्यवसाय गरे पनि राम्रोसँग बुझेर गरे सफल भइन्छ । अरूको देखासिकीले मात्रै हुँदैन, व्यवसायमा ज्ञान, धैर्य, लगनशीलता र निरन्तरता चाहिन्छ । नेपालमा कृषि उत्पादनको क्षेत्रमा धेरै अवसर छ ।
विदेशमा बगाउने पसिना स्वदेशमै बगाउँछु भन्नेका लागि अवसर नै अवसर देख्नुहुन्छ पोल्ट्री व्यवसायी सङ्घका अध्यक्ष टीकाराम पोखरेल पनि । उहाँले कुखुराका चल्ला उत्पादन, कुखुराको दाना उत्पादन, अण्डा उत्पादन, बोइलर कुखुरा उत्पादन, दुग्ध उत्पादन, बाख्रा पालन, माछा एवं बङ्गुर पालन र तरकारीलगायतमा असाध्यै राम्रो सम्भावना देख्नुभएको छ । राज्यको नीतिमा स्पष्टता र युवामा स्वदेशमै केही गर्नुपर्छ भन्ने भावना भएमा कृषि उत्पादनमा देश आत्मनिर्भर हुन त्यति धेरै समस्या देख्नुहुन्न बाख्रा उत्पादनक व्यवसायी ध्रुवबहादुर विश्वकर्मा । उहाँको अनुभवमा नेपालमा उद्योग–व्यवसायको क्षेत्रमा काम गर्नेका लागि अहिलेसम्म कुनै प्रतिस्पर्धा नै छैन । अलिकति दिमाग प्रयोग गर्ने हो भने नेपालका हरेक ठाउँमा पैसै पैसा छ । राज्यका नीति नियमदेखि कर्मचारी संयन्त्र कृषिमैत्री हुने र युवा विदेश जानुको सट्टा यसमै रमाउने हो भने कृषिमा आत्मनिर्भर धेरै टाढाको विषय होइन ।
कृषि उद्यमीको अनुभवमा पनि सरकारी नीति नियम पर्याप्त छन् । ती नीति नियम विश्वका विकसित देशका नक्कल गरेर बनाइएका छन् । सस्तो ब्याजमा ऋण पाउनेदेखि विविध शीर्षकमा अनुदान पाउनेसम्मका व्यवस्था नीतिमा छन् तर यसको लाभ वास्तविक किसानले लिन सकेका छैनन् । कोही किसानले लिन चाहेमा पनि विचौलियाबिना सम्भव छैन । काठमाडौँ मोडेल कृषि फार्म तथा सेन्टर प्रालिका सञ्चालक धु्रवबहादुर विश्वकर्माको भोगाइमा विचौलियामैत्री सरकारी नीतिले पहुँच नभएका सोझा किसानले कृषि अनुदान लिएर काम गर्न सक्ने अवस्था छैन । ओजस्वी दुग्ध उत्पादक फार्मका सञ्चालनक बाबुराम कार्कीको अनुभवमा पनि देशको कृषि विकासमा केही गरौँ भन्नेका लागि सरकारी संयन्त्र नै बन्न सकेको छैन । संयन्त्र बनेको भए त उन्नत जातको बीउविजन, आधुनिक कृषि ज्ञानको अनुसन्धानमा लगानी हुन्थ्यो, खोइ केही देखिँदैन ।
‘कृषि अनुदान र सहुलियत ऋण लिनुप¥यो भने ‘प्रपोजल’ चाहिन्छ । आफ्नो नामसमेत राम्ररी लेख्न नसक्ने किसानले कसरी ‘प्रपोजल’ तयार गरेर ऋण वा अनुदान लिन सक्छन्’, उहाँले प्रतिप्रश्न गर्दै भन्नुभयो, ‘‘किसानको नीति बनाउने हाम्रा सरकारी कर्मचारीले युरोप र अमेरिकाको सिको गरेर किसानसँग ‘प्रपोजल’ माग्छन् । यस विषयमा सोच्नु पर्दैन ।’’ किसानको छोरा सचिव भएपछि हिजोका दिनमा बाबुबाजेले गरेका कृषि पेसा बिर्सेर युरोप र अमेरिकाको नीति नियमको नक्कल गरेर नेपालमा लागू गर्न खोज्नु हाम्रा नीतिका व्यावहारिक समस्या भएको प्राध्यापक कार्कीको पनि भनाइ छ । बेलाबेलामा बैङ्कको ब्याजदर अप्रत्याशित रूपमा बढ्नु अझै ठूलो समस्या हो । दूध, कुखुराका अण्डा र मासुुमा नेपाल आत्मनिर्भर छ । यस्ता वस्तुको आयातमा रोक लागाउनुपर्छ । यस्ता कार्यले देशमा साना तथा घरेलु हुँदै ठूला उद्योगको सम्भावना बढ्दै जान्छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो नौ महिनाको आयात र निर्यातको विवरणअनुसार ११ अर्ब रुपियाँभन्दा बढीको ताजा तथा सुकेका फलफूल आयात भयो । कुखुराको अण्डा, मासुमा आत्मनिर्भर भए पनि कुखुराको चल्ला र कुखुराले खाने दानामा आत्मनिर्भर हुन सकिएको छैन । दूधमा पनि नेपाल लगभग आत्मनिर्भर छ तर गाईभैँसीका लागि चाहिने दानाको कच्चा पदार्थ आयात गर्नुपर्छ । यस अवधिमा कुखुराको चल्ला मात्रै ९५ करोड रुपियाँ बराबरको आयात भयो । कुखुरा र गाईभैँसीलाई खुवाउने दानामा प्रयोग हुने मकै, गहुँ, भटमास, पिना पनि आयातमै भर पर्नुपर्छ । मकै १५ अर्ब पाँच करोड रुपियाँ र गहुँ पाँच अर्ब ३० करोड रुपियाँ बराबर आयात गरियो । पिना र भटमास पनि पनि ठूलै परिमाणमा आयात भयो ।
सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा कृषि तथा पशुपन्छीतर्फ ४५ अर्ब नौ करोड रुपियाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७÷७८ को तुलनामा यो बजेट तीन अर्ब ६९ करोड रुपियाँ बढी हो । दूध, तरकारी, फलफूल, माछा, मासुलगायतका नाशवान् उपभोग्य वस्तुको उत्पादनस्थलदेखि नजिकको बजार केन्द्रसम्म सहज आपूर्ति गर्न लाग्ने ढुवानी भाडामा २५ प्रतिशत, किसानका लागि धानको बीउ खरिदमा स्थानीय तहमार्फत ५० प्रतिशत अनुदान उपलब्ध गराइने विषय बजेटमै समेटिएको छ । बजेटमा पकेट क्षेत्रमा कम्बाइन्ड हार्भेस्टर, पावर टिलर, कल्टिभेटर, रोटाभेटर, हारोलगायत उपकरण खरिद गर्न स्थानीय तहलाई ससर्त अनुदान उपलब्ध गराइने व्यवस्था पनि छ तर बजेटमा आएका विषय कार्यान्वयन तहमा असाध्यै कमजोर रहेको यसका विज्ञ औँल्याउँछन् ।
नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान एकतिहाइभन्दा बढी रहेको तथा दुईतिहाइभन्दा बढी जनता कृषिमा आश्रित रहेको तथ्याङ्क समयसमयमा सार्वजनिक भएकै छन् । आर्थिक सर्वेक्षण २०७७÷०७८ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५ दशमलव ८ रहने अनुमान गरिएको थियो भने चालू आवमा कृषि क्षेत्रको जीडीपीमा योगदान २७ प्रतिशत बराबर रहेको राष्ट्रिय तथ्याङ्क विभागले उल्लेख गरेको छ ।
मुलुकको आर्थिक क्षेत्रमा कृषिको योगदान उल्लेख्य रहे पनि अझै कुल कृषियोग्य जमिनमध्ये धेरै बाँझो छ । यस्ता कृषियोग्य भू–भागको थोरै मात्र सही र व्यवस्थित उपयोग गर्नसके कृषिजन्य उपभोग्य वस्तुमा आत्मनिर्भर हुन सकिन्छ । यस्ता उपभोग्य वस्तु आयात गरी अर्बौं रकम विदेशिनबाट जोगाउन सकिन्छ । निर्वाहमुखी खेतीका कारण उल्लेख्य मात्रामा कृषिउपज उत्पादन हुन नसक्दा विप्रेषणबाट आयात भएको ठूलो धनराशि विदेशिएको छ । कुल खेतीयोग्य जमिनमध्ये सात प्रतिशत जमिन बाँझो छ । झन्डै ६० अर्ब रुपियाँ बराबरको खाद्यान्न तथा १८ लाख किलो सुर्ती तथा सुर्तीजन्य पदार्थ आयात भएको छ । यसले देशभित्र केही पनि उत्पादन हुँदैन भन्ने सन्देश गएको छ । दैनिक दुई हजारको सङ्ख्यामा नेपाली युवा रोजगारीको खोजीमा विदेशिने गरेका छन् । पछिल्लो तथ्याङ्कअनुसार आधा करोड ऊर्जाशील जनशक्ति विदेशमा छन् ।