• १९ असार २०८१, बुधबार

‘बालबालिकालाई मोबाइल हैन, माया दिऊँ’

blog

काठमाडौं, असार १७ गते । पछिल्लो समय बालबालिकामा मोबाइल लगायत विद्युतीय उपकरणको प्रयोग बढ्दो रहेको छ । आफ्नो सजिलोका लागि आमाबुबाले बालबालिकालाई मोबाइल फोनलगायत उपकरण दिएर भुलाउँदा स्वास्थ्यमा नकारात्मक असर परिरहेको चिकित्सकको भनाइ छ ।

आनन्द वन अस्पतालका बालरोग विशेषज्ञ डा. कालेबकुमार बुढाले मोबाइल देखाउँदा  बालबालिकालाई एकछिन शान्त भए पनि लामो समय देखाउँदा मानसिक तथा शारीरिक असर पुग्ने बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “आजभोलि सबैको हातमा मोबाइल छ । बालबालिका झगडा गरेमा शान्त बनाउन मोबाइल दिने गर्छन् । लामो समय मोबाइल देखाउँदा उनीहरूमा दीर्घ स्वास्थ्य समस्या निम्त्याउँछ ।” 

सजिलो र छिटोका लागि बालबालिकालाई मोबाइल देखाएर नखुवाउन उहाँको सुझाव छ । मोबाइल देखाएर खाना खुवाउँदा के खानेकुरा खाइरहेको छु, कस्तो स्वादको खानेकुरा खाइरहेको छु भन्ने थाहा पाउँदैनन्, कति आवश्यक छ भन्ने थाहा हुँदैन । जसकारण मोटोपन लगायतका पोषणसम्बन्धी समस्या, पाचन प्रणालीमा समस्या निम्तिने डा. बुढाको भनाइ छ । 

यस्तो गर्दा बच्चा ठुलो हुँदैजाँदा खान नमान्ने वा खाना राम्ररी नचपाई निल्ने समस्या निम्त्याउने हुँदा खाना खुवाउँदा सँगै बसेर रमाइला कुराकानी गर्दै खुवाउन उहाँको सुझाव छ । 

सामाजिक सञ्चालनमा आउने साना भिडियोले बालबालिकाका लागि हानिकारक हुने उहाँको भनाइ छ । उहाँका अनुसार त्यस्ता भिडियोले बालबालिकाको ध्यान केन्द्रित पार्न सक्ने क्षमता र सोच्ने क्षमतामा असर गर्छ । 

उहाँले भन्नुभयो, “लामो समय साना भिडियो हेर्दा धेरै खुसी हुँदा ब्रेनमा डोपमिन भन्ने तत्त्व बढ्ने गर्छ । जुन तत्त्व धेरै खुसी हुँदा बढ्ने गर्छ । त्यो तत्त्व लामो समय बढिरहेमा जे कारणले बढेको हो त्यसको लत लाग्ने गर्छ ।” 

उहाँका अनुसार कुनै पनि कुराको लत लागेका बालबालिका एकोहोरो हुने, रिसाउने, झर्किने, रुने, दोहोरो कुरा नगर्ने, निन्द्रा ढिलो लाग्ने, निन्द्रा पातलो हुने, निन्द्राबाट पटक पटक ब्युँझने, साथीभाइसँग घुलमिल हुन नसक्नेजस्ता समस्या निम्तिने गर्छ । 

उहाँका अनुसार अमेरिकन एकेडेमी अफ प्रियाडिक्सले दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई मोबाइल दिन नहुने बताउँदै आएको छ । दुई वर्षमाथिका बच्चालाई एकदेखि दुई घण्टा मोबाइल दिने त्योभन्दा बढी नदिन सुझाव दिएको छ । 

समयको परिधि लगाएर यस्ता सामग्री हेर्नुपर्छ भनेर आमाबुबाको निगरानीमा राखेर मोबाइल देखाउन डा. बुढाको सुझाव छ । बालबालिकालाई मोबाइल, टेलिभिजन देखाएर घरभित्र राख्नुभन्दा समय भएसम्म उनीहरूलाई बाहिरी वातावरणमा रमाइला, मन पर्ने खेल खेलाउन उहाँको सुझाव छ । 

बालबालिकालाई असल बनाउन जति समय र माया दिन सकियो बालबालिकाको मानसिक तथा शारीरिक विकासमा मद्दत पुग्ने उहाँको भनाइ छ । बालबालिकामा मोबाइलले कस्तो असर गर्छ भन्ने विषयमा केन्द्रित भई आनन्द वन अस्पतालका बालरोग विशेषज्ञ डा. कालेबकुमार बुढासँग गरिएको भिडियो संवाद:

भिडियोमाः केशब गुरुङ 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।