जीवराज भट्टराई
आजभन्दा साढे तीन दशकअघिको कुरो हो, शुक्रबारको दिन विद्यालय छुट्टी भएपछि बाहिरबाट त्यहाँ गएर बसेका हामी तीन जना शिक्षक जेलवाङ (रोल्पा)बाट डेढ घण्टाजति हिँडेर पुगिने मजिवाङ गाउँतिर हिँड्यौँ । जेलवाङ थपक्क बसेको समथर थियो भने मजिवाङ भिरालो पाखामा अवस्थित । त्यहाँ पुग्न नाकेधाराको उकालो चढ्नु पथ्र्यो । मजिवाङमा पहिले जेलवाङमै लामो समयसम्म शिक्षण गरेका र पछि आफ्नो गाउँकै प्राथमिक विद्यालयमा सरुवा भएर गएका शिक्षक चन्द्रबहादुर बुढाको घर थियो । त्यस क्षेत्रको ज्यादै सीमित शिक्षित व्यक्तिमध्येका एक, समान पेसाकर्मी र समाजका अगुवा चन्द्रबहादुरको धेरै दिनदेखिको हार्दिकतापूर्ण निमन्त्रणा मान्न हामी त्यतातिर गएका थियौँ ।
चन्द्रबहादुरका एक जना सहोदर भाइ (रामप्रसाद हो कि ?) हाम्रो विद्यालयका सातौँ कक्षाका विद्यार्थी थिए । ती शारीरिक हिसाबले असाध्यै लायक भएर पनि खै कसरी हो, उनको दाहिने हातको चोरीऔँलाको टुप्पो काटिएकाले अलिकति छोटो थियो । यही कारण ब्रिटिस सेनामा भर्ती हुन अयोग्य हुनेछु भन्ने कुराले उनी चिन्तित रहने गर्थे । ब्रिटिस सेनामा भर्ती हुन पाउने कुरालाई आफ्नो भाग्य र दुर्भाग्यको मानक बनाइने त्यो समय र समाजमा दुई जना दाजु; जो चन्द्रबहादुरका अरू भाइहरू थिए, ती ब्रिटिस सेनामा कार्यरत रहेछन् । यसका साथै उनीहरूका अरू नजिकका नातेदार पनि ब्रिटिस सेनामै रहेछन् । त्यसैले यो परिवार गाउँभरिमा तुलनात्मक रूपमा आर्थिक हिसाबले सबल पनि थियो । साँझ खानपिनसँगै चन्द्रबहादुरले ब्रिटिस सेनामा भएका आफ्ना दुई जना भाइ र जेठानका फोटाहरू हामीलाई देखाए । ती दिनहरूमा पारिवारिक भेटघाटका बेला त्यसरी फोटा हेर्ने चलन खुबै चलेको थियो । उनले दुई जना भाइको त फोटा मात्रै देखाए तर जेठान (विष्णु)का ब्रिटिस सेनामा देखाएका वीरताका अनेक कथा पनि सुनाए । उनले बताएअनुसार जेठानले गरेका ती पराक्रम कतिपय स्वाभाविक र कति अतिरञ्जनापूर्ण किंवदन्तीजस्ता पनि थिए । राति अबेरसम्म उनका त्यस्ता गफ सुनिरहँदा चन्द्रबहादुरले आफ्ना सहोदर भाइहरूबारे केही नभनी जेठानको अति प्रशंसा गरेकोमा मलाई कताकता चित्त बुझेको थिएन तर पनि उनकै पाहुना भएको बेलामा मन नलागे पनि चुपचाप ती सुनेको थिएँ । अर्को कुरा, चन्द्रबहादुर हामीभन्दा उमेरलगायत सबै कुराले वरिष्ठ, समाजका गन्यमान्य र विचार तथा व्यवहारले आदर्शवान् हुन् भन्ने लागेकाले पनि त्यतिबेला उनका कुराको औचित्य छ कि छैन भनेर छुट्याउनपट्टि लाग्ने आवश्यकता ठानिएन ।
चन्द्रबहादुर हाम्रा शुभचिन्तक हुन् भन्ने कुरा त्यसभन्दा १५ दिनजति अघि भएको विद्यालय सञ्चालक समितिको बैठकको एउटा प्रसङ्गले पनि हामीलाई विश्वस्तजस्तै बनाएको थियो । त्यस दिन सञ्चालक समितिलगायत अगुवा अभिभावकको संयुक्त बैठक बोलाइएको थियो । बैठकमा धेरैबेरसम्म बेप्रसङ्ग र बेतुकका कुरामा उनीहरूबीच पाखुरा सुर्किने काम भइरह्यो । त्यसबेला चन्द्रबहादुरले सुटुक्क मलाई अलिपर लगेर भनेका थिए, “अहिले एकछिन अर्कै जिनिसका कारणले सबैको पारो चढेको छ, त्यो धेरै बेर रहँदैन । त्यसैले त्यतिञ्जेलसम्म चुप लागेर सुन्नु नै बुद्धिमानी हुनेछ । अहिले यसरी कराउनेहरू त्यसबेला जे निर्णय भए पनि चुप लाग्नेछन् ।” हुन पनि त्यस्तै भयो । सुरुमा त्यहाँको माहोल नबुझ्दा हामीलाई अलि अप्ठेरोजस्तो लागेको थियो । पछि त त्यसैमा बानी प¥यो । त्यस्ता बैठकमा सधैँजसो त्यो जिनिसले आफ्नो प्रभाव देखाएर एकछिनपछि छाड्दो रहेछ ।
त्यसरी बैठकमा आउँदा उनीहरूले स्थानीय पोसाक अर्थात् खुम्रेभोटो, गादो र कछाड लगाएका हुन्थे । घर कहाँनेर हो भनेर सोध्दा एक हातको पौँजाले निधारमा पाली बनाएर अर्को हातको चोरीऔँलाले जहाँ देखाउँथे, म पहाडमै जन्मे हुर्केको मान्छेलाई पनि त्यो ठाउँमा त कहिल्यै पुग्न सक्दिनँ होलाजस्तो लाग्थ्यो । अर्थात् उनीहरूका घर त्यति विकट पखेरामा थिए । त्यहाँ बिजुली, बाटो, अस्पताल, विद्यालय आदि केही थिएन । एउटा अनकन्टार ठाउँजस्तो लाग्ने, कुनै बेला पहिरो गएर त्यो ठाउँकै नामोनिसान मेटिदेला जस्तो लाग्थ्यो । बारीमा काम गर्दागर्दै छाडेर आएका हुनाले माटैमाटो लागेका हातले ती मान्छेले चिलिम तान्थे । त्यतिबेला त मलाई ती कुनै कुराले छोएनन् तर जब म विदेश घुमेँ र त्यहाँका मान्छेले उपभोग गरिरहेका सुविधा देखेँ, त्यसबेला मलाई घोर आश्चर्य लाग्यो । जीवनको एउटा कालखण्डमा लामो समयसम्म त्यस किसिमको अकल्पनीय सुखसुविधा भोगेर पनि फेरि ती मान्छेहरू आफ्नो जन्मथलो पुरानो गाउँठाउँमा गएर रमाउँदै बसेको कुराले माटोको माया र त्यसको महìवका बारेमा घण्टौँसम्म घोत्लिन बाध्य बनायो । सुख ठूलो कि सन्तुष्टि ठूलो भनेर आफैँले आफैँलाई बारम्बार प्रश्न गर्न म बाध्य भएँ । सायद यी पछिल्ला दिनहरूमा भने माटोको मायाले मान्छेलाई त्यही गुरुत्वका साथ आकर्षण गर्न छाडेको छ कि ? अलिकति कमाएकाहरू फेरि फर्केर आफ्नै गाउँठाउँमा जानुको सट्टा थोरै मात्र भए पनि सुविधा खोजेर बस्न थालेको देखिन्छ । त्यतिबेला ती रोल्पाली दाजुभाइले चाहेको भए सके काठमाडौँ र नभए पनि सानोतिनो सहरमा घरबास किनेर बसोबास र जीवन निर्वाह गर्न सक्थे तर उनीहरूले त्यसो गरेनन् र नगरेकोमा अलिकति मात्र पछुतो पनि मानेनन् । अर्को दिन अर्थात् शनिबार साँझतिर हामीहरू मजिवाङ चन्द्रबहादुरको घरबाट विद्यालय रहेको जेलवाङ गाउँतिर फर्कियौँ । त्यहाँ आठ÷नौ महिना बसेपछि म रोल्पा छाडेर काठमाडौँतिर आएँ । त्यहाँका ती कुरा पनि बिस्तारै स्मृतिबाट हराउँदै जान थाले ।
त्यसको झन्डै तीन वर्षपछिको कुरा हो– फिलिपिन्सको मनिलाबाट काठमाडौँतर्फ फर्किने क्रममा हङकङमा आइपुगेको थिएँ । नेपाल वायुसेवाको टिकट र उडान पनि निश्चितै थियो तर प्राविधिक कारण देखाएर उडान रद्द भयो । दुई दिनसम्म त्यस्तै भइरह्यो । त्यसैबीच कसैले भन्यो, “घोषित रूपमा नभनेको मात्रै हो, बहुदलीय व्यवस्था पुनस्र्थापनाको माग राखेर नेपालमा भइरहेको आन्दोलनलाई समर्थन गर्नका लागि पाइलटले जानीजानी जहाज उडाइरहेका छैनन् ।” अहिलेजस्तो सञ्चार र सामाजिक सञ्जालको व्यापकता नभएकाले ती दिनहरूमा यस्ता सूचना पाउन पनि मुस्किल थियो ।
हङकङमा अनिश्चित समयसम्म बस्नुपरेको हुँदा दिनहरू घुमडुलमै बितिरहेका थिए । त्यस्तैमा एकदिन साँझतिर स्याङ्जा घर भएका पूर्वपरिचित मित्र भेटिए । कुनै साथीको नातालाई समाएर उनी मलाई भान्जा भन्थे । उनले रमाइलो ठाउँमा खाजा खान जाने प्रस्ताव राखे । अस्वीकार गर्नुपर्ने कारण केही थिएन, म उनको पछि लागेँ ।
अपवादबाहेक ती दिनहरूमा नेपाली र त्यस्तै सस्तो खोज्नेहरूका निम्ति हङकङको चुङकिङ मेन्सन नै निर्विकल्प ठाउँ रहेछ । गर्मी मौसमको बेलुका ८ बजेतिर हामी मामाभान्जा चुङकिङ मेन्सन ‘सी ब्लक’को १४औँ तलाको एउटा सानो कोठामा छि¥यौँ । त्यो लगभग आठ फिट चौडाइ, १० फिट लम्बाइको सानो कोठामा पोखरातिरका दुई जना चेलीले होटल सञ्चालन गरेका रहेछन् । सकेसम्म नेपाली परिकार ख्वाउने त्यो कोठेहोटल जहाँ उनीहरूको सुत्ने, बस्ने ठाउँ पनि त्यही सानो कोठा रहेछ । हामी जाँदा पहिलेदेखि नै धेरै रमाउँदै दुई जनाले खाजा खाइरहेका थिए । ती दुई युवाको ज्यान असाध्यै लायक थियो । उनीहरू त्यहाँ भएको एउटा खाटमा बसिरहेका थिए । हामी दुई जना नजिकै राखिएका कार्टुनमाथि बस्यौँ । हामी गएपछि त्यहाँको पूर्ववत् रमाइलो वातावरण खल्लोजस्तो बन्न पुग्यो । हाँसोठट्टाको माहोल अलिकति बिथोलियो । हुन त मामा र ती दुई चेली पनि पूर्वपरिचित नै रहेछन् । मलाई त त्यस्तोमा बस्नु हुँदैन कि जस्तो लागेको थियो तर मामाको चाहनालाई चेलीको आग्रहले टेवा पु¥यायो । हामीले पनि केही खान थाल्यौँ ।
होटलवाला दुई चेली, अघिदेखि बसिरहेका दुई र पछि जाने हामी दुई गरी छ जना सबै नेपाली अटाइनअटाई त्यही सानो कोठामा बसिरहेका थियौँ तर हामीबीच झन्डै आधा घण्टासम्म दोहोरो कुराकानी भएन । उनीहरू र हामीहरू दुवै पक्षले तिनै चेलीसँग कुराकानी गर्न खोजिरह्यौँ । आफू आफूमै गफियौँ । कुराकानीको भाषा त नेपाली हुने नै भयो, शब्द र लवजले गर्दा ती पहिलेदेखि बसेकाहरू पश्चिमतिरका हुन् भन्नेमा म झन्झन् विश्वस्त हुँदै गइरहेको थिएँ । प्रवासमा भेट भएका नेपाली एउटै कोठामा कोचिएर बस्दा पनि के एकअर्कालाई हान्ने राँगोले जस्तो आँखा तरेर बस्नु भन्ने लागेर मैले नै ती दुईलाई विनम्रतापूर्वक “नेपालमा तपाईंहरूको घर कहाँ हो ?” भनेर सोधेँ ।
उनीहरूले हाम्रो उपस्थितिलाई अलि बढी नै ईष्र्या गरेका छन् भनी हामीले गरेको अनुमानलाई प्रमाणित गर्दै ती दुईमध्ये एकले एकशब्दे जवाफ दिए, ‘पश्चिम’ भनेर । मैले फेरि सोधेँ, “पश्चिम कहाँ हो ?” उनको उस्तै रुखो जवाफ ‘राप्ती’ । अब अगाडिबाट मात्र तानेर भएन, पछाडिबाट पनि धकेल्नुप¥यो भन्ने लागेर मैले “रोल्पा हो ?” भनेर सोधेँ । उनले अघिदेखि कस्सिएको अनिच्छाको गाँठो अलिकति खुकुलिएजस्तो गरी ‘हो, हो’ भने ।
उनको दोहोरिएको यो ‘हो, हो’ले मेरो पनि हौसला बढायो । अनि मैले रोल्पाबाट जेलवाङ, मजिवाङ हुँदै चन्द्रको जेठान विष्णुसम्म आफैँले डो¥याउँदै लगेँ । उनी त दुईवर्षे बालकले ठूलामान्छेको औँला समाएर खुरुखुरु हिँडेझैँ गरी मेरो पछिपछि हिँडिरहे ।
कहिलेकाहीँ अनुमानका भरमा हानेको झटारो पनि ठीकै ठाउँमा लाग्दो रहेछ । साँच्चै नै चन्द्रले भनेजस्तो उनको ज्यान त बयान गर्न लायककै थियो । अघिसम्म उनले रिसाएको सिंहले झैँ हामीलाई घुरेर हेर्दै थिए । सके एउटा सभ्य समाजमा ब्रिटिस आर्मीको अनुशासनलाई सम्झेर उनले आफूलाई सम्हालेका हुँदा हुन् । त्यति कुरा भएपछि त छाती खोलेर आफैँ अङ्कमाल गर्न उनी अघि सरे । अर्को एक जना पनि रोल्पाकै रहेछन् । अघिसम्मको अघोषित शत्रुता एकाएक हार्दिकतामा बदलिएको त्यो क्षण साँच्चै सुखद थियो । ती होटलवाला चेलीहरूले पनि अघिसम्म अप्ठेरो मानेजस्तो देखिन्थ्यो । हामीले अङ्कमाल गरेपछि तिनीहरूले एउटा गीतको घतलाग्दो टुक्का गाए र पोखराबाटै लगेको सिस्नोको फाँडो जसमा टिम्मुरको बास्ना हरहर आइरहेको थियो, हामी चारै जनालाई ससाना कचौरामा सगुन भन्दै खान दिए । म जतिजति गाउँघरतिरका कुरा गर्दै जान्थेँ, विष्णु आफँै तीती ठाउँमा विचरण गर्दै छन् जस्तो हाउभाउ देखाउँथे । खुसीले गर्दा उनको चौडा छाती झन् चौडा हुँदै गएको थियो । एकछिनपछि विष्णुले प्रस्ताव राखे, “तपाईंहरूले नाइँ भन्न पाउनुहुने छैन, आज मेरोतर्फबाट रातैभरि यहाँ पिएर बस्नुपर्छ । मेरो ज्वाइँको साथी भएकाले तपाईं पनि मेरो ज्वाइँ नै हुनुभयो ।” अनि ती पसले चेलीलाई पनि उनैले भने, “पैसा कति चाहिन्छ, लिएर जानुहोस् तर आज पिउने चिज सिद्धियो भन्न पाउनुहुन्न ।”
अघि अङ्कमाल गरिरहँदा मलाई विष्णुको शरीरबाट कसोकसो रोल्पाकै काँचो माटोको सुगन्ध आइरहेजस्तो लागेको थियो । उनले त झन् मुखै फोरेर त्यसै भने । त्यो बेला हामी दुवै जना मृत्तिकागन्धी भइसकेका रहेछौँ । हामीले कुरा गर्दागर्दै चेलीहरूले सिस्नोको खोले सेलाउन थाल्यो भनेर सम्झाए । त्यो खान थाल्दा मैले विष्णुलाई जिस्काएँ, “यसरी परिचय नहुँदै यो खान थालेको भए त सिस्नोले जिब्रोमा पोल्थ्यो होला, अहिले त कति नरम लाग्यो ।” अनि चम्चा मुखसम्म पु¥याउँदै उनले भने, “टिमुरको बास्ना मजिवाङकै जस्तो छैन त ?”
कहिले गीत गाउँदा र कहिले गफिँदै गर्दा बिहानको ५ बजेछ । अनि हामी उठ्यौँ ।