• १७ असार २०८१, सोमबार

गोरखामा ५ प्रतिशत रोपाइँ सम्पन्न

blog

गोरखाका दरौदी फाँटमा धान रोपाइँ गर्दै किसानहरु । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, असार १५ गते । 
असार १५ गते धान दिवस मनाउँदै गर्दा गोरखामा जम्मा ५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । अहिलेसम्म गोरखामा पानी नपर्दा अधिकांश किसानका खेतहरू बाझै रहेका कारण सोचेजस्तो रोपाइँ हुन नसकेको कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख मिरा चौधारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत साल असार १५ गते गोरखामा ३५ प्रतिशत रोपाइँ भएकोमा अहिले सुख्खा खडेरीले रोपाइँमा ढिला भएको उहाँले बताउनुभयो । जम्मा ५ प्रतिशत मात्रा रोपाइँ भएकाले किसानहरू रोपाइँ नहुने होकि भन्नेमा पुगेका छन् ।

गोरखाका मुख्य मुख्य फाँटहरूमा रोपाइँको तयारी गरिएता पनि वर्षात नहुँदा किसानहरू मर्कामा परेका छन् ।

अझै पनि वर्षा हुने हो भने गोरखामा लगभग ९५ प्रतिशत रोपाइँ हुनेमा विश्वास रहेको कृषि ज्ञान केन्द्र कार्यालय गोरखाले जनाएको छ ।

गोरखामा १० हजार एक सय ४० हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ । अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्नु पर्ने बाध्यता भएकाले पानी नपर्दा गोरखाका फाँटहरूमा रोपाइँ हुन नसकेको कृषि ज्ञान गोरखाका प्रमुख चौधरीको भनाइ छ ।