• १७ असार २०८१, सोमबार

बाँकेमा दुई प्रतिशत मात्र रोपाइँ, किसान चिन्तामा

blog

धान दिवसको अवसरमा मोटर चलाएर गरिएको सामूहिम रोपाइँ। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार १५ गते। देशभर राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै गर्दा बाँकेका अधिकांश खेत खडेरीका कारण सुख्खा हुँदा जिल्लाका किसान चिन्तामा छन्। 

सोही कारणले जिल्लामा हालसम्म दुई प्रतिशत मात्र रोपाइँ हुन सकेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ। 

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमद खाँले यस वर्ष असार १५ सम्ममा पनि जिल्लामा पानी नपरेकोले अधिकांश किसानले बिउँ समेत राख्न नपाएकोले दुई प्रतिशत मात्र रोपाइँ भएको बताउनुभयो। 

उहाँले गत वर्ष यति बेलासम्म ४५ प्रतिशत रोपाइँ भइसकेको जनाउँदै यस पटक वर्षा नहुँदा दुई प्रतिशत मात्र रोपाइँ हुन सकेकोले अधिकांश किसान चिन्तामा रहेको बताउनुभयो। 

अझै पनि वर्षा हुने हो भने ढिलै भए पनि जिल्लामा रोपाइँ शतप्रतिशत हुने र उत्पादन समेत राम्रो हुने आशा रहेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख खाँको छ। 

देशभर २१ औँ राष्ट्रिय धान दिवस मनाई रहँदा जिल्लामा लामो खडेरीका कारण धानको बिउ समेत राख्न नसकेको जनाउँदै बाँके डुडुवा–६ का किसान रतिराम कुम्हारले खडेरीका कारण राखेको बिउ पनि गह्रामै धाँजा फाटेर सुकेको बताउनुभयो। 

बाँकेका अधिकांश किसानले आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता भएको बताउने गरेका छन्। 

नेपालगन्ज १९ का राजेश गिरिले असारको १५ गतेसम्म पानी नपर्दा रोपाइँ गर्न नसकेको बताउनुभयो। उहाँले थप्नुभयो, ‘जसो तसो बिउ राखेपनि खेतमा पानी छैन कसरी रोप्ने, राखेको बिउ पनि सुक्दै गएको छ, छिप्पिएको बिउ रोपेर उत्पादन कस्तो हुने हो भन्ने चिन्ता छ।’

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख खाँले यो वर्ष साबिकको वर्षमा भन्दा बढी जमिनमा धान खेती हुने र उत्पादन पनि वृद्धि हुने अपेक्षा गरिएकोमा खडेरीले उत्पादन निकै कम हुने हो कि भन्ने चिन्ता बढाएको बताउनुभयो। 

बाँकेमा धान रोपाइँ हुने कूल ३६ हजार पाँच सय हेक्टर खेतीयोग्य जग्गा छ। गत वर्ष पनि सोही क्षेत्रफल खेतमा धानखेती गरिएको थियो। अहिले पनि सोही क्षेत्रफलमा धानखेती हुने अनुमान गरिएको थियो।