• १६ असार २०८१, आइतबार

विपन्न विद्यार्थीलाई झोला तथा पोशाक वितरण

blog

जेहेन्दार विपन्न विद्यार्थीहरुलाई झोला, पोशाक र जुत्ता वितरण गर्दै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार १४ गते । बाँकेको खजुरा गाउँपालिका ३ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका जेहेन्दार विपन्न विद्यार्थीहरुलाई झोला, पोशाक तथा जुत्ता वितरण गरिएको छ । खजुराका समाजसेवी महेन्द्र मल्लको सहयोगमा सो विद्यालयका २० जना अति विपन्न विद्यार्थीलाई सहायताका लागि झोला, पोशाक र जुत्ता वितरण गरिएको हो ।

सहायताका लागि सहयोगी हातहरुका अध्यक्ष पुष्पा सुनारको अध्यक्षतामा गरिएको कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सदस्य बादशाह कुर्मीले अति विपन्न विद्यार्थीलाई सो सामग्री वितरण गर्नुभयो। उहाँले सामुदायिक विद्यालयमा पोशाक खरिद गर्न नसकेर थुप्रै विद्यार्थीहरु बिना पोशाक विद्यालयमा आउन बाध्य रहेको र केही विद्यार्थीहरु पोशाक नहुँदा विद्यालय आउन छाडेकोले उनीहरुलाई निरन्तर गर्नका लागि पनि यो सहयोगले ठुलो काम गर्ने बताउनुभयो। 

सहयोगी समाजसेवी महेन्द्र मल्लले जेहेन्दार अति विपन्न विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै सहयोग गर्ने क्षमता राख्ने सबैले समाजमा केही न केही सहयोग गरिरहनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर काउँचा, स्थानीय समाजसेवी वेदनिधि प्याकुरेल, शिक्षक शिक्षिका, स्थानीय बासिन्दा, पत्रकारलगायतको उपस्थिति थियो।