• १६ असार २०८१, आइतबार

‘सेना र प्रहरीलाई राजनीतिबाट मुक्त गर्नुपर्छ’

blog

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवम् सांसद पृथ्वीसुब्बा गुरुङ । फाइल तस्बिर

काठमाडौँ, असार १४ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवम् सांसद पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरी र नेपाली सेनालाई राजनीतिबाट मुक्त गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले प्रहरीले कतिपय मुद्दामा सहजरुपमा उजुरी लिन सक्ने अवस्था नभएकाले समाजमा सुशासन कायम गर्न नसकिएको टिप्पणी गर्नुभयो । 

मुुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसक्दासमेत नेपालको न्याय प्रणालीलाई सङ्घीयताले छुन नसकेको उहाँको भनाइ थियो । यही असार ११ गते राति आएको वर्षाका कारण लमजुङमा धेरै धनजनको क्षति भएको बताउँदै सांसद गुरुङले मृतक परिवारलाई राहत, घाइतेको तत्काल उद्धार र उपचार गर्न सरकारसँग आग्रह गर्नुभएको छ । उहाँले आगामी दिनमा विपदबाट बच्न पूर्वतयारीका लागिसमेत आवश्यक काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद गुरुङले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको आज ७३ औँ जन्मजयन्ती भएको उल्लेख गर्दै जनताको बहुदलीय जनवादको सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक भएको बताउनुभयो । उहाँले जननेता भण्डारीले संसदलाई शान्तिपूर्ण सङ्घर्षको क्षेत्र बनाउनुपर्छ भन्नुभएको र शान्तिपूर्ण क्रान्तिबाट मुलुकको विकास हुने विचार राख्नुभएको स्मरण गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्रत पार्टीका नेता एवम् सांसद मनीष झाले सदनमा शून्य समय र विशेष समयमा प्राकृतिक प्रकोपका विषयमा नियमितरुपमा उठिरहेका विषयलाई प्रभावकारी कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले आजभन्दा ४८ वर्षअघि ल्याइएको संरक्षित क्षेत्रको अवधारणाविपरित पछिल्लो समय जोखिम आँकलन नगरी जथाभावी डोजर प्रयोग भएले चुरे क्षेत्रमा त्यसको गम्भीर असर परेको धारणा राख्नुभयो । 

सांसद झाले चुरे तराई मधेसका लागि पानीको मुख्य स्रोत भएको र पछिल्लो समय अनावश्यक दोहनका कारण तराईमा पानीका स्रोत र संरक्षण क्षेत्र दुवै कमजोर भएका बताउनुभयो । नेपाल सरकारले चुरे क्षेत्रमा वातावरण संरक्षण क्षेत्र घोषणा गरे पनि त्यो पर्याप्त नभएको उहाँको भनाइ थियो । रासस