• ७ पुस २०८१, आइतबार

सदनमा सांसदको चिन्ता : ‘विकासका नाममा विनाश बढ्दै गयो’

blog

फाइल तस्बिर

काठमाडौँ, असार १४ गते । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले सडक सञ्जाल विस्तारका क्रममा जथाभावी डोजरले नभत्काउन सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा सांसद अनिषा नेपालीले पछिल्लो समयमा विकासको नाममा झन-झन विनास बढ्दै गएको जनाउँदै हिमाली र पहाडी जिल्लामा जथाभावी बाटो निर्माण गर्ने क्रममा महत्वपूर्ण स्थान भत्काउने काम तत्काल बन्द गर्न आग्रह गर्नुभयो । सांसद अच्युतप्रसाद मैनालीले बारा जिल्लाको तामागढी-सिम्रनगण सडक खण्ड सम्पन्न भएको चार वर्ष बितिसक्दा पनि जनताले मुआब्जा नपाएको हुँदा तत्काल मुआब्जा वितरण गर्न माग गर्नुभयो ।  

सांसद अजयकुमार चौरसियाले सरकारले ठूला-ठूला परियोजनामा लिएको ऋण तिर्न सक्ने अवस्था नभएको जनाउँदै अबका दिनमा नेपालले विदेशी ऋण लिने गम्भीर बन्न जोड दिनुभयो । सांसद अब्दुल खाँनले भारतबाट आएका पर्यटनको लागि पशुपति क्षेत्रलगायमा व्यवस्थित बसोबासको प्रबन्ध मिलाउनुपर्छ भन्नुभयो । सांसद अमनलाल मोदीले सरकारले ल्याएको स्वाथ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद जीवन परियारले कास्की जिल्लालगायतका जिल्लामा भारी वर्षाका कारण भएको बाढी पहिरो पीडितले राहत नपाएको बताउनुभयो । सांसद जुलीकुमारी महतो महासेठले एसइई परीक्षामा ५२ प्रतिशत अनुत्तीर्ण भएको विषयमा सरकार गम्भीर हुनुपर्छ भन्नुभयो । सांसद टेकबहादुर गुरुङले मनाङ र मुस्ताङलगायतका जिल्लामा विकास निर्माणका काममा ध्यान दिन सरकारलाई अनुरोध गर्नुभयो । 

सांसद अम्मरबहादुर थापाले गत साल जाजरकोटमा गएको भूकम्पबाट प्रभावित जनतालाई अहिलेसम्म पनि राहात र क्षतिपूर्ति नपाएको बताउनुभयो । सांसद अमरबहादुर रायमाझीले राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउनुपर्ने माग गर्नुभयो । सांसद आस्माकुमारी चौधरीले जग्गा खण्डिकरणका कारण खेतीयोग्य जमिनमा क्षति पुगेको जनाउँदै सरकारको धयानाकर्षण गराउनुुभयो । 

सांसद ईश्वरी घर्तीले वैज्ञानिक तथा उन्नत खेतीको विकास गरी सङ्गठित कृषि बजारको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । बैठकमा ईश्वरबहादुर रिजाल, असिम शाह र अर्जुननरसिंह केसीलगायतले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस