• १५ असार २०८१, शनिबार

ज्येष्ठ नागरिकको मन भुलाउन ‘मिलन केन्द्र भवन’ स्थापना

blog

नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुरस्थित निमार्णाधीन ‘ज्येष्ठ नागरिक मिलन केन्द्र भवन’ । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, असार १२ गते । नेपालगन्ज उपमहानगरपालिका-१२ मा रहेका ज्येष्ठ नागरिकहरुलाई मन भुलाउनका लागि ‘ज्येष्ठ नागरिक मिलन केन्द्र भवन’ निर्माण गरिने भएको छ।

वडाभित्रका विभिन्न सरकारी तथा गैरसरकारी कामकाजबाट रिटायर्ड भएका जीवनको उत्तरार्धमा रहेका ज्येष्ठ नागरिकहरुलाई एकीकृत गराई विभिन्न क्रियाकलापमार्फत मन भुलाउनका लागि ‘ज्येष्ठ नागरिक मिलन केन्द्र भवन’को निर्माण थालिएको हो ।

ज्येष्ठ नागरिकहरुलाई मनोरन्जनका साथै विभिन्न क्रियाकलापमार्फत उनीहरुको दैनिक जीवनयापनका लागि सहज होस् भनेर दिवा सेवा प्रदान गर्ने उद्देश्यले ‘ज्येष्ठ नागरिक मिलन केन्द्र भवन’ निर्माण गर्न लागिएको १२ नं. वडाका वडाध्यक्ष तरुण बज्राचार्यले बताउनुभयो । गत आर्थिक वर्षबाट निर्माण सुरु गरिएको उक्त भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय सरकारले प्रदान गरेको डेढ कट्ठा जमिनमा ८ कोठे, एकतले पक्की भवनको ढलान कार्य सम्पन्न भएको छ । 

“वडाभित्र रहेका रिटायर्ड जीवन बिताइरहेका ज्येष्ठ नागरिकको सम्मानमा उहाँहरुलाई मनोरन्जनका साथै विभिन्न क्रियाकलापमा संलग्न बनाएर उहाँहरुको बाँकी जीवन खुसीका साथ बितोस् भन्ने उद्देश्यले भवन निर्माण सुरु गरिएको हो, भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ,” वडाध्यक्ष बज्राचार्यले भन्नुभयो, “स्थानीय सरकारले प्रदान गरेको जमिनमा ८ कोठे, एकतले पक्की भवनको ढलान कार्य सम्पन्न भइसक्यो ।”

आर्थिक वर्ष ०७९-८० मा तत्कालीन लुम्बिनी प्रदेश सरकारका वनमन्त्री सुरेन्द्रबहादुर हमालको पहलमा बिनियोजन गरिएको २० लाख रुपियाँ र चालु आर्थिक वर्षमा नेपालगन्ज उपमहानगरपालिकाको ५ लाख र वडा कार्यालयको १० लाख रुपियाँ तथा विभिन्न समाजसेवी चन्दादाताबाट सङ्कलन भएको करिब ११ लाख रुपियाँको बजेटबाट उपभोक्ता समितिमार्फत भवन निर्माणकार्य भइरहेको वडाध्यक्ष बज्राचार्यले जानकारी दिनुभयो ।

भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष अजितकुमार शर्माले भवन निर्माणपश्चात् आगामी आर्थिक वर्षबाट वडाका ज्येष्ठ नागरिकहरुलाई भवनबाट दिवा सेवा प्रदान गरिने बताउनुभयो । उहाँले उक्त भवनमा ज्येष्ठ नागरिकलाई जम्मा गराएर विभिन्न मनोरन्जनात्मक गतिविधि गराइने तथा खेलकुद तथा अन्य रचनात्मक क्रियाकलाप गराएर उनीहरुको बाँकी जीवन खुसियालीका साथ बिताउन सहयोग पुर्‍याइने बताउनुभयो ।

“रिटायर्ड जीवन बिताइरहेका ज्येष्ठ नागरिकहरु दिनभरी घरमा बस्दा वाक्क दिक्क हुने, जीवनप्रति निराशा जाग्ने, चिन्ता लाग्नेलगायतका समस्या हुने र ती समस्याबाट उनीहरुको बाँकी जीवनयापन गर्न अप्ठ्यारो हुन्छ ।” शर्माले भन्नुभयो, “एकै उमेर समूहका ज्येष्ठ नागरिकहरु एकै ठाउँ भेला हुँदा एकआपसमा आफ्ना मनका कुरा साटासाट गर्ने, खुसी हुने, रमाइलो गर्ने, विभिन्न क्रियाकलापमार्फत उनीहरुको निराशा हट्ने, दिनभर मनोरन्जन प्रदान गरेर उनीहरुको निराशा र चिन्ता हटाएर दीर्घ जीवन यापन होस् भन्ने उद्देश्यले भवन निर्माण थालिएको हो ।”

भवन निर्माणपश्चात् ज्येष्ठ नागरिकहरुको मन भुलाउनका लागि पुस्तकालय, टेलिभिजन, भजनकीर्तनका लागि वाद्यवादनका साधन, बगैँचा तथा मन्दिरलगायतका संरचना निर्माण गरिने, विभिन्न खेलकुदलगायतका सामाग्रीको व्यवस्थापन गरेर उहाँहरुको दिन कटाउन र मन बहाउन मद्दत पुग्ने उहाँले बताउनुभयो । 

दैनिक रुपमा ज्येष्ठ नागरिकहरुको सहयोग र सुरक्षाका लागि वडा कार्यालयबाट एक जना कर्मचारीको व्यवस्थापन गरी चिया खाजासमेतको व्यवस्थापन गरिने वडा कार्यालयले जनाएको छ । वडा कार्यालयका अनुसार वडाभित्र हाल करिब ७ सय ५० ज्येष्ठ नागरिक छन् । जसमध्ये २ सय ५० जना ज्येष्ठ नागरिक ‘ज्येष्ठ नागरिक क्लब’मा आबद्ध भएका छन् ।