• १७ असार २०८१, सोमबार

दुध किसानको भुक्तानी असार मसान्तमा हुने

blog

काठमाडौँ, असार १५ गते । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले दुध किसानको बक्यौता रकम असार मसान्तभित्र भुक्तानी हुने बताउनुभएको छ । 

किसानले धान दिवस तथा रोपाइँ महोत्सव मनाउने तयारी गरिरहेका बेला दुधबापतको भुक्तानी नपाएकोमा पीडा बोध भएको बताउँदै उहाँले असार मसान्तभित्र किसानको बक्यौता रकम भुक्तानी गराउन आफ्नो पहल हुने बताउनुभयो । 

असार १५ को उपलक्ष्यमा नेपाल डेरी एसोसिएसनले शुक्रबार आयोजना गरेको दही चिउरा खाने एवं पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “मेरो प्रयास पूरै रकम भुक्तानी गराउनु नै हो तर सबै नभए पनि ८० प्रतिशत रकम जसरी पनि भुक्तानी गराउने छौँ ।”

दोस्रो कार्यकालका लागि असार ११ गते पदभार सम्हाल्नुभएका निर्देशक यादवले आफू यसअघि पनि पूरा कार्यकाल बोर्डमा बसेका कारण दुध किसानको समस्या सबै थाहा छ, उनीहरूको रकम भुक्तानी गराउनका लागि आफू लागिपरेको बताउनुभयो । दुध किसानले डेरी उद्योगीबाट चार अर्ब रुपियाँ पाउन बाँकी छ । त्यसका लागि किसान आन्दोलनमा छन् ।  

निर्देशक यादवले किसानले उत्पादन गरेको दुध तथा दुग्ध पदार्थ खपतमा वृद्धि ल्याउन यस खालका कार्यक्रम गरिरहनुपर्ने बताउनुभयो । दुध तथा दुग्ध पदार्थको खपत बढाउन र किसानले उत्पादन गरेको दुधको बजार प्रवर्धनका लागि बोर्डले काम गरिरहेको बताउँदै उहाँले स्वदेशी उत्पादनको खपत हुनुका साथै नेपाली उत्पादन दही चिउराले स्वास्थ्यलाई समेत राम्रो हुने बताउनुभयो । 

पशुसेवा विभागका पशु विकास अधिकृत सीताराम वलीले किसानले उत्पादन गरेको दुध तथा दुग्ध पदार्थ खपतका लागि नेपाल डेरी एसोसिएसनले गरेको मही अभियानलगायत यस्ता खपत बढाउने कार्यक्रमको प्रशंसा गर्नुभयो । किसान र उद्योगीको सम्बन्ध नङ र मासुको जस्तै रहेको बताउँदै उहाँले जस्तोसुकै अवस्थामा पनि किसानको उत्पादन उद्योगले सङ्कलन गरी प्रशोधन गर्दै बजारसम्म ल्याउनु उद्योगको कर्तव्य रहेको बताउनुभयो । 

एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रह्लाद दाहालले असार १५ मा देशभर करिब ८० लाख लिटर दही खपत हुने गर्छ सोबापत करिब एक अर्ब ४० करोड रुपियाँको कारोबार हुने गरेको बताउनुभयो ।