• १५ असार २०८१, शनिबार

सेतो सिमी र बुङको आलु उत्पादनलाई प्रोत्साहन गरिने

blog

शेरबहादुर राई
ओखलढुङ्गा, असार ११ गते ।
 ओखलढुङ्गाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा सेतो सिमी र बुङको आलु उत्पादनलाई प्राथमिकता दिएको छ । आगामी आर्थिक वर्षका लागि ६६ करोड ८१ लाख पाँच हजार आठ सय १७ रुपियाँ बराबरको बजेट सार्वजनिक गर्दै सेतो सिमी र बुङको आलु उत्पादनलाई दिएको छ ।

आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि नगरपालिकाको १४ औँ नगर सभामा उपप्रमुख केदारबाबु बस्नेतले उक्त बजेट सार्वजनिक गर्नुभएको थियो । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नगरपालिकाको आन्तरिक आय एक करोड ७५ लाख र मालपोत कार्यालयबाट घर जग्गा रजिस्ट्रेसन दस्तुर बाँडफाँटबाट ६५ लाख, राजस्व बाँडफाँट सङ्घीय सरकार १० करोड ४८ लाख रहेको छ । यसका साथै सवारी साधन कर बाँडफाँट प्रदेश सरकार ८३ लाख ४८ हजार, सङ्घीय सरकारबाट वित्तीय सामानीकरण अनुदान १० करोड ४५ लाख, समपूरक अनुदान ५० लाख, विशेष अनुदान एक करोड ५५ लाख र सशर्त अनुदान ३५ करोड ४२ लाख २१ हजार रहेको छ ।

प्रदेश सरकारबाट वित्तीय समानीकरण ६३ लाख ८७ हजार, समपूरक अनुदान एक करोड ३० लाख र सशर्त अनुदान एक करोड ७० लाख ४६ हजार र बाँकी नपुग रकम आ.व. २०८०/८१ बाट बैङ्क मौज्दात अल्या एक करोड ५३ लाख तीन हजार आठ सय १७ रुपियाँ अनुमान गरिएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा चालु तथा प्रशासनिक खर्चमा मितव्ययिता अपनाउने भएको छ ।

आगामी वर्षका लागि ११ करोड ६१ लाख तीन हजार तीन सय मात्र विनियोजन गरिएको उपमेयर केदारबाबु बस्नेत मार्फत सार्वजनिक बजेटमा उल्लेख गरिएको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषि तथा पशुपन्छी, सिँचाइ, पूर्वाधार विकास र खानेपानीलाई विशेष प्राथामिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । कृषि पूर्वाधार, सिँचाइ, कृषि उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिइने साथै सेतो सिमी, बुङको आलु उत्पादन प्रोत्साहन र भण्डारण साथै बजारीकरण गर्न सहयोग पुर्‍याउने नीति तथा कार्यक्रम ल्याइएको सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले बताउनुभयो । खानेपानी, पूर्वाधार, स्वरोजगार, विकास निर्माण जस्ता आधारभूत विषयलाई प्राथमिकता दिएर काम गर्ने योजना समेत रहेको प्रमुख खनालको भनाइ छ ।

सात गाउँपालिकाको प्राथमिकता कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य

जिल्लाका अन्य सात वटा स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य लाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् । खिजिदेम्बा गाउँपालिकाले ३७ करोड ८४ लाख बढीको वार्षिक बजेट ल्याएको छ । सङ्घीय वित्तीय समानीकरणबाट सात करोड ८३ लाख, समपूरक अनुदानबाट ५० लाख, सशर्त अनुदान अनुदानबाट १७ करोड ६७ लाख दुई हजार, राजस्व बाँडफाँटबाट आठ करोड २० लाख ९९ हजार ९९९ बजेट सार्वजनिक गरिएको छ ।

यस्तै, प्रदेश वित्तीय समानीकरणबाट ४४ लाख ८० हजार, राजस्व बाँडफाँटबाट ३३ लाख दुई हजार, समपूरकबाट एक करोड, सशर्त अनुदान अनुदानबाट ६९ लाख ४४ हजार र खिजिदेम्बाको आन्तरिक राजस्वबाट एक करोड ६ लाख ५९ लाख एक रुपियाँ गरी ३७ करोड ८४ लाख ९७ हजारको वार्षिक बजेट सार्वजनिक गरिएको छ । सुनकोशी गाउँपालिकाले ५६ करोड ६१ लाख ६५ हजार बजेट प्रस्तुत गरेको छ ।  यस्तै, मोलुङ गाउँपालिकाले जम्मा ४७ करोड ३९ लाख ६७ हजार एक रुपियाँ बजेट प्रस्तुत गरेको छ । लिखु गाउँपालिकाले ३९ करोड २९ लाख ९० हजार एक सय ७५ रुपियाँको कुल बजेट प्रस्तुत गरेको छ ।

चालु तर्फ ७० प्रतिशत अर्थात् २७ करोड ७५ लाख २९ हजार ५८५ र पुँजीगत तर्फ ३० प्रतिशत ११ करोड ५४ लाख ६० हजार ५९० रुपियाँ बजेट प्रस्तुत गरेको हो । चिशंखुगढी गाउँपालिकाले कुल ४४ करोड ३६ लाख ४७ हजार बजेट प्रस्तुत गरेको छ ।

चालु तर्फ ३४ करोड तीन लाख ९६ हजार, ७६.७३ प्रतिशत र पुँजीतर्फ १० करोड ३२ लाख ५१ हजार, २३.२७ प्रतिशत बजेट प्रस्तुत गरेको हो । यसैगरी, मानेभन्ज्याङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४७ करोड ९१ लाख ७३ हजार ७८ रुपियाँ बजेट प्रस्तुत गरेको छ । यो कुल बजेटको ८७ प्रतिशत रहेको पालिकाले जनाएको छ । गत वर्ष ८८ प्रतिशत बजेट ल्याउन सफल भएकोमा यस वर्ष एक प्रतिशत कम बजेट पालिकाले प्रस्तुत गरेका हो । चम्पादेवी गाउँपालिकाको ४५ करोड ७२ लाख ३० हजार रुपियाँ बजेट प्रस्तुत गरेको छ ।