• १६ भदौ २०८१, आइतबार

आर्थिक विधेयकमाथि छलफल : राजस्व चुहावट नियन्त्रणमा सांसदको जोड

blog

काठमाडौँ, असार ११ गते । सांसदहरुले राजस्व चुहावटलाई नियन्त्रणमा जोड दिनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ माथिको सामान्य छलफलका क्रममा सांसदहरुले राजस्व सङ्कलन प्रक्रियालाई व्यवस्थित गरेर मुलुकको ढुकुटी बलियो बनाउन सुझाव दिनुभयो ।

सांसद जीवन परिवारले आर्थिक विधेयकमा करका दायरा बढाउन भन्दा दर हेरफेरमा मात्रै ध्यान दिइएकाले राजस्व चुहावटलाई ध्यान दिन आग्रह गर्नुभयो । सांसद उदयशमशेर जबराले जलविद्युत आयोजनामा शेयर किनबेच गर्दा राजस्व छली हुने स्थिति भएकाले त्यसलाई रोक्न माग गर्नुभयो । सांसद प्रेम सुवालले मुलुकमा प्रगतिशील कर प्रणाली लागू गरी जनताको घाँटी थिच्ने प्रणाली हटाउन माग गर्नुभयो । 

उहाँले स्रोत नखुलेको सम्पत्तिलाई वैधानिक बाटोमा ल्याउने, विदेशमा सम्पत्ति राख्न नपाइने, जलविद्युत आयोजना विदेशी दिन नहुने, चुरे दोहन गर्न नदिनेजस्ता नीति ल्याएमा मुलुक धनी हुने तर्क राख्नुभयो । सांसद प्रभु साहले संविधानले दिएको सम्पत्तिको हकलाई कुनै कानुनले खोस्ने अवस्था आउन नहुने बताउनुभयो । सांसद मनिष झाले मुलुकको आर्थिक स्थिति बलियो नभएको अवस्थामा राजस्वको लक्ष्य निर्धारण गर्दा वास्तविकताका आधारमा गर्न र सङ्कलनका चुनौती सामना गर्ने नीतिमा केन्द्रित हुन सुझाव दिनुभयो ।

सांसद बद्रीप्रसाद पाण्डेले आर्थिक समृद्धिका लागि राजनीतिक स्थिरता र नीतिगत निरन्तरता हुनुपर्नेमा जोड दिनुभयो । सांसद श्यामकुमार घिमिरेले नेपालमा विश्वका अन्य मुलुकका तुलनामा धेरै करका दर उच्च भएको मुलुक भएको स्थितिमा लगानी अभिवृद्धि हुन नसक्ने भनाइ राख्नुभयो । प्रतिनिधिसभाबाट आजै विनियोजन विधेयक, २०८१ पारित भएपछि आर्थिक विधेयकमाथि छलफल सुरु भएको हो । रासस