• १४ असार २०८१, शुक्रबार

देशैभर फैलियो मनसुन

blog

काठमाडौँ, असार ११ गते । सोमबारदेखि मनसुन देशैभर फैलिएको छ । गत वर्ष जस्तै यस वर्ष पनि मनसुन देशभर फैलन १५ दिन लागेको छ । अब छिट्टै वर्षा हुने भएकाले धान रोपाइँ गर्ने  किसानमा खुसी छाएको छ । 

जल तथा मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार नेपालको पूर्वी भूभागदेखि सुदूरपश्चिमसम्म नै मनसुनी वायु फैलिएको छ । यससँगै नेपालमा अब पश्चिमी वायुको असर हटेको छ । विभागका अनुसार पश्चिमी वायुले पूर्वी वायुलाई अघि बढ्न नदिँदा मनसुन फैलन समय लागेको हो । मनसुनी वर्षा गराउने जलवाष्प प्रणाली सक्रिय हुन भने अझै समय लाग्ने विभागले औँल्याएको छ । 

मनसुन देशभर फैलिए पनि तीन दिनपछि मात्र धेरै भूभागमा राम्रो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् प्रतिभा मानन्धरले भन्नुभयो, “हावा चलिरहेको छ तर बिहीबार वा शुक्रबारदेखि मात्र केही राम्रो वर्षा हुने देखिएको छ ।” अहिलेसम्म सुक्खा र गर्मीले आक्रान्त रहेको कर्णाली र सुदूरपश्चिममा मनसुनी बादल छाएपछि त्यस क्षेत्रमा थोरै राहत पुगेको उहाँले बताउनुभयो । यो वर्ष साउनको मध्यदेखि मात्र राम्रो मनसुनी वर्षा हुने पूर्वानुमान छ ।  

रोपाइँको चटारो सुरु

मनसुन देशभर फैलिएसँगै किसान वर्गमा धान रोप्ने चटारो सुरु भएको छ । कतिपय भेगमा असारे धान रोप्ने बेलासम्म पनि वर्षा नहुँदा किसान आक्रान्त बनेका थिए । खेतमा पानी नहुँदा धानको ब्याड जोगाउन र हुर्काउन किसानलाई हम्मे हम्मे परेको थियो ।  पूर्व, मध्य र गण्डकीसम्म भने थोरै थोरै भए पनि वर्षा भएकाले धानको बिउ हुर्किएको थियो । 

कृषि मौसमविद् रामेश्वर रिमालका अनुसार कतिपय स्थानमा ढिला भए पनि सुखदुःख गरेर किसानले बिउ हुर्काएका स्थानमा धान रोप्ने चटारो सुरु भएको छ । विशेष गरी अघिल्लो साता बढी वर्षा पूर्व, मध्य र गण्डकीमा भयो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा सिँचाइ भएकाले छिटो बिउ राखे, पानी पर्ने आशमा अधिकांशले ढिलो बिउ राखे । रिमालले भन्नुभयो, “बिउ नै ढिला राखेकाले साउनसम्म धान रोप्न भ्याउने छन् ।” 

धान रोप्ने समयपछि पनि निरन्तर वर्षा हुन जरुरी छ ।  यस्तोमा वर्षा कस्तो हुन्छ भनेर अनुमान गर्न गाह्रो हुने रिमालले बताउनुभयो ।