• १४ असार २०८१, शुक्रबार

सहजै उपलब्ध हुने आँपको यस्तो छ फाइदा

blog

काठमाडौँ, असार १० गते । गर्मी मौसममा सबैभन्दा बढी उपलब्ध हुने र विक्री हुने  फल आँप हो । आँप बालबालिकादेखि वृद्धवृद्धा सबैले मन पराउने फल हो । 

आँप खाँदा जति स्वादिलो हुन्छ स्वास्थ्यका हिसाबले पनि उत्तिकै फाइदाजनक हुने पोषणविद्को भनाइ छ । पोषणविद् डा. उमा कोइरालाले यो मौसममा पाक्ने आँप सेवन गर्दा स्वास्थ्यमा फाइदा पुग्ने बताउनुभयो ।  

आँप स्वादका हिसाबले जति स्वादिष्ट हुन्छ पोषणको हिसाबले पनि उतिकै राम्रो मानिने डा. कोइरालाको भनाइ छ । उहाँका अनुसार आँप रसिलो र स्वादिष्ट हुनुका साथै यसको सेवनले शरीरमा ऊर्जा प्राप्त गर्न मद्दत गर्छ । उहाँ भन्नुहुन्छ, “आँप गर्मी महिनामा उपयुक्त मानिने फल हो । यसले शरीरमा ऊर्जा दिनुका साथै उपयुक्त मानिन्छ ।”

आँप गर्मी महिनामा उपयुक्त मानिने फल हो । यसले शरीरमा ऊर्जा दिनुका साथै उपयुक्त मानिन्छ ।

डा. कोइरालाले आँपबाट कार्बोहाइड्रेट, फाइबर, भिटामिन ‘सी’, आइरन भिटामिन ‘ए’ जस्ता तत्व प्राप्त गर्न सकिने बताउनुभयो । स्वास्थ्यका हिसाबले आँप बच्चादेखि वृद्धसम्म सबै उमेर समूहका मानिसलाई उपयुक्त मानिन्छ । आँपमा प्राकृतिक स्वाद हुने हुँदा बिरामीलाई पनि आँप खुवाउन सकिने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘आँपमा प्राकृतिक गुलियो हुने हुँदा सबै उमेर समूहका मानिसलाई उपयुक्त हुन्छ । दीर्घरोगीलाई दैनिक एक वा आधा आँप खाँदा कुनै असर गर्दैन ।’

आँपमा भिटामिन सी हुने भएकाले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने उहाँको भनाइ छ । डा. कोइरालाका अनुसार आँपमा प्रशस्त मात्रामा भिटामिन ‘ए’ हुनाले आँखाको स्वास्थ्यका लागि उपयुक्त मानिन्छ ।   

आँपमा एन्टिअक्सिडेन्ट हुने भएकाले मुटु, लिभर, कलेजोलाई राम्रो गराउन मद्दत गर्छ । आँपमा प्राकृतिक कार्बोहाइड्रेट हुने भएकाले पाचन प्रक्रियालाई राम्रो बनाउने उहाँ बताउनुहुन्छ । 

आँपमा भिटामिन सी र मिनिरल्स हुने हुँदा मांसपेशी र हड्डी बलियो बनाउने गर्छ । यसमा प्रशस्त मात्रामा फाइबर हुने हुँदा कब्जियत, एसिडिटीको समस्याको समाधान गर्छ । डा. कोइरालाका अनुसार आँप प्रशस्त मात्रामा आइरन पाइने हुँदा शरीरमा रगत बढाउनुका साथै एनिमियाको समस्याबाट मुक्ति मिल्दछ ।   

डा. कोइरालाका अनुसार आँपमा प्रशस्त मात्रामा भिटामिन ‘ए’ हुनाले आँखाको स्वास्थ्यका लागि उपयुक्त मानिन्छ ।   

आँपमा भिटामिन ‘ई’ र ‘बी’ हुने हुँदा रोग प्रतिरोधात्मक क्षमताको वृद्धि हुनुका साथै सङ्क्रमणजन्य रोग फैलन दिँदैन । आँपले उच्च रक्तचाप सन्तुलनमा राख्न मद्दत गर्छ । तर सिजन अगावै र पछि बजारमा उपलब्ध आँप रसायन हालेर पकाइने हुँदा यस्ता आँप सकेसम्म नखान उहाँको सुझाव छ । 

यस्ता, आँपले तत्काल बान्ता हुने, झाडापखाला लाग्ने, पेट दुख्नेजस्ता समस्या निम्त्याउने उहाँ बताउनुहुन्छ । तर, लामो समयसम्म कृत्रिम तरिकाले रसायन हालेर पकाएका आँप खानाले क्यान्सर समेत हुने चिकित्सकको भनाइ छ ।  

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।