• १२ साउन २०८१, शनिबार

विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

blog

छनौटमा परेका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै वडा अध्यक्ष शाही । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, असार १० गते । जिल्लाका चार वटा गाउँपालिकाका छनौटमा परेका विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । ती विद्यार्थीहरूलाई एक वर्षका लागि पुग्ने पोसाक तथा शैक्षिक सामग्री निःशुल्क सहयोग गरिएको हो । 

खार्पुनाथ गाउँपालिका–५ को मान्धारा माध्यमिक विद्यालयको कक्षा दशमा अध्ययनरत छात्रा शान्ति परियारले एक वर्षका लागि पुग्ने विद्यालय पोसाक, जुत्ता, मोजा र स्टेस्नरी सामान आएका छन् । 

यी सामग्री सहयोगमा सहजीकरण गर्दै आउनुभएका किडार्ड हुम्लाका जिल्ला संयोजक जनक बुढाले जिल्लाका चार वटा गाउँपालिका सिमकोट, खार्पुनाथ, सर्केगार्ड र चङ्खेकीका ४६ वटा विद्यालयका दुई हजार १४० जना विद्यार्थीहरूले सहयोग गरिएको बताउनुभयो । उहाँले छनौटमा परेका विद्यार्थीले एक वर्षका लागि आवश्यक पर्ने स्टेस्नरीमा कापी, डड्पेन, पेन्सिल र सार्पनर प्रदान गरिएको छ भने विद्यालय पोसाक, जुत्ता र मोजा प्रत्येक विद्यार्थीलाई एक एक जोर प्रदान गरिएको बताउनुभयो । 

नेपाली कापीमा कक्षा तीनलाई असी पृष्ठका छ वटा, कक्षा चार र पाँचलाई असी पृष्ठकै दश थान, छ देखि आठ कक्षालाई १६० पृष्ठका चौध थान र नौ र दश कक्षालाई दुई सय पृष्ठका सोह्र थान प्रदान गरिएको छ । एसइई, कक्षा एघार र बाह्रमा अध्ययनरत विद्यार्थीहरूलाई भने वार्षिक तीन हजार रुपियाँ पढाई खर्च दिने गरिएको छ । 

शैक्षिक सामग्री पाउने कुल विद्यार्थीहरूमा ८८९ जना छात्रा छन् भने एक हजार २५१ जना छात्र छन् । यी विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गर्न वार्षिक सत्तरीदेखि ८० लाख बजेट आवश्यक पर्ने उहाँले बताउनुभयो । खार्पुनाथ गाउँपालिका–५ का वडा अध्यक्ष भरतजङ्ग शाहीले यो सहयोग विद्यार्थीहरूका लागि निक्कै उपयोगी र सहयोग भएको बताउनुभयो । धेरै विद्यार्थीलाई शैक्षिक सामग्री किन्न पनि धौधौ हुने देखिएको समयमा निःशुल्क रूपमा उपलब्ध भएकोले अभिभावकलाई समेत सहज भएको उहाँले बताउनुभयो । 

यी सामग्री गुड नेवर्स इन्टरनेस्नल नेपालले सन् २०१२ बाट वितरण गर्दै आएको छ ।