• १२ साउन २०८१, शनिबार

चिनियाँ उपविदेशमन्त्री काठमाडौँमा

blog

काठमाडौँ, असार १० गते । जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपालको तीनदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुग्नुभएको छ ।

उपविदेशमन्त्री सुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालले स्वागत गर्नुभयो । भ्रमणका क्रममा उहाँ यही असार ११ गते काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित हुनुहुनेछ । भ्रमणका क्रममा नेपाल र चीनबिचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्तासमेत गर्नुहुने कार्यक्रम छ । उपविदेशमन्त्री सुन भ्रमण सम्पन्न गरी असार १२ गते काठमाडौँबाट प्रस्थान गर्नुहुनेछ । रासस