• १५ असार २०८१, शनिबार

‘भाषा साहित्यको सर्वोच्च निकाय’

blog

काठमाडौँ, असार १० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन, अन्वेषण गर्नुका साथै मौलिक सिर्जना एवं अनुवादको काम गर्ने सर्वोच्च निकायका रूपमा नेपाल प्रज्ञा–प्रतिष्ठान रहेको बताउनुभएको छ ।

मन्त्री तामाङले नेपालमा बोलिने सबै भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र, दर्शनको संरक्षण, संवर्धन र विकासमा सरकार  सचेत र प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले नेपाल प्रज्ञा–प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवमा यस्तो धारणा व्यक्त गर्नुभएको हो । उहाँले प्रतिष्ठानले नेपालको मौखिक इतिहासको खोजी गर्ने, नेपालमा  बोलिने मातृभाषाको संरक्षण र संवर्धनमा जोड दिने, बालसाहित्यको विकास गर्ने, सात वटै प्रदेशका भौगोलिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, भाषिक, साहित्यिक विषयक खोज अन्वेषण गरी दिग्दर्शन प्रकाशित गर्ने, नेपालको परिवर्तनको सौन्दर्य, श्रमजीवी वर्गको सौन्दर्य र सिर्जनामा जोड दिने काम गरिरहेकोमा खुसी व्यक्त गर्नुभयो ।

वार्षिकोत्सवमा राष्ट्रिय कविता महोत्सव–२०८१ मा सहभागी कविमध्ये पुरस्कारका लागि १० कवि छनोट हुनुभएको छ । छनोट भएका कविमा अग्र आवाज (बर्दिया), अनिता न्यौपाने (मकवानपुर), अञ्जान प्रदीप (नवलपरासी), छविलाल कोपिला (दाङ), लिलिप बुढामगर (रोल्पा), रुमानी कुलुङ (मोरङ), रूपक ‘जमरा’ घलान (सिन्धुली), रेजिना खालिङ (सोलुखुम्बु), शर्मिला दुलाल (ललितपुर), सुमन सहयात्री योङहाङ (पाँचथर) हुनुहुन्छ ।