• १६ भदौ २०८१, आइतबार

नेपाल र सिचुवानबिच विभिन्न पक्षमा सहकार्य

blog

कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, असार ९ गते । चीनको सिचुवान प्रान्त र नेपालबिच बहुआयामिक क्षेत्रमा सहकार्य तथा समन्वय गर्न सकिने बताइएको छ । सिचुवान–नेपाल प्राविधिक सहयोग प्रवर्धन गोष्ठीमा आइतबार बोल्ने वक्ताहरूले सो धारणा व्यक्त गर्नुभएको हो ।

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले चीनको सिचुवान प्रान्त र नेपालबिच सांस्कृतिक र जनस्तरमा सम्बन्ध बनेको बताउनुभयो । चीनसँग नेपालको सन् १९५५ मा भएको दौत्य सम्बन्धपछि सम्बन्ध थप प्रगाढ हुँदैगएको बताउँदै उहाँले एक चीन नीतिमा नेपाल प्रतिबद्ध रहेको बताउनुभयो । 

नेपाली परियोजनामा चिनियाँ कम्पनीको ठुलो लगानी रहेको चर्चा गर्नुहुँदै उपाध्यक्ष घिमिरेले भन्नुभयो, “चीनले गरेको आर्थिक, सांस्कृतिक तथा प्राविधिक विकासबाट नेपालले शिक्षा लिन सक्छ र अन्य देश पनि त्यसबाट लाभान्वित भइरहेका छन् ।” चीनले गरेको प्राविधिक ज्ञान, सीपबाट नेपाल लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । पोखरा र भैरहवा विमानस्थलबाट चीनमा सिधा उडान गर्न सके चिनियाँ पर्यटक नेपाललाई ल्याई यहाँको आर्थिक विकास गर्न सकिने उहाँले चर्चा गर्नुभयो ।

नेपालका लागि चिनियाँ राजदूत छन् सुङले विज्ञान र प्रविधि चीन निर्माणको जग र राष्ट्रिय समृद्धिको आधार भएको बताउनुभयो । चीनले विज्ञान र प्रविधिमा आत्मनिर्भर र परिस्करणको प्रयासमा तीव्रता दिएको उहाँले चर्चा गर्नुभयो । अनुसन्धान र विकासमा गर्ने लगानी विश्वमा चीन दोस्रो स्थानमा रहेको बताउँदै उहाँले यसबाट नेपालसहित अन्य देश लाभान्वित हुनसक्ने उहाँले बताउनुभयो । 

चीनले १६० देश र क्षेत्रसँग वैज्ञानिक र प्राविधिक सहयोग सम्बन्ध स्थापित गरेको बताउँदै उहाँले ११० भन्दा बढी अन्तरसरकारी वैज्ञानिक र प्राविधिक सहयोग सम्झौतामा हस्ताक्षर भइसकेको जानकारी दिनुभयो । सिचुवान प्रान्त चीनको एक प्रमुख विज्ञान र प्रविधि प्रान्त भएको उहाँले चर्चा गर्नुभयो । चीनले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको पनि उहाँले बताउनुभयो । 


चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन सिचुवा प्रान्तीय समितिका उपाध्यक्ष से साङह्वाले नेपाल र चीन एक अर्कालाई विश्वास गर्ने असल मित्र भएको बताउनुभयो । नेपालसँग सिचुवान प्रान्तको सम्बन्ध उचाइमा रहेको बताउँदै उहाँले कृषि, जडीबुटी, पर्यटन तथा हाइड्रो क्षेत्रमा नेपालसँग सहकार्य गर्न सकिने बताउनुभयो । 

चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्याल विज्ञान र प्रविधिको क्षेत्रमा चीनले ठुलो सफलता प्राप्त गरेकाले त्यसबाट नेपालले लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभयो । सन् २०१७ मा नेपालले बेल्ट रोड परियोजनामा हस्ताक्षर गरेको र त्यसको कार्यान्वयन जारी रहेको बताउनुभयो । नेपाल र चीनबिचको सम्बन्ध ऐतिहासिकसँगै सांस्कृतिक पनि भएकाले दुई देशबिचको सहकार्य र सम्बन्ध विस्तारले दुवै देश लाभान्वित हुनसक्ने चर्चा गर्नुभयो ।

कार्यक्रममा सेन ग्वाङमिङ, जिङ सी गाङ, ली रे जी, ली क्वाइन, चेन क्वि झाङ, हु छिओ, सी सियाङ लगायतले बोल्नुभएको थियो । कार्यक्रममा सिचुवान र नेपालबिच हुने आगामी दिनको व्यापार, कृषि तथा जडीबुटीसम्बन्धी दुई पक्षीय सहयोगका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।