• ८ मंसिर २०८१, शनिबार

‘पहिचानको प्रश्नमा नेपाली कविता’ माथि छलफल

blog

काठमाडौँ, असार ९ गते । पहिचानवादी कविता लेख्नु भनेको कुनै समुदायको मात्रै पक्षधर हुनु होइन, विगतमा दबाइएका आवाजलाई साहित्यमार्फत पुनः उजागर गर्ने कोसिस गर्नु हो । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवका उपलक्ष्यमा शनिबार राजधानीमा आयोजित ‘पहिचानको प्रश्नमा नेपाली कविता’ विषयक कार्यक्रममा सहभागी वक्ताले सो कुरा बताउनुभएको हो । 

प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानमार्फत हाल सबै जातजाति, भाषाभाषी, क्षेत्र समुदायको साहित्यिक उन्नयनका काम गर्ने प्रयास गरिरहेको बताउनुभयो । उहाँले प्रतिष्ठानले नेपालका सबै भाषा साहित्यको विकासमा बराबरी योगदान दिन सक्नुपर्ने मान्यतालाई व्यवहारमा उतार्न ‘रैथाने ज्ञान उत्सव र राष्ट्रिय कविता महोत्सव’ मा पनि विविध भाषाभाषीको कविताको प्रतिनिधित्व गराउने अभ्यास थालेको बताउनुभयो ।

प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले साहित्य, भाषाको विकासका लागि स्थापना भएको प्रतिष्ठानले ६७ औँ वार्षिकोत्सव मनाइरहँदा सिर्जनात्मक प्रयास जारी राखेको बताउनुभयो ।

सो अवसरमा कवि गुरुङ सुशान्तले ‘पहिचानको प्रश्नमा नेपाली कविता’ विषयमा अवधारणापत्र प्रस्तुत गर्दै नेपालको सन्दर्भमा पहिचानका विभिन्न आयाम र मुद्दा भए पनि सांस्कृतिक र राजनीतिक विभेदको ऐतिहासिक आधारमा हेर्दा पहिचानको मुद्दा आदिवासी जनजातिको नै मुख्य मुद्दा हो भन्नुभयो । उक्त अवधारणापत्रमाथि साहित्यकार नेत्र एटम, कवि रजनी मिला, प्राज्ञ बाबा बस्नेतले टिप्पणी गर्नुभएको थियो ।