• १२ असोज २०८१, शनिबार

नेपालमा राजनीतिक स्थिरता होस

blog

लण्डन, जेठ ९ गते । नेपाली कांग्रेसको बेलायतस्थित जनसम्पर्क समितिले नेपालमा राजनीतिक स्थिरता नहुँदा वैदेशिक लगानी नेपालमा गर्न नसकिएको बताएको छ । जनसम्पर्क समितिका अध्यक्ष महेश दाहालले आफू नेपालमा लगानी गर्न तयार रहे पनि नेपालमा पटकपटक भइरहने नीति परिवर्तनले लगानी गर्न समस्या भएको बताउनु भयो। शनिबार लण्डनमा आयोजित कार्यक्रममा उहाँले प्रवासी नेपालीले मात्र नभई आफूहरूले विदेशी लगानीकर्ताहरूलाई पनि नेपालमा लगानी गर्न आग्रह गरेको तर, नेपालको अस्थिर राजनीतिका कारण लगानी गर्न उनीहरू डराएको उल्लेख गर्नुभयो । 

'‘प्रोजेक्टको स्वीकृति लिँदा एक, प्रोजेक्ट कार्यान्वयनमा जाँदा अर्को र उत्पादन गर्दा फरक नीति बन्ने हुँदा विदेशीहरू लगानी गर्न तयार देखिएनन्। '’ दाहालको गुनासो छ । उहाँले राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेसले नेतृत्व लिनुपर्नेमा जोड दिनुभयो।

नेपालमा अहिले नयाँ राजनीतिक दलहरूको प्रभाव परेको उल्लेख गर्दै उहाँले त्यसको प्रभाव विदेशमा बस्ने नेपालीहरूमा पनि परेको छ भन्नुभयो ।  कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिको समस्या समाधान नगरेकाले पनि अप्ठेरो स्थिति आएको चर्चा कार्यक्रममा गरियो ।

प्रेस युनियनका अध्यक्ष शिव लम्सालले जनसम्पर्क समितिका समस्यालगायतका विषयमा आफूले कांग्रेस नेतृत्वसँग कुरा गर्ने बताउनुभयो । कार्यक्रममा जनसम्पर्क समितिका अध्यक्ष दाहाल, प्रेस युनियन यूकेका अध्यक्ष विपिन निरौला, राजनीतिक विश्लेषक आरेक त्रिपाठी (राजकुमार)लगायतको उपस्थिति थियो ।