• १४ असार २०८१, शुक्रबार

व्यावसायिक केरा खेतीबाट राम्रो आम्दानी

blog

कावासोती–१० रतवलमा केरा विक्री गर्दै निर्मल भट्टराई । तस्बिर : मिना कँडेल

मिना कँडेल

कावासोती, असार ८ गते । पछिल्लो समय युवा जनशक्तिले देशमा अवसर नदेखेर विदेशिनेक्रम बढ्दो छ । आर्थिक उन्नति र पारिवारिक दायित्वको बाध्यताले वैदेशिक रोजगारीको सपना बुन्दै राहदानीका लागि दैनिक सयौँ युवा प्रशासनमा भिड लगाउँदै आएका छन् । 

केही युवा भने मेहनत गरेर स्वदेशमा स्वरोजगार बन्न सकिन्छ भन्दै कृषिमा पसिना बगाइरहेका छन् । चितवन कालिका नगर ५ का ३९ वर्षीय निर्मल भट्टराई अहिले केरा खेतमै स्याहारसुसार गर्दै दिन बिताउनुहुन्छ । 

नेपाल सरकारको जागिरबाट रिटायर्ड भएपछि उहाँ व्यावसायिक केरा खेतीमा लागेको बताउनुभयो । विगत तीन वर्षदेखि नवलपुरको कावासोती नगरपालिका –१० रतवलमा व्यावसायिक केरा खेती गर्दै आउनु भएको उहाँ सफल व्यवसायी बन्नु भएको छ । अहिले उहाँले व्यावसायिक केरा खेतीबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । 

स्थायी घर चितवन भए पनि कावासोती –१० रतवलमा बाँझो रहेको १२ बिघा जमिन भाडामा लिएर व्यावसायिक केराखेती सुरु गरेको निर्मलको भनाइ छ । छिटो आम्दानी गर्न सकिने, अनुकूल हावापानी र वातावरण, सिँचाइ, बजारको सुविधासमेत रहने भएकाले कावासोतीमा व्यावसायिक केरा खेतीतर्फ लागेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “पहिलो वर्ष प्रतिगोटा ४० रुपियाँका दरले १७ हजार आठसय ५० बिरुवा ल्याएर केराखेती गरेको हो । बिरुवाले अहिले उत्पादन दिइरहेको छ । प्रतिबिरुवामा २६५ लगानी परेको छ, सिँचाइ राम्रो भयो भने आम्दानी धेरै हुन्छ ।”

आफूसहित दुई जनालाई रोजगारी दिएको उहाँले बताउनुभयो । आवश्यकताअनुसार ज्यालामा थप कामदार राखेर खेती गर्ने सोच रहेको उहाँले बताउनुभयो । “सिँचाइ, हावाहुरी र कीरा मुख्य समस्या हो, रोग लागेन र हावाहुरी आएन भने केरा खेतीबाट राम्रै आम्दानी हुने विश्वास छ” उहाँले भन्नुभयो । 

पर्याप्त सिँचाइ नभएकाले थोपा सिँचाइबाट खेती गरेको निर्मलको भनाइ छ  । बारीमै भैरहवा, बुटवल र आसपासका व्यापारी प्रतिगोटा ७ रुपियाँका दरले काचो केरा खरिद गरिरहेको उहाँले बताउनुभयो । प्रतिफल राम्रै पाएकाले अझै विस्तार गर्ने योजनामा रहेको भट्टराईले बताउनुभयो । 

कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले नवलपुरमा करिब पाँचसय ५१ हेक्टर क्षेत्रफलमा केराखेती गरिएको बताउनुभयो । उहाँले समयमा बिउँ, मल नपाउनु, व्यावसायिक किसानका लागि आवश्यक अनुदान नहुनु, सिँचाइको समस्या, कामदार नपाउनुजस्ता समस्याले गर्दा पनि किसान केरा खेतीबाट पलाएन हुदैगएको उहाँको गुनासो छ ।

अहिले कृषि ज्ञान केन्द्र नवलपुरले व्यावसायिक केराखेती गर्ने किसानलाई प्रोत्साहन स्वरूप ५ं० प्रतिशत अनुदान दिँदै आएको छ । किसानको खेतबारीमा गएर अनुगमन गरी समस्या बारेका राय लिने गरेको प्रमुख तिवारीले बताउनुभयो ।