• १४ असार २०८१, शुक्रबार

सहकारी ठगीमा सञ्चालकदेखि नियामकसम्म

blog

फडिन्द्र अधिकारी 

लेखनाथ, असार ८ गते । पोखराबाट साढे तीन सय किलोमिटर टाढा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का वडाध्यक्ष अहिले कास्की कारागारमा हुनुहुन्छ । पोखरा–४ मा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी अभियोगमा वडाध्यक्ष कैलाशकुमार दर्लामी पुर्पक्षका लागि कारागार चलान हुनुभएको हो । उहाँ सूर्यदर्शनको उपाध्यक्ष हुनुहुन्छ । 

सूर्यदर्शन घोटालाका मुख्य योजनाकार गितेन्द्रबाबु (जिबी) राईको घर ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ को साँदीमा पर्छ । ओखलढुङ्गाका अध्यक्ष र रामेछापका बासिन्दा उपाध्यक्ष रहेको पालिकास्तरको यो सहकारीबाट कास्कीमा एक अर्ब ३५ करोड ५३ लाख अपचलन भएको छ । जिबी, उहाँका दाजु भूपेन्द्र र पूर्वअध्यक्ष थानबहादुर बुढाविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ । 

कास्कीमा चालु आर्थिक वर्षमा सात सहकारीको अनुसन्धान गरी प्रहरीले मुद्दा दर्ता गरेको छ । ती सहकारीमा चार अर्ब ५९ करोड १८ लाख २७ हजार चार सय सात रुपियाँ अपचलन भएको देखिन्छ । यी मुद्दामा १८९ प्रतिवादी रहेकामा ११६ जना फरार छन् भने २८ जना पुर्पक्षका लागि थुनामा छन् । जिल्ला र उच्च अदालतको आदेशमा २८ जना धरौटीमा रिहा भएका छन् । 

संसदीय छानबिन हुने २९ सहकारीमा कास्कीका तीन वटा छन् । कास्कीका सूर्यदर्शनसँगै इमेज र शिवशिखर सहकारीको संसदीय छानबिन हुँदै छ । सूर्यदर्शनमा एक अर्ब ३५ करोड ५३ लाख, इमेजमा तीन अर्ब र शिवशिखरमा ५४ करोड ५३ लाख ठगी भएको दाबीसहित अदालतमा मुद्दा विचाराधीन छन् ।

कास्कीकै बलिदानी सहकारीमा १० करोड ५९ लाख, मित्रमिलन सहकारीमा ३१ करोड ७८ लाख र विन्ध्यवासिनी सहकारीमा सात करोड ६९ लाख हिनामिना भएको छ । सहकारी ठगीमा सेयर सदस्य, जनप्रतिनिधि, नेता, सञ्चालकदेखि नियामक निकायसम्मको बदमासी देखिएको छ । पोखरा–२१ का वडाध्यक्ष दीपक सुवेदी, कानुन व्यवसायी जनकल्याण पराजुली र गण्डकीका पूर्वसहकारी रजिस्ट्रार उदयबहादुर पराजुली मित्रमिलन ठगी अभियोगमा धरौटीमा छुट्नुभएको छ । सोही काण्डमा युवा सङ्घका केन्द्रीय उपमहासचिव महेन्द्र गुरुङ पुर्पक्षका लागि जेलमा हुनुहुन्छ । 

प्राइम बचत तथा ऋण सहकारी ठगीमा मुछिनुभएका बद्रीनाथ अधिकारी पूर्वसहकारी रजिस्ट्रारसमेत हुनुहुन्छ । एक अर्ब ५४ करोड १५ लाख आठ हजार १४२ रुपियाँ ठगी अभियोगमा मुद्दा दर्ता भएपछि अहिले प्रदेश नीति तथा योजना आयोगका सचिवसमेत रहनुभएका अधिकारी फरार हुनुहुन्छ । 

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापा सहकारीका फरार अभियुक्त समात्न यथाशक्य प्रयत्न गरिरहेको बताउनुहुन्छ । कास्कीमा खोजी अभियान, अरू जिल्लामा पत्राचारदेखि ‘रेड कर्नर नोटिस’ सम्म जारी गरिएको उहाँको भनाइ छ । सहकारी ऐनका केही प्रावधानका कारण दोषी उम्किने मौका पाएको समेत उहाँले औँल्याउनुभयो । थापा थप्नुहुन्छ, “नियामक निकायले प्रारम्भिक छानबिन थाल्दा नै थाहा पाउँछन् र भागिहाल्छन् । सहकारी ठगीमा कुनै क्षेत्र अछुतो रहेन । व्यवसायी, नेता, वकिल, पत्रकार, लेखा परीक्षक, सेयर सदस्य, सञ्चालकदेखि नियामक निकायका कर्मचारीसम्मको संलग्नता देखिएको छ ।” 

प्राइम हिनामिनामा जेठ २७ गते जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको थियो । ६५ जनालाई प्रतिवादी बनाइएकामा ११ जना पक्राउ परेका छन् भने ५३ जना फरार छन् । तीमध्ये सात जनालाई जिल्ला अदालत कास्कीले बिहीबार पुर्पक्षका लागि थुनामा पठाएको छ । प्राइममा एक अर्ब ५७ करोड १५ लाख आठ हजार १२४ रुपियाँ बिगो मागदाबीसहित मुद्दा दर्ता भएको छ । यो गण्डकी प्रदेशकै सबैभन्दा ठुलो सहकारी ठगी हो । 

सहकारी विभाग काठमाडौँबाट प्राइमको अनुगमनमा आउँदा शाखा अधिकृत सन्देशप्रसाद जोशी र नायब सुब्बा कमल पोखरेलले १५ लाख रकम लिएको अभियोगपत्रमा छ । गण्डकीका पूर्वसहकारी रजिस्ट्रार उदयबहादुर पराजुली, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका तत्कालीन प्राचार्य बद्रीनाथ अधिकारी, सहकारी डिभिजन कार्यालयका कर्मचारी बालकृष्ण सुवेदी र राष्ट्रिय सहकारी बैङ्क पोखराका शाखा प्रमुख सन्तोष घिमिरेले पनि रकम लिएको देखिएको छ । गण्डकीका सहकारी रजिस्ट्रार भेषराज रिजाल प्रदेशका ९४३ सहकारीमध्ये २० वटामा समस्या आएको बताउनुहुन्छ । तीमध्ये नौ वटाविरुद्ध मुद्दा चलिरहेको छ । समस्या आएका सहकारी अनुगमन गर्दै सुझाव दिने गरेको उहाँको भनाइ छ । 

पोखरा महानगरको कार्यक्षेत्रमा ३६४ सहकारी छन् । महानगर सहकारी शाखाका दर्ता अधिकारी अनिल कार्की केही सहकारीमा समस्या आएपछि सबैतिर बचतकर्ता र सेयर सदस्य एकै पटक रकम झिक्न जाँदा समस्या आएको बताउनुहुन्छ । कार्कीले भन्नुभयो, “केही सहकारीले सुधार पनि गरेका छन्, दुई सहकारीबाहेक अरूमा ठुलो समस्या छैन ।”