• १४ असार २०८१, शुक्रबार

नेपाल सोसल वर्क सम्मेलन २०२४ सम्पन्न

blog

‘पहिचानको राजनीति र युवा’ शीर्षकको छलफलमा सहभागी इन्दु थारु, रिता शाह, जेवी विश्वकर्मा र सम्पादक कमलदेव भट्टराई।

काठमाडौँ, असार ७ गते। थेम्स इन्टरनेशनल कलेजले दुई दिने नेपाल सोसल वर्क सम्मेलन २०२४ आयोजना गरेको छ। 

जुन २० र २१ मा कलेजको प्रांगण पुरानो बानेश्वरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न विषयमा प्यानल छलफल, फोटो तथा कला प्रर्दशनी तथा अन्य विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो। 

कार्यक्रमको उद्घाटन गर्दै कलेजका अध्यक्ष राजेन्द्रमान शेरचनले समाजका विभिन्न विषयका बारेमा विज्ञ र सरोकारवालालाई एकै ठाउँमा ल्याएर छलफल गर्ने उदेश्यले विगत ८ वर्षदेखि कलेजले वार्षिक रुपमा सो कार्यक्रम गर्ने गरेको जानकारी दिनुभयो। 

कार्यक्रमको पहिलो दिन वरिष्ठ पत्रकार नारायण वाग्लेले पत्रकारितादेखि पर्माकल्चरसम्म शीर्षका प्लेनरी सेसनमा विशेष सम्बोधन गर्नुभएको थियो। 

उहाँले विशेषत माटो र वातावरणलाई जोगाउन आफूले पछिल्लो समय गरेको कृषि कार्यको बारेमा धारणा राख्नुभएको थियो। त्यसैगरी विद्यार्थीले नाटक मञ्चन गरेका थिए। पहिलो दिन 'ऐन झ्यालको पुतली' फिल्म प्रर्दशनको साथै त्यस विषयमा छलफल भएको थियो। 

दोस्रो दिन राजनीतिक विश्लेषक उज्वल प्रसाईले 'मसिहा खोज्ने कि सामूहिकता' शीर्षकमा प्रस्तुति गर्नुभएको थियो भने शैली चौधरीले आदिवासी पहिचानका विविध पक्षबारे छलफल गर्नुभएको थियो। 

दोस्रो दिनको अन्तिम सत्रमा 'पहिचानको राजनीति र युवा' शीर्षकमा गहन छलफल भएको थियो। सो प्यानलमा इन्दु थारु, रिता शाह, जेवी विश्वकर्मा र सम्पादक कमलदेव भट्टराई सहभागी हुनुहुन्थ्यो। 

छलफलमा नेपालमा पहिचानको आन्दोलनको विभिन्न पाटोको बारेमा छलफल भएको थियो। सो सम्मेलनमा काठमाडौंका विभिन्न कलेजका प्राध्यापक र विद्यार्थी सहभागी थिए।