• १३ असार २०८१, बिहिबार

चार महिनामा तीन वटा पाटेबाघ र एउटा चितुवा मरे

blog

बोमलाल गिरी

नवलपुर, जेठ ६ गते। नवलपुरको मध्यविन्दु नगरपालिकाको वडा नम्बर ८ मा एक प्रहरीसहित ७ जनालाई घाइते बनाएको चितुवा मृत फेला परेको छ।

बिहीबार बिहानै मध्यविन्दु ८ देवकोटा टोल बस्ने रामबहादुर खत्रीको घरमा अकस्मात् पसेको चितुवाले घरबाट बाहिर निस्कने क्रममा ६ जनालाई घाइते बनाएको थियो।

चितुवाको आक्रमणबाट मध्यविन्दु ८ का देवा ठकुरी, सुनिल जैसवाल, रुपा कुमाल, अमृत चौधरी, रोशन कुमाल, अमृत महतो घाइते भएका उनीहरूको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको नवलपुर प्रहरीले जनाएको छ। चितुवाको आक्रमणबाट स्थानीयलाई बचाउने क्रममा एक जना सशस्त्र प्रहरी समेत घाइते भएका छन्।

गाउँमा परेर जथाभाबी आक्रमण गर्ने चितुवालाई स्थानीयले घेराहाली कुटेर मारेका छन्। चितुवालाई डिभिजन वन कार्यालय कावासोती ल्याएर पोष्टमार्टम गरी गाडिएको छ। पोष्टमार्टम रिपोर्ट अनुसार चितुवा जङ्गलमै घाइते भएको थियो। पोष्टमार्टममा संलग्न भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र कावासोतीका डा. पवन श्रेष्ठका अनुसार  चितुवाको टाउकोको विभिन्न भागमा चोटपटक लागेको देखिएको छ। 

टाउकोमा लागेका केही चोट पुराना भएका र किरा पनि परेकाले चितुवा जङ्गलमै लडेर घाइते भएको, लामो समयसम्म केही खान नपाएको र घाइते तथा भोको चितुवा गाउँ पसेर मान्छेलाई आक्रमण गर्न थालेपछि स्थानीयले कुटेर मारेको देखिएको छ। 

वनको लापरबाही

स्थानीय रामबहादुर खत्रीको घरमा पसेको बेला डार्ट गरेर उक्त चितुवा नियन्त्रणमा लिन सकिने अवस्था भएको स्थानीयको भनाइ छ। तर  जिल्लामा डार्ट गर्ने टोली नहुँदा चितुवा घरबाट निस्किएर भाग्ने क्रममा स्थानीयको आक्रमणबाट मरेको डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले बताउनुभयो। 

समयमै चितवनको सौराहाबाट र्डाट गने टोली बोलाउन डिभिजन वनले समन्वय नगर्दा घटना घटेको स्थानीय प्रेम खत्रीले बताउनुभयो। “घर भित्र रहेको अवस्थामा त्यो चितुवालाई थुनेर राखेर डार्ट टोली बोलाउने तर्फ डिभिजन वनले आवश्यक समन्वय गरेन र चितुवा मर्‍यो, खत्रीले भन्नुभयो। 



चार महिनामा तीनवटा बाघ र एउटा चितुवा मरे

पछिल्लो समय पूर्वी नवलपरासीका स्थानीय वनमा बाघ तथा चितुवा विभिन्न कारणले मर्नेक्रम बढेको छ। कालगति, जुधेर तथा मानवीय जस्ता बाह्य कारण देखाइए पनि पछिल्लो ४ महिनामा दुर्लभ ३ पाटेबाघ र एउटा चितुवा मरेका छन्। 

यसअघि फागुन ६ गते मध्यविन्दु नगरपालिका वडा नं. १० अरुणखोलाको जङ्गलमा र त्यसको १० दिनपछि मध्यविन्दु १५ को नवदुर्गा सामुदायिक वनमा भाले बाघ मारेर गाडेको अवस्थामा फेला परेको थियो। त्यस्तै जेठ १० गते विनयी त्रिवेणी गाउँपालिकाको विनयी खोला बगरमा वयस्क पोथी बाघ मृत फेला परेको थियो। हरेक महिनाजसो संरक्षित बाघ र चितुवा मर्न थालेपछि यसले संरक्षणको क्षेत्रमा चिन्ता थपेको छ।