• १२ असोज २०८१, शनिबार

हावाहुरीले पर्खाल भत्किँदा एकको मृत्यु

blog

गजेन्द्र गुरुङ

खजुरा, असार ६ गते । बाँकेमा पर्खाल भत्किएर एक महिलाकाे मृत्यु भएकाे छ । गएराति आएको हावाहुरीले कोहलपुर नगरपालिका १४ हवल्दारपुरस्थित राम्रो पेपर इन्टरप्राइजेज उद्योगको पर्खाल भत्किँदा च्यापेर एक महिलाको मृत्यु भएको बाँके प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी नारायण डाँगीले जानकारी दिनुभयो ।

उक्त उद्योगको पर्खालले च्याप्दा गढीमाई उपमहानगरपालिका ८, जितपुर तेरागाउँ बारा स्थायी ठेगाना भएकी ४५ वर्षीया मीना खातुनको मृत्यु भएको हो । मृतक खातुन परिवारका अन्य सदस्यसहित सो उद्योगको पर्खालमै सटाएर बनाएको टेन्टमा बस्दै आएको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक खातुनसहित अन्य परिवारले पनि उक्त उद्योगको पर्खालको नजिकै टेन्ट टाँगेर बस्दै आएका थिए । उनीहरु घुमन्ते परिवार भएको प्रहरीले जनाएको छ। बाहिर काम पाउँदा मिस्त्री, मजदुर तथा अन्य काम गर्ने र काम नपाउँदा मागेर जीवन गुजारा चलाउँदै त्यहाँ बस्दै आएको प्रहरीले जनाएको छ ।

उक्त उद्योग हाल चालु हालतमा नरहेको र बन्द अवस्थामा रहेको प्रहरीको भनाइ छ । राति आएको ठूलो हावाहुरीले पर्खाल भत्काउँदा पर्खाल भत्केर च्याप्दा खातुनको घटनास्थलमै मृत्यु भएको र उहाँका श्रीमानलाई पनि सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राति भएको घटनाको आज बिहान मात्र प्रहरीलाई जानकारी भएको र प्रहरी घटनास्थल पुगेर शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल पठाइएको छ ।