• १४ असार २०८१, शुक्रबार

बन्द हुन लागेको विद्यालय ‘क’ वर्गमा

blog

शालिग्राम नेपाल 

चितवन, असार ६ गते । निःस्वार्थ भावना भएर काम गरे बन्द हुन लागेको संस्थालाई सबैको रोजाइमा पार्न सकिन्छ भन्ने उदाहरण भएको छ भरतपुरको हिमालयन आधारभूत विद्यालय । 

भरतपुर महानगरपालिका–११ मा रहेको हिमालयन आधारभूत विद्यालयमा विद्यार्थी भर्ना हुन आउन छाडेपछि तीन वर्षअगाडि बन्द हुने सूचीमा पुगेको थियो । भरतपुर महानगरपालिकाका शिक्षा महाशाखाका पूर्वप्रमुख महेन्द्र पौडेलका अनुसार प्रारम्भिक बालविकास केन्द्रमा भर्ना हुन आउन छाडेपछि नजिकैको विद्यालयमा गभिने सूचीमा राखिएको थियो । विद्यालयको नयाँ व्यवस्थापन समिति गठन भएपछि अध्यक्षको सक्रियतामा विद्यालयले पुनर्जीवन पाउन सफल भएको छ । विद्यार्थी सङ्ख्या घटेर जम्मा ८० जना पुगेपछि तीन वर्षअगाडि विद्यालय व्यवस्थापन समितिको अधिवेशनबाट जगन्नाथ भण्डारी अध्यक्षमा चयन हुनुभएको थियो ।

“बाक्लो बस्तीबिच पनि विद्यार्थी सङ्ख्या घट्नुको कारण पत्ता लगाएर स्थानीय अभिभावकसँग सल्लाह सुझाव सङ्कलन गरेका थियौँ,” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले भन्नुभयो । टोल, स्थानीय, शैक्षिक व्यक्ति, अभिभावकको सुझावका आधारमा घरदैलो गर्ने र कमजोरी सुधार गरेर लैजाँदा अहिले राम्रो भएको उहाँ बताउनुहुन्छ ।

“प्रारम्भिक बालविकास केन्द्रमा भर्ना हुन नआएपछि हामीले दरबन्दी काटेका थियौँ, अहिले विद्यार्थी बढेपछि दरबन्दी थपिएको छ,” पौडेलले भन्नुभयो । कक्षा ८ सम्म अध्ययन हुने यस विद्यालयमा अहिले २७९ विद्यार्थी अध्ययन गर्दै छन् । परीक्षाको परिणाम सन्तोषजनक नहुने, शिक्षकको निष्व्रिmयता, व्यवस्थापन समितिले समय नदिनेलगायतका कारण २०७६ मा १५० भर्ना भएकामा ८० जना मात्र पढ्न आएका थिए । पढ्न आएका विद्यार्थी पनि बसाइँसराइको कारणले गर्दा घर फर्कन थालेपछि विद्यालय बन्द हुने अवस्थामा पुगेको थियो । 

२०७८ साउनबाट नयाँ व्यवस्थापन समिति आएपछि विद्यालयको अवस्थालाई अध्ययन गरेर योजनाबद्ध रूपमा काम गरिएको विद्यालयका प्रधानाध्यापक डिल्लीरमण तिवारी बताउनुहुन्छ । योजना अनुसार नै घरदैलो कार्यक्रम, अभिभावकको सुझाव अनुसार सुधार गर्दै लगेपछि अहिले विद्यार्थीको सङ्ख्या वृद्धि भएको छ । प्रारम्भिक बालविकास केन्द्रमा २०७९ मा ४४ जना, २०८० मा ५६ जना र २०८१ मा ५९ जना भर्ना भएका छन् । विद्यार्थी सङ्ख्या वृद्धि भएपछि महानगरबाट दुई वटा दरबन्दी थपिएको छ भने बजेट पनि परेको छ । 

“विद्यालयको आधार भनेकै नयाँ भर्ना सङ्ख्या हो,” सहायक प्रधानाध्यापक सीता ढकालले भन्नुभयो, “विद्यालय आउने बालबालिकालाई गेटबाट नमस्कार गरेर स्वागत गर्छौं, इसिडीका बालबालिकालाई दिनमा तीन पटक खुवाउँछौँ, हामी आफैँले सरसफाइ गर्छौं, पढ्ने वातावरण राम्रो मिलाएका छौँ ।” यस वर्ष मात्रै निजी विद्यालय छाडेर १० जना नयाँ विद्यार्थी आफूहरूकोमा आएको सहायक प्रधानाध्यापक ढकाल बताउनुहुन्छ ।  

यो विद्यालय अहिले साना बालबालिका मात्रै होइन, कक्षा ८ को परीक्षामा पनि राम्रो नतिजा ल्याएर महानगरकै उत्कृष्ट हुन सफल भएको छ । प्रधानाध्यापक तिवारीका अनुसार यस वर्षको कक्षा ८ को परीक्षामा २१ जना विद्यार्थी सहभागी भएकोमा एक जनाले ‘ए’ प्लस ल्याउन सफल भएको र २० जना उत्तीर्ण भएका थिए ।