• १२ असार २०८१, बुधबार

पहिरोले ८१ घरपरिवार विस्थापित

blog

पहिरोले क्षति गरेको सिरिजङ्घा गाउँपालिका-६ मामाङ्खेस्थित एक स्थानीयको घर ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार ४ गते । ताप्लेजुङमा बाढी पहिरोले ८१ घरपरिवार विस्थापित भएका छन् । प्रहरीले दिएको विवरण अनुसार पानी पर्न थालेको डेढ साताको अवधिमा विभिन्न समयमा गएको पहिरोले घरपरिवारहरू विस्थापित भएका हुन् ।

जेठ २७ गते आइतबारदेखि वर्षा हुन थालेको र हालसम्म बाढीपहिरोले मानवीयसहित ठुलो धनसम्पत्तीको क्षति गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार बाढीपहिरोका कारण हालसम्म आठ घर पूर्णरुपमा क्षति भएका छन् ।

जिल्लाका विभिन्न क्षेत्रमा गरी १८ घर उच्च जोखिम र ५५ घर जोखिममा रहेको विवरण सङ्कलन भएको प्रहरी नायव उपरीक्षक रावलले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च जोखिम, जोखिम र घर पूर्णरुपमा भएकासमेत ८१ परिवारले बाढीपहिरोका कारण विस्थापित हुनुपरेको छ । विस्थापित परिवारका १६३ जना महिला र १७९ पुरुष गरी ३४२ जनाले सुरक्षित ठाउँमा कोही आफन्तको शरण तथा कोहीले विद्यालयमा बस्दै आएका बताइएको छ ।

यस्तै, बाढीपहिरोले गरेको अन्य क्षतितर्फ गाडी गुड्ने (मोटरेवल) काठे पुल दुई वटा, झोलुङ्गे पुल एक र मानिस हिँड्ने सिमेन्ट ढलान भएको पुल एउटा बगाएको छ । क्रसर उद्योग एक, सवारी साधन चार, पशुपालन फर्म एक र नौवटा गोठमा बाढीपहिरोले क्षति गरेको प्रहरीले जनाएको छ । त्यस्तै नौ वटा नगदेबाली अलैँची खेती भएको जमिनमा पहिरोले क्षति गरेको छ ।

यसैगरी हालसम्म बाढी पहिरोले बगाएर र पुरिएर ८४ वटा चौपाया मरेका छन् । पहिरोमै परेर ३१ वटा पशुपन्छी मरेका छन् । हालसम्म पहिरोमा परेर तीनजना महिला र दुई पुरुष गरी पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बाढी पहिरोका कारण एक महिला र एक पुरुष गरी दुईजना घाइते भएका छन् । 

निरन्तर वर्षाका कारण बाढी र पहिरो जाँदा जिल्लाका अधिकांश सडकमा क्षति पुगेको छ भने केही सडकहरू पूर्णरुपमा अवरुद्ध भएको पनि प्रहरीले जनाएको छ ।