म्याग्दी, असार ३ गते । मुस्ताङको लोमान्थाङमा पस्मिनाको कच्चापदार्थका रूपमा प्रयोग हुने च्याङ्ग्राको भुवा प्रशोधन केन्द्र स्थापना भएको छ । नेपाल पस्मिना उद्योग सङ्घले लोमान्थाङमा सञ्चालन गरेको भुवा सङ्कलन केन्द्रमा प्रशोधन गर्ने उपकरण जडान गरेको हो ।
सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले पस्मिनाको गुणस्तर सुधार गर्न भुवाको धुलो र फोहर झार्ने (डिडस्टिङ) औजार जडान गरिएको बताउनुभयो । “किसानले सङ्कलन केन्द्रमा ल्याउने भुवालाई तत्कालै प्रशोधन गरेर काठमाडौँका उद्योगमा पठाउने व्यवस्था मिलाएका हौँ,” उहाँले भन्नुभयो, “काठमाडौँ लगेर भुवा प्रशोधन गर्दा तौल घट्ने र झन्झटिलो थियो । अबदेखि किसानले आफै भुवा प्रशोधन गरेर केन्द्रमा बेच्न सक्छन् ।”
भुवा प्रशोधन गर्ने उपकरणको उद्घाटन आइतबार नेपालका लागि बेलायती राजदूत रव फेनले गर्नुभएको हो । नेपाली च्याङ्ग्राको भुवाबाट उत्पादन हुने पस्मिनालाई फार्मदेखि फेसनसम्मको मूल्य शृङ्खलामा ब्राण्डिङ गर्न प्रशोधन केन्द्रको उपकरणले सहयोग पुग्ने राजदूत फेनले बताउनुभयो । नेपाली पस्मिनालाई बेलायतको बजारमा प्रवर्द्धनका लागि सघाउने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
च्याङ्ग्राको भूवा पस्मिनाका लागि (क) श्रेणीको कच्चापदार्थ हो । भेडा र चौँरीको तुलनामा च्याङ्ग्राको भूवा गुणस्तरीय मानिन्छ । प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन हुने पस्मिनाको माग विश्व बजारमै बढ्दो छ । राम्रो गुणस्तरको पस्मिनाका लागि आकर्षक मूल्य तिर्न खरिदकर्ता तयार भएकाले च्याङ्ग्रापालक किसानले भुवाबाट राम्रो आम्दानी गर्न सक्ने लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले बताउनुभयो ।
नेपाल पस्मिना उद्योग सङ्घका अनुसार नेपालबाट वार्षिक तीन अर्बको पस्मिना निर्यात हुन्छ । वार्षिक एक सय ९५ टन पस्मिना बनाउन आवश्यक भूवाको धागो आयात गरिन्छ । विदेशबाट कच्चापदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका किसानबाट पछिल्लो दुई वर्षयता च्याङ्ग्राको भूवा खरिद गर्न थालिएको पस्मिना उद्योगी भीम शेरचनले जानकारी दिनुभयो । सङ्घले मुस्ताङबाट वार्षिक दुई मेट्रिक टन भूवा सङ्कलन गरेर लैजाने गरेको छ । बजारको सुनिश्चितता नभएकाले मुस्ताङका किसानले यसअघि च्याङ्ग्राको भुवा बेच्ने गरेका थिएनन् । भुवा निकाले पनि बिक्रीका लागि बजार नपाइने समस्या थियो ।
नेपाल फाइबर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भूवा सङ्कलन र काठमाडौँमा प्रशोधन केन्द्र स्थापना गरेको छ । वैशाख-जेठ-असार महिना च्याङ्ग्राको शरीरबाट भूवा निकाल्ने याम हो । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका किसानले व्यावसायिक च्याङ्ग्रापालन गरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार जिल्लामा ५२ हजार च्याङ्ग्रा पालिएको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पस्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद् अन्तर्गत नेपाल पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र, नेपाल पस्मिना सङ्घ र च्याङ्ग्रा पस्मिना किसान सङ्घको समन्वयमा गुणस्तर परीक्षण गरी मुस्ताङ्गी च्याङ्ग्राको भूवा उपयुक्त भएको पुष्टि गरेको थियो ।
नेपाल पस्मिना उद्योग सङ्घका अध्यक्ष लामिछानेका अनुसार मङ्गोलियामा रहेको अन्तर्राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणबाट मुस्ताङ्गी च्याङ्ग्राको भूवाको गुणस्तर पस्मिनाको कच्चापदार्थको रूपमा प्रयोग गर्न उपयुक्त रहेको प्रतिवेदन सार्वजनिक भइसकेको छ । परीक्षणपछि नेपालमा च्याङ्ग्राको भूवा पाइने सन्देश अन्तर्राष्ट्रियस्तरमा प्रवाह भएको, च्याङ्ग्रापालन विस्तार र पस्मिना उद्योगको सम्भावना बढेको लोमान्थाङका किसान छिरिङ वाङदी गुरुङले बताउनुभयो । रासस