• १२ असार २०८१, बुधबार

विद्युत प्रसारण तथा व्यापार आयोजनामा अनियमितता भएको आरोप

blog

देवरामप्रसाद यादव

सप्तरी, असार ३ गते । हेटौँडा-ढल्केवर-इनरुवा नेपाल-भारत विद्युत प्रसारण तथा व्यापार आयोजनामा अनियमितता भएको आयोजना पीडितहरूले आरोप लगाएका छन् । आर्थिक चलखेलका कारण पीडितले पाउने क्षतिपूर्तिमा पनि भेदभाव हुने गरेको पीडितहरूले आरोप लगाएका हुन् ।

वडा कार्यालयदेखि–डिभिजन कार्यालय इनरुवा सुनसरीसम्मको मिलेमतोमा सेटिङ्ग मिलाएर अनियमितता हुने गरेको पीडितहरू बताउँछन् । पहुँचवाला, बोल्न सक्ने तथा घुस दिन तयार हुनेको मूल्याङ्कन बढाएर छिटो भुक्तानी दिने र बोल्न नसक्ने निमुखाहरूको घरजग्गाको मूल्याङ्कन घटाएर क्षतिपूर्ति दिन समेत आलटाल गरेको पीडितहरूको गुनासो छ।

आर्थिक चलखेल गरेर एकै ठाउँका समान प्रकृतिको जग्गाको मूल्याङ्कन फरक गर्ने तथा भुक्तानीमा पनि छिटो–ढिलो गरी भेदभाव हुने गरेको पीडितहरूको भनाइ छ । रुपनी गाउँपालिका वडा नम्बर ६ का खेलानन्द चौधरीले आफ्नो बाटो भएको जग्गाको क्षतिपूर्ति नपाएको तथा सोही जग्गाको सीमासँग जोडिएको जग्गाको भुक्तानी जग्गाधनीले पाइसकेको बताउनुहुन्छ । उहाँले समान प्रकृतिको जग्गा भएपनि घडेरी योग्य (आवासीय) भनी सीमासँगै जोडिएको जग्गाको १७ लाख पचास हजार मूल्याङ्कन गरिएको बताउनुहुँदै जग्गाको  खेतीयोग्यमा राखी ८ लाख १२ हजार मात्र मूल्याङ्कन गरी भेदभाव गरेको आरोप लगाउनुभयो । 

आयोजना डिभिजन प्रमुख तथा छिचोलियासँग आफ्नो पहुँच नहुँदा आफू खुसी जग्गाको मूल्याङ्कन घटाएको उहाँको आरोप छ । उहाँले जग्गाको क्षतिपूर्ति तथा मूल्याङ्कन घटाएको बारे नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजना डिभिजन कार्यालय इनरुवा सुनसरीका प्रमुख लालबाबु प्रसादसँग बुझ्नजाँदा रुखो व्यवहार गरेको दुखेसो सुनाउनुभयो ।

एउटै ठाउँमा यस्तो कसरी भएको विषयमा कार्यालय प्रमुख लालबाबुसँग बुझ्दा समायोजन फारम भर्न लगाएको तथा उहाँले मेरो मोबाइल नम्बर समेत ब्ल्याकलिस्ट गर्दा फोन सम्पर्क नभएपछि जेठ २८ गते कार्यालय प्रमुखलाई भेट्न जाँदा यो नै हो झगडा गर्ने मान्छे भन्दै भेट्न समेत नमानेको बताउनुभयो ।

कार्यालय प्रमुख आफैँ उपस्थित भएर असार १ गते राती १० बजे बाँस काट्न आएको बताउँदै उहाँले यस आयोजनामा कतिसम्म चलखेल तथा घोटला गरेको छ भन्ने कुरो यसैबाट पुष्टि भएको आरोप लगाउनुभयो । कुनै आर्थिक चलखेल नभएको भए दिउँसो प्रशासनको सहयोग लिएर बाँस काटेर हटाउने थियो भन्दै उहाँले घुसको पोल खुल्ने डरकै कारण डकैती शैलीमा राती बाँस काट्न आएको बताउनुभयो ।

कार्यालय प्रमुख लालबाबु प्रसाद र सहायक अर्जुन यादवकै मिलेमतोमा अनियमितता हुने गरेको रुपनी ६ कै एक पीडितले बताउनुहुन्छ । उहाँका अनुसार सेटिङ मिलेकोमा रुखको सङ्ख्या बढाएर बढी क्षतिपूर्ति तथा घर जग्गाको मूल्याङ्कन बढाएर छिटो भुक्तानी दिने गरेको बताउनुभयो  ।

फर्जी कागजपत्र मिलाएर ३० लाखसम्म भुक्तानी पाउनेसँग ३ लाख, ५० लाख पाउनेसँग पाँच लाख तथा १ करोडभन्दा बढी क्षतिपूर्ति पाउनेसँग २० लाखसम्म बिचौलिया मार्फत कमिसन लिने गरेको पीडित रुपनी ६ का खेलानन्द चौधरीको आरोप छन् ।

वडा कार्यालयबाट एकै किसिमको जग्गा मूल्याङ्कन गरी पठाएपनि समान प्रकृतिको जग्गामा मूल्याङ्कन बढाएर कसैलाई बढी भुक्तानी गरेको तथा कसैलाई तेब्बर मूल्याङ्कन घटाएर कम भुक्तानी दिनुकोसाथै आफ्नो भने हाल्सम्म भुक्तानी अड्काएर काखपाखा गर्ने गरेको पीडितहरूको दुखेसो रहेको छ । एउटै ग्राइभेलबाटोले भेटाएको छिमेकीको ३० लाख प्रतिकट्ठाको दरले मूल्याङ्कन गरी रकम खातामा पठाएको बताउँदै अग्नीसाईर कृष्णासवरन २ का एक पीडितले एकैपटक कागजपत्र पेस गर्दा समेत आफ्नो भने क्षतिपूर्ति बापतको रकम नपाएको गुनासो गर्नुभयो । उहाँले कार्यालयलाई मिलाउन सक्नेहरूको छिटो तथा आर्थिक लेनदेनको आधारमा पाउँदै– नपाउने रकम समेत भुक्तानी पाउने गरेको बताउनुहुन्छ ।

नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजना डिभिजन कार्यालय इनरुवा सुनसरीका प्रमुख लालबाबु प्रसादले आफूहरूमाथि लगाएको आरोप निराधार रहेको बताउँदै क्षतिपूर्तिमा कसैसँग भेदभाव नगरेको बताउनुभयो । उहाँले वडा कार्यालयको सिफारिस र मालपोत तथा नापी शाखाले उठाएको मुचुल्काको आधारमा जग्गाको मूल्याङ्कन गरी भुक्तानी दिने गरेको तथा एउटै सिमानाको जग्गामा कसैको कागत पत्र अपुग हुन जाँदा भुक्तानीमा ढिलो भएको बताउनुभयो ।

नेपाल सरकार, प्राधिकरणको संयुक्त लगानीमा (विश्व बैकको ऋण सहयोग)मा नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजनामा सञ्चालित निर्माणाधीन हेटौँडा-ढल्केर-इनरुवा ४ सय केभी प्रसारण कार्यमा क्षतिपूर्तिको नाममा व्यापक घोटाला हुने गरेकोले छानबिन गरी संलग्न व्यक्तिहरूमाथि कारबाही हुनुपर्ने आयोजना पीडितहरूले माग गरेका छन् ।