• १२ असार २०८१, बुधबार

किसानलाई चैते धान थन्क्याउन भ्याइनभ्याई

blog

गुणबहादुर रोका
सुलीकोट, असार ३ गते ।
 गोरखामा किसानलाई चैते धान थन्क्याउन भ्याईनभ्याई छ । गोरखा जिल्लामा हरेक वर्ष आठ सय २५ हेक्टरभन्दा बढी जमिनमा चैते धान खेती गर्ने गरिएकाले किसानहरू यो समयमा बेँसी फाँटमा चैते धान काट्न र थन्क्याउन व्यस्तता भएका कृषि ज्ञान केन्द्रका गोरखाका प्रमुख मिरा चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गोरखाका धेरै भूभागमा दरौंदी नदी, मर्स्याङ्दी नदी, चेपे नदी र बुढीगण्डकी नदीको छेउछाउमा खेतीयोग्य भूमि भएकाले जति बेला पनि पानी पर्याप्त हुने भएकाले चैते धान लगाउने किसानको सङ्ख्या बढेको उहाँले बताउनुभयो  ।

अहिले गोरखाका चैते धान हुने स्थानहरू छेपेटारको दरौंदी फाँट, भुसुन्ने फाँट, आरुघाट, पालुङटार, ज्यादुर खोला, घ्याम्पेसाल र सिरानचोकको फाँटमा गरी लगभग ३१३४ मेट्रिकटन धान उत्पादन हुने गरेकोमा अहिले त्यो सङ्ख्या बढ्ने कृषि ज्ञानकेन्द्र गोरखाले जनाएको छ ।

‘‘गत वर्षमा चैते धानमा विभिन्न किसिमका रोग लाग्ने गरेको गुनासो गर्दै कृषि ज्ञानकेन्द्र कार्यालयमा आउनुहुन्थ्यो,’’ कृषिविज्ञ भट्टराईले भन्नुभयो, “अहिले भने चैते धानमा कुनै पनि रोग किरा नलाएको, सिँचाइ सुविधा भएकाले पनि चैते धान ३१ सय मेट्रिक टनबाट ३६ सय मेट्रिक टनसम्म बढ्ने विश्वास लिएका छौँ ।”

कृषि ज्ञानकेन्द्र गोरखाले किसानहरूलाई सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माण गरी कृषि ज्ञानकेन्द्रले सहयोग गर्दै आएको छ । अहिले जिल्लामा किसानहरूले कृषि ज्ञानकेन्द्रको रायसल्लाह अनुसार कञ्चन, चैते – ५ र हर्जिनाथ – १ जातको चैते धान रोप्ने गरिएको कृषि ज्ञानकेन्द्र कार्यालय गोरखले जनाएको छ ।

गोरखामा चैते धान आम्दानीको मुख्य स्रोत भएको पाइएको छ । अहिले गोरखामा मकैभन्दा धान बढी उत्पादन हुने र दुई बाली धान लगाउँदा एक बाली बिक्री गरेर राम्रो आम्दानी गर्न सकिने हुँदा किसानहरू यस चैते धान खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।