• १२ असार २०८१, बुधबार

घरेलु श्रमलाई मर्यादित बनाउन माग

blog

काठमाडौँ, असार ३ गते । घरेलु श्रमलाई मर्यादित बनाउन घरेलु श्रमसम्बन्धी कार्यविधि बनाउन माग गरेका छन् ।  

घरेलु श्रमिक मञ्च र स्वतन्त्रता अभियान नेपालको सहकार्यमा ‘अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवस’ को सन्दर्भमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले घरेलु श्रमसम्बन्धी छुट्टै कार्यविधिको माग गर्नुभएको हो ।  

संयुक्त राष्ट्र सङ्घले सन् २०११ जुलाई १६ मा घरेलु श्रमिकसम्बन्धी महासन्धि (आइएलओ १८९) पारित गरेर विश्वभरका घरेलु श्रमिकको हक अधिकारको सवाललाई पनि मान्यता दिएको अवसरमा हरेक वर्ष अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवस मनाउँदै आएको हो । 

सोही सन्दर्भमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा, महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार शाहले देशभित्रै सम्मानपूर्वक ढङ्गले काम गर्ने वातावरणका लागि घरेलु श्रमसम्बन्धी कार्यविधि, नीति बनाउन समितिका तर्फबाट पूर्ण समर्थन हुने बताउनुभयो ।

सांसद आशा विकले सङ्घ सङ्गठन, कार्यालयमा काम गर्दा जातीय भेदभाव नभए पनि घर घरमा काम गर्दा अझै पनि जातीय भेदभाव रहेको घरेलु श्रमिकको गुनासो रहेकाले हरेक मानवले श्रम गरेर खान पाउनुपर्ने रोजगारीको हक र मानव अधिकारको समेत रक्षाका लागि पनि आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरलीप्रसाद खरेलले सम्मानपूर्वक श्रम गरेर खान पाउने हकको कार्यान्वयन भए स्वदेशमै रोजगारीको वृद्धि हुने र श्रम गरेर खाने हकको पनि रक्षा हुने बताउनुभयो । समावेशी आयोगका सदस्य जोशीले घरेलु श्रमलाई मर्यादित बनाउन श्रम ऐन २०७४ को पूर्ण कार्यान्वयनको पहल हुनुपर्नेमा जोड दिनुभयो ।  

घरेलु श्रमिक मञ्चका उपाध्यक्ष लक्ष्मी केसीले भन्नुभयो, “घरेलु श्रमको क्षेत्रमा विगतमा धेरै नै विभेद गर्ने, घरबेटीको परिवारले नखाने बासी भात खानुपर्ने, कुटपिट गर्ने, समयमा पैसा नदिने र पैसा तथा सुन चोरेको समेत आरोप लगाउँथे तर पछिल्लो समय मञ्चमा आबद्ध भएपछि इमानदारीपूर्वक काम गरेर खानु त हाम्रो हक नै रहेछ भन्ने जान्यौँ र घरेलु श्रमिकले न्यूनतम ज्याला र बिदा नपाउने समस्या समाधान हुनु पर्छ ।”

पौरखी नेपालका संस्थापक मञ्जु गुरुङले घरेलु श्रम गर्न जाँदा नेपालीलाई हिंसा भयो भनेर नेपालले घरेलु श्रमिकका रूपमा विदेश जान रोकेकाले चोर बाटोबाट जाँदा झनै जोखिममा परिरहेको बताउँदै राज्यले सो महासन्धीको अनुमोदन गर्दै सोही अनुसारको कानुन बनाएर राज्यले स्वदेश तथा विदेशमा घरेलु श्रमिकका रूपमा काम गर्न चाहनेलाई तालिमसहित दक्ष बनाएर सम्मानित ढङ्गले काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । 

घरेलु श्रमिक मञ्चका सचिव गोमा भण्डारीले अमर्यादित, असुक्षित र शोषणयुक्त घरेलु श्रमको वर्तमान अवस्थालाई औपचारिक नीतिगत खाकाभित्र समेटी सुरक्षित, मर्यादित र सम्मानित श्रमका रूपमा स्थापित गर्न नेपाली घरेलु श्रमिक सङ्गठित हुन थालेको बताउनुभयो ।

उहाँले यस क्षेत्रमा निरक्षर दिदीबहिनी बढी रहेकाले सङ्गठित हुन नजान्ने, पञ्जीकरणमा पनि बेवास्ता गरिएका कारण घरेलु श्रमिकको तथ्याङ्कसमेत नभएको बताउनुभयो । 

एक्टिभ डोमेस्टिक वर्कर सर्भिसका संस्थापक प्रशान्त डङ्गोलले विगत १४ वर्षदेखि यस संस्थाले घरेलु श्रमिकलाई आवश्यक तालिम दिँदै श्रमिक र रोजगारदाताबिचको पुलको काम गरिरहेको बताउनुभयो । 

उहाँले घरेलु श्रमिकलाई तलब, बिदाको सुविधालगायतको सर्तसहित रोजगारदाताकोमा पठाउँदा हिंसामा पर्ने सम्भावना कम भएको बताउँदै अझै पनि घरेलु श्रमिकको हक र श्रमको सम्मान नगर्ने नेपालीका लागि नीति नै बनाउन आवश्यक रहेको बताउनुभयो ।