• १२ असार २०८१, बुधबार

पालुङटारमा उत्पादन भएका दुना टपरी अजिरकोटले खरिद गर्ने

blog

गुणबहादुर रोका 

सुलीकोट, असार २ गते। गोरखाको पालुङटार नगरपालिका र अजिरकोट गाउँपालिकाबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ। आइतबार पालुङटार नगरपालिका नगर प्रमुख विवश चिन्तन र अजिकरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाबिच पालुङटारमा उत्पादन भएको दुना टपरी अजिरकोटले खरिद गर्ने सहमति भएर समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

दुई पालिकामा उत्पादित भएका स्थानीय उत्पादित सामग्रीहरू बजारीकरण गरी स्थानीय उत्पादनलाई बढुवा दिन सहयोग गर्ने सहमति भएको पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिनुभयो।

सहमतिसँगै दुवै पालिकामा प्लाष्टिकका सामान पालुङटार नगरपालिका भित्र र अजिरकोट गाउँपालिकामा उपयोग र बेचबिखन गर्न नपाउने सहमति भएपछि अजिरकोट र पालुङटारमा विवाह, पार्टी, भोजभतेर, पास्नी र महोत्सवमा दुना टपरी प्रयोग हुने भएको अध्यक्ष देवकोटाले बताउनुभयो ।

पालुङटारमा उत्पादन भएका दुना टपरी अजिरकोटले खरिद गर्ने साथै अजिरकोट उत्पादन भएका ढाकाका सामानहरू पालुङटारले खरिद गर्ने समझदारी बनेको बताइएको छ।यस सहमतिले नगरपालिका र गाउँपालिकाका व्यापार व्यवसायीलाई फाइदा हुने भएको छ।

जसमा सस्तो मूल्यमा स्थानीय रूपमा उत्पादन भएको दुना टपरी प्रयोग गर्नाले  समयको साथै पानी, साबुनमा समेत खर्च कम हुने अजिरकोट गाउँपालिकाका अध्यक्ष देवकोटाको भनाइ छ।