• ११ असार २०८१, मङ्गलबार

घट्यो हेटौँडा उपमहानगरको बजेट : दुई अर्ब ४३ करोड विनियोजन

blog

हेटौँडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँ उपमहानगरको १५ औँ नगरसभामा आगामी आवको बजेट प्रस्तुत गर्दै। तस्बिरः राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, असार २ गते। हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट चालु आवको भन्दा घटेर आएको छ।

हेटौँडा उपमहानगरपालिकाले आगामी आवको नीति तथा कार्यक्रम कार्यक्रम कार्यान्वयनका लागि दुई अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपियाँ बराबरको बजेट विनियोजन गरेको छ।

हेटौँडा उपमहानगरपालिकाको आइतबार यहाँ बसेको १५ औँ नगर सभामा नगर उपप्रमुख राजेश बानियाँले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षको रूपमा घोषणा गर्दै आगामी आवको बजेट प्रस्तुत गर्नुभएको हो।

आगामी आवको बजेट चालु आवको भन्दा १६.०७ प्रतिशत अर्थात् ४६ करोड ७२ लाख २९ हजार रुपियाँले कम रहेको छ।

कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभावसँगै सङ्घ र प्रदेशबाट प्राप्त हुने अनुदानमा घट्दो क्रमले बजेटको आकार चालु आवको भन्दा आगामी आवमा घटेको नगर उपप्रमुख बानियाँले बताउनुभयो।

आगामी आवको अनुमानित बजेटको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ५३ करोड २७ लाख ९५ हजार ७७०, राजस्व बाँडफाँडबाट ६१ करोड ६५ लाख ८६ हजार ७३०, प्रदेश सरकारको अनुदानबाट ११ करोड १७ लाख ३९ हजार र सङ्घीय सरकारबाट एक अर्ब १६ करोड ५३ लाख रुपियाँ रहेको छ।

उहाँले आगामी आवमा पूर्वाधार विकासतर्फ सडक, ऊर्जा, जलस्रोत, पर्यटन, भवन तथा आवास सिँचाइलगायतका क्षेत्रका लागि ८८ करोड ८६ लाख ९९ हजार, आर्थिक विकास क्षेत्रका चालु र पुँजीगत योजनाका लागि सात करोड ५६ लाख १० हजार र सामाजिक विकासअन्तर्गत शिक्षातर्फ ९३ करोड १९ लाख ८२ हजार रुपियाँ विनियोजन गरेको बताउनुभयो। 

नगर उपप्रमुख बानियाँले आगामी आवको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनले नगरवासीको आधारभूत आवश्यकता परिपूर्ति गरी जीवनस्तरमा गुणात्मक सुधार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो।

यसअघि नगरसभाले नगरप्रमुख मिनाकुमारी लामाले प्रस्तुत गर्नुभएको आगामी आवको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको थियो।