• ९ असार २०८१, आइतबार

धिमालले मनाए दुईमहिने पर्व

blog

दमक समाचारदाता

दमक, असार २ गते । झापासहित पूर्वी नेपालमा बसोबास गर्दै आएका आदिवासी धिमाल जातिले दुई महिनासम्म मनाउने जातिरी तथा सिरिजात पर्व समापन हुँदै छ । धिमाल समुदायले आफ्नो बसोबास रहेको हरेक गाउँटोलमा पुगेर वर्षको एक पटक सामूहिक रूपमा सिरिजात पूजा गर्ने गर्दछन् । वैशाख २ देखि सुरु भएको यो पर्व आइतबार समापन हुँदै छ  । प्रत्येक दिन भिन्नाभिन्नै ठाउँमा पूजाआजा र मेला लाग्दै आएको थियो ।

धिमाल जातिले गाउँपूजालाई पुर्खाहरू जङ्गलको वातावरणमा बस्दा भोग्नु परेको चुनौतीबाट बच्न सुरु गरेको परम्परा मान्ने गरेका छन् । परिवारको स्वास्थ्य र खेतीपाती राम्रो होस्, बाढीपहिरो नआओस्, गाईवस्तुलाई रोग नलागोस् र महामारी नलागोस् भनेर गाउँपूजा गरिने गरेको धिमाल अगुवाहरू बताउँछन् ।

सामाजिक अगुवा जितु धिमालका अनुसार गाउँपूजा गर्दा गाउँका देउताहरू, भूतप्रेत र अन्य शक्ति साथसाथै वनजङ्गल, खोलानाला, चरा, मुसा, लामखुट्टेलगायतको पनि पूजा गरिन्छ । सिरिजात पूजामा ग्रामथानबाहिर जङ्गली जनावर र जीवहरूका लागि एउटा सानो थान बनाइन्छ, जसमा चामल, धूप, सुपारी, केरा र अन्य खाने कुरा चराचुरुङ्गी, मुसा जस्ता जङ्गली जीवजन्तुलाई चढाइने गरेको छ । खेती सुरु गर्नुअघि जीवजन्तुलाई ‘आज तिमीहरूलाई म यो यो खान दिन्छु, पछि हाम्रो अन्न पाकेपछि नष्ट नगरिदेऊ, नखाइदेऊ’ भनेर खुसी बनाउन यस प्रकारको पूजा र पर्व मनाइएको किंवदन्ती पाइन्छ ।