• ४ असार २०८१, मङ्गलबार

सामूहिक कृषि खेतीले फेरिएको उर्लेनी गाउँ

blog

उर्लेनी गाउँका कृषकले सामूहिक गरेको तरकारी खेती । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई
खोटाङ, असार १ गते ।
 परम्परागत मकै, कोदो, धान लगायतका खेती गरिरहेका उर्लेनी गाउँका स्थानीयहरूको करिब ६ वर्ष अगाडि सोच बदलियो । अहिले उनीहरूको जीवन स्तर र दैनिकी बदलिएको छ । 

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा उर्लेनी गाउँमा अहिले करिब ६० वटा टनेलमा तरकारी खेती भइरहेको छ । गाउँका २६ घर परिवारले गरेको यो सामूहिक खेती आम्दानीको स्रोत मात्रै बनेको छैन, अरूका लागि प्रेरणा पनि बनिरहेको छ । सुरुमा विदेशबाट फर्किएका १२ जनाले सामूहिक कृषि खेती गर्ने सल्लाह गरे । त्यसपछि गाउँका अन्य १४ घर परिवार पनि जोडिएपछि उर्वरा कृषक समूह दर्ता गरेर २६ परिवारले अहिले सामूहिक खेती गरिरहेका छन् ।

यस समूहका अध्यक्ष छत्रमान राई, चामकुमार राई, रमेश राई, अविराज थुलुङ, सुनिल राई, अञ्चल राई, केदार राई, मनकुमार राई, दीपक राई, मदन राई, किशोर राई, रोतन राई र मेजर राई विदेशबाट फर्किएर सामूहिक खेतीमा लागेका हुन् । उर्वरा कृषक समूहको मुख्य बाली टमाटर हो । टमाटरसँगै बन्दा, काउली, मुला, प्याज, अकबरे खोसार्नी, तिते करेला, काँक्रा, जुखुने फर्सीलगायतका बाली उनीहरूले लगाउने गरेका छन् । उत्पादन भएको कृषि उपज बजारसम्म लान समूहले ६ लाखमा एउटा अटो खरिद गरेका छन् । सोही अटोबाट बुइपादेखि दिक्तेल बजारसम्म कृषि उपज लगरे उर्वरा समूहले बिक्री गर्ने गरेको समूहका अध्यक्ष छत्रमान राई बताउनुहुन्छ ।

सिजनको बेला हरेक दिन कृषि उपज बजार पुग्ने गरेको छ । अन्य समय बेमौसमी उपजहरू हप्ताको शुक्रबार बुइपा साप्ताहिक हाटमा लगेर बिक्री गर्ने गरेको अध्यक्ष राईको भनाइ छ । बुइपा बजारमा उर्वरा कृषक समूहको कृषि उपज बिक्री वितरणका लागि नगरपालिकाले छुट्टै संरचना निर्माण गरिदिएको छ । बजारमा निर्माण भएको संरचनामा अन्यलाई शुल्क लाग्ने भए पनि उर्वरा समूहलाई निःशुल्क संरचना उपलब्ध गराइएको बुइपाका वडाध्यक्ष दिनेश राई बताउनुहुन्छ ।

कृषि ज्ञानकेन्द्र खोटाङले उर्वरा कृषक समूहलाई आर्थिक वर्ष २०७७/०७८  मा २५ लाख र आर्थिक वर्ष २०७८/०७९ मा १२ लाख गरी हालसम्म ३७ लाख अनुदान रकम प्रदान गरेको छ । सरकारबाट अनुदान लगेर कृषि खेती गर्नेहरूको सूचिमा उर्वरा समूह एक नम्बरमा आउने ज्ञान केन्द्रका सूचना अधिकारी सञ्जय कुमार पण्डित बताउनहुन्छ ।


उर्वरा कृषक समूहले गाउँ भरीको करिब ६ सय रोपनी जग्गामा चार ठाउँमा छुट्टाछुट्टै क्लस्टर निर्माण गरेर खेती गरेका छन् । करिब ८० वटा टनेल र टनेल बाहिर पनि तरकारी खेती गरिरहेका कृषक समूहलाई केही समय अघि आएको हावाहुरीले क्षति गरेको छ । केही टनेलहरू उडाउनुका साथै च्यातिदिएपछि अहिले समूहसँग ६० वटा टनेल बाँकी रहेको हो । उक्त टनेल भित्र अहिले काँक्रा, टमाटर फलिरहेका छन् । अन्य तरकारीको बिरुवा हुर्किँदै गरेको अध्यक्ष राई बताउनहुन्छ ।

२६ घरलाई चारदेखि पाँच समूहमा विभाजन गरेर काम गर्ने गरिएको छ । हरेक घरबाट एक जनाको उपस्थितिमा कुनै समूहले खनजोत गर्ने, कुनै समूहले मल बोक्ने, कुनै समूहले बिउ बिरुवा उत्पादन गर्ने लगायतको काम बाँडफाँट गरिएको छ । कुनै समूहले उत्पादन भएको उपज बजारसम्म लगेर बिक्री गर्ने गर्छ । उपज बिक्री भएर जम्मा भएको रकम हरेक शनिबार समूहको बैठकले हिसाब गरेर कोषमा जम्मा गर्ने गरेको छ । समूहका सदस्यहरूले हरके महिना १ सय २५ रुपियाँ रकमसमेत कोषमा जम्मा गर्ने गरेका छन् । उक्त रकम अनिवार्य तरकारी बिक्रीबाट आम्दानी गरेको हुनुपर्ने नीति राखिएको छ ।

समूहभन्दा फरक सबैले आ–आफ्नो घुरेनमा छुट्टाछुट्टै पनि तरकारी खेती गर्ने गरेका छन् । त्यसको बजारीकरण पनि समूहले नै गर्ने गरेको छ । समूह र व्यक्तिगत गरेर हरेक परिवारले वर्षको चार/पाँच लाख कमाउने गरेको समूहका सदस्यहरू बत्ताउँछन् । जसले गर्दा घर परिवार चलाउन अहिले उर्लेनी गाउँका नागरिकलाई कुनै समस्या छैन । युवाहरू पनि वैदेशिक रोजगारीमा जान छाडेर गाउँमै आधुनिक खेती गर्न जागरूक भएका छन् ।

खेतीमा लाग्ने रोग र त्यसको उपचार पनि समूहका सदस्यहरू आफैँ गर्न जान्ने भएका छन् । अन्य समयमा साप्ताहिक र भदौ, असोज तथा माघ फागुनमा तरकारी खेतीको सिजनमा उर्वरा कृषक समूहले प्रत्येक दिन करिब १० हजार बराबरको तरकारी बिक्री गर्ने गरेको छ । बुइपा बजारसँगै, सदरमुकाम दिक्तेल र त्रि–धार्मिकस्थल हलेसी बजारमा पनि उर्वरा कृषक समूहको तरकारी पुग्ने गरेको छ ।

समूहले कमाएको आम्दानी सबै सदस्यलाई बराबर बाढेर समूहको कोष रित्तो बनाउनेभन्दा पनि आवश्यकताको आधारमा आम्दानी बाढ्ने र अन्य रकम कोषमा जम्मा गर्ने गरेका छन् । समूहको आम्दानीबाट तीन वर्ष अगाडि नौ लाखमा मोरङ जिल्लामा १० धुर जग्गा खरिद गरेका छन् । अहिले जग्गाको भाउ बढेर करिब २० लाख पुगेको समूहका पूर्व अध्यक्ष सुमन राई बताउनुहुन्छ । अहिले समूहसँग एउटा अटो, २० लाख बराबरको जग्गा र कोषमा करिब दुई लाख नगद रकम छ । कृषि उपज बजार लान नपरेको समयमा अटोलाई मानिस बोक्न पनि प्रयोग गरिएको छ । जसबाट पनि समूहलाई आम्दानी भइरहेको छ । 

हाल उर्वरा कृषक समूहले कृषि उपज सङ्कलन गर्न एउटा भवन पनि निर्माण गरेको छ । भवन निर्माणमा वडा कार्यालय र समृद्धि परियोजनाले सहयोग गरेको हो । आगामी दिनमा तरकारी खेतीलाई थप गर्दै जाने समूहको योजना छ । तरकारीमा च्याउ खेती र मौरी पालन पनि सुरु गर्ने योजना रहेको अध्यक्ष छत्रमानले सुनाउनुभयो ।