• ४ असार २०८१, मङ्गलबार

पाल्पा अस्पतालमा छैन रेबिजविरुद्धको खोप

blog

बिन्दु थापा 

पाल्पा, असार १ गते । सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको रेबिज विरुद्धको खोप पाल्पा अस्पतालमै छैन । खोप नहुँदा कुकुरले टोकेर जाने आर्थिक स्तर कम भएका बिरामीहरूले सास्ती खेप्नुपरेको छ । 

जिल्ला अस्पतालमा रेबिज विरुद्धको खोप नभएपछि अन्यत्र लैजानुपर्ने बाध्यता बिरामीलाई छ । जसको कारण निःशुल्क पाइने सुईलाई हजारौँ रकम तिर्न बाध्य छन् । तानसेन नगरपालिका ११ बडरबोटकी समीक्षा भाटलाई एक हप्ता अगाडि कुकुरले टोकेर युनाइटेड मिसन अस्पतालमा लैजानुपर्‍यो । कुकुरले टोकेको घाउ नै भएपछि भर्ना गर्नुपर्‍यो जसको अस्पताल खर्च मात्रै २८ हजार ८ सय ४४ रुपियाँ ४१ पैसा लाग्यो । समीक्षाकी आमा अस्मिता भाटका अनुसार अस्पताल बाहिर खाना बसाइ गर्दा करिब पन्ध्र हजार खर्च भएको छ । अस्मिता भाटले भन्नुभयो ‘ कुकुरले टोकेपछि रेबिजविरुद्धको खोप लगाउन जिल्ला अस्पतालमा गएको रहेनछ । अस्पतालमा खोप नपाएपछि उपचार नगरीकनै फर्किनु भएन भनेर मिसन अस्पताल आएको यति धेरै खर्च भयो हामीजस्ता आर्थिक स्तर कम हुनेका लागि सरकारी अस्पताल कहिले काम लागेन  ।’ 

सरकारले निःशुल्क भनेको रेबिजविरुद्धको खोप सरकारी अस्पतालमा नै उपलब्ध गराउन नसक्दा महँगो मूल्यमा किनेर लगाउनुपरेको छ । रेबिज विरुद्धको खोप लगाउन आउनेको सङ्ख्या बढ्दै गए पनि जिल्ला अस्पतालमा खोप नभएपछि बिरामीहरु फर्किन बाध्य छन् पहिला सय वटा भाइल पाइन्थ्यो पछि २० वटा भाइल मात्रै पाइने गरेको पाल्पा जिल्ला अस्पतालका सूचना अधिकारी प्रमिला पाठकले बताउनुभयो । 

जथाभाबी रूपमा छोडिएका कुकुर, स्याललगायतका जनावरले टोकेका बिरामी रेबिजविरुद्धको खोप लगाउन आउने गरेका भए पनि खोप अभाव भएपछि उपचार नगरी फर्किन बाध्य हुनुपरेको सूचना अधिकारी पाठकले बताउनुभयो । रेबिजविरुद्धको खोप हप्तैपिच्छे लिनु जानुपर्ने समस्या अस्पताललाई छ पाठकले भन्नुभयो, खोप नआएपछि बिरामीलाई अन्य अस्पताल जानु भन्नुपर्ने बाध्यता छ । दिनहुँ बिरामी आइरहेका हुन्छन् । तर, हामीसँग तत्काल उपलब्ध हुन सक्ने अवस्था छैन देशव्यापी रूपमा नै अभाव भएको कारण यस्तो भएको हो आजै प्रशासनसँग कुरा गरेर अस्पतालमा खोप लगाउने व्यवस्था सुचारु गर्नेमा पहल गर्नेछु ।’