• ४ असार २०८१, मङ्गलबार

बागमतीको बजेट आज ल्याइँदै

blog

राममणि दाहाल

हेटौँडा, असार १ गते । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट आज आउने भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रदेश सभाको बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्नु हुने छ । 

प्रदेश सभाका सचिव कृष्णहरि खड्काले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने गरी शनिवार दिउँसो ४ बजेका लागि समय तोकिएको जानकारी दिनुभयो । सरकारले चालु आवकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । चालु आवको बजेट ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपियाँ रहेको छ । 

आर्थिक मामिला तथा योजना मन्त्रालयले सङ्घीय सरकारबाट आउने अनुदानमा कटौतीसँगै प्रदेशको राजस्व सङ्कलनमा आएको कमीका कारण प्रदेशका मन्त्रालयहरूलाई चालु आवको भन्दा सिलिङ घटाएर योजना र कार्यक्रम ल्याउन पत्राचार गरेको थियो । 

तर मन्त्रीहरूले बजेट अपुग भएको बताउँदै दबाब दिएपछि स्रोत सुनिश्चित नहुँदा पनि चालु आर्थिक वर्षको हाराहारीमा बजेट ल्याउने तयारी गरेको जनाइएको छ ।

प्रदेश सरकारले कृषि, स्वास्थ्य, पूर्वाधार निर्माण, रोजगारी सिर्जना, पर्यटनलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । विनियोजन विधेयक प्रदेश सभामा प्रस्तुत भएपछि आर्थिक विधेयक पेस गरी छलफल अगाडि बढाइने छ ।