• ४ असार २०८१, मङ्गलबार

पानी छैन डडेलधुरा सदरमुकाममा

blog

अमरगढी समाचारदाता

डडेलधुरा, असार १ गते  । गर्मी बढ्दै छ, डडेलधुरा जिल्ला सदरमुकाम क्षेत्रमा खानेपानीको समस्या पनि बढ्दै गएको छ । विगत तीन महिना खानेपानीको चरम अभाव हुन थालेको छ । अमरगढी नगरपालिका–५, खलङ्गा, बागबजार, तुफानडाँडा, कीर्र्तिपुर क्षेत्रमा दैनिक जसो खानेपानीको अभाव चुलिन थालेको छ । यी क्षेत्रमा खलङ्गा खानेपानी तथा उपभोक्ता सरसफाइ समितिले हाल तीन दिनमा एक पटक मात्र पानी वितरण गर्ने गरेको छ । सो समिति नयाँ पानीको मूल थप्न जुटेको छ तर देखिने गरी काम हुन सकेको छैन । 

यस वर्ष हिउँदमा खडेरी पर्दा त्यतिबेलैदेखि पानीको अभाव देखिन थालेको थियो । गत चैत महिनायता त तीन दिनमा आउने पानी सबै घरका धारामा चुहिँदैन । अग्लो स्थानमा भएका घरका धारामा पानी आउन छाडेको छ । डडेलधुरास्थित अस्पताल, होटल व्यवसायी र जिल्ला प्रहरी कार्यालयलगायतका सरकारी कार्यालयले ट्याङ्करबाट पानीको जोहो गर्दै आइरहेका छन् । जिल्ला सदरमुकामभन्दा १०–१२ किलोमिटर दुरीमा रहेका असुर्पा खोला, पोखरा खोला, रडुवा खोलाबाट ट्याङ्करले पानी आपूर्ति हुन थालेको छ । ती खोलामा समेत पर्याप्त पानी नहुँदा एक ट्याङ्करको पानी पनि भनेको बेला नपाउने स्थिति सिर्जना भएको होटल व्यवसायीले बताएका छन् । 

डडेलधुरा अस्पतालले एक जनालाई जिम्मेवारी दिएर बिहान बेलुकी ट्याङ्करबाट पानी व्यवस्थापन गरिरहेको छ । अस्पतालका मेसु डा. सन्तोष गुप्ताका अनुसार एक पटक ट्याङ्करमा चार हजार लिटरभन्दा बढी पानी आउँछ । एक ट्याङ्करको चार हजार रुपियाँ नै तिर्नु परेको छ । यस्तै अस्पतालमा १० हजारभन्दा बढी क्षमता भएका दुई वटा पानी ट्याङ्की छन् । व्यावसायिक रूपमा पानीको आपूर्ति गर्ने ट्याङ्कर नभए पनि निर्माण व्यवसायीका ट्याङ्करले अहिले पानीको जोहो गरिरहेको खलङ्गा खानेपानी उपभोक्ता समितिका अध्यक्ष जोगराज ऐरले बताउनुभयो । ट्याक्टरमा जडान गरिएका ट्याङ्करमा करिब चार हजार लिटर मात्र पानी अटाउँछ । उहाँले भन्नुभयो, “एक ट्याङ्करको चार हजार रुपियाँका दरले पानी आपूर्ति भइरहेको छ । यसो हुँदा प्रतिलिटर पानी एक रुपियाँ पर्न गएको छ ।” 

सदरमुकाम क्षेत्रमा पहिलो पटक २०३४ सालमा महाभारत पर्वतको लेकबाट खानेपानी ल्याइएको थियो । १५ किलोमिटर बढीको दुरीमा रहेको अमरगढी नगरपालिका–३ को अनार्वे मुहानबाट पानी ल्याइएको हो । यसपछि २०५४ सालमा महाभारतकै अमरगढी–२, मातरे र लामसिम मुहानबाट थप पानी ल्याइएको थियो । यसपछि २०७६ मा तेस्रो साना सहरी आयोजना अन्तर्गत ३१ करोड ५५ लाख छ हजार रुपियाँ लागतमा एक घर, एक धाराको मिटर जडान गरिएको थियो । हाल त्यहाँ पनि पानी अभाव भएको छ । पानीको मुहान थप गरेर योजना निर्माण गर्न यस वर्ष खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको दुई करोड रकम थियो । डेढ करोड रुपियाँका पाइप खरिद गरिएको र २० लाख रुपियाँको अनार्वे माथिल्लो मुहानमा ट्याङ्की निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।